राष्ट्रपति कार्यालयका अनुसार यादवले एमाओवादी-मधेसी मोर्चालगायतको गठबन्धनलाई अपराह्न ४ बजे र कांग्रेस-एमाले गठबन्धनलाई साँझ ६ बजे शीतलनिवासमा डाकेका छन्। अन्तरिम संविधान र संविधानसभा नियमावलीले सहमतिकै आधारमा संविधान निर्माण प्रक्रिया तय गरेकाले बहुमतको बलमा पेलेर जान नहुने सन्देश राष्ट्रपतिले दिदैछन्।
माघ ८ को मुखमा आइपुग्दा पनि संविधान लेखनका मूल विवादमा दलहरुबीच सहमति नभएको अवस्थामा परामर्शका लागि यादवले 'सत्तासीन' र 'प्रतिपक्षी' बेग्लाबेग्लै बोलाएका छन्।
एमाओवादी-मधेसीलाई शितल निवासमा बिहान ९ बजे बोलाइएको तर सविधानसभा अध्यक्ष सुवास नेम्वाङसहित शीर्षनेताको बैठक परेकाले अरान्ह सारिएको हो।राष्ट्रपतिले संविधानका विषयवस्तु र प्रक्रियाबारे एकआपसमा विभाजित हुँदै संवादसमेत बन्द गरेका दुवै पक्षलाई बोलाएर सहमतिका लागि आग्रह गर्न लागेका हुन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार राष्ट्रपतिले संविधान निर्माण विधि, प्रक्रिया अवलम्बन गरेरमात्र अघि बढ्न दलहरूलाई आग्रह गर्नेछन्। 'संविधान बनाएर मात्र हुँदैन, राम्ररी बनाएको पनि देखिनुपर्यो', भन्ने राष्ट्रपतिको धारणाबारे दाहालले भने, 'बहुमतको पेलाइको बलमा संविधान निर्माण गर्दा राम्ररी बनाएको देखिँदैन।'
Post a Comment