काठमाण्डु, २२ असोज– व्यवस्थापिका–संसदमा आजदेखि बहुमतीय प्रक्रियाअनुसार प्रधानमन्त्री चयन प्रक्रिया सुरु हुँदैछ ।
राष्ट्रपति रावमरण यादवले सहमतीय सरकार गठनका लागि दिएको समय बिहीबार सकिएकाले आजबाट बहुमतीय प्रक्रिया सुरु हुन लागेको हो ।
अपराह्न १ बजे बस्ने संसद बैठकमा सभामुख सुवास नेम्वाङले बहुमतीय आधारमा प्रधानमन्त्री चयन गर्ने सम्बन्धी राष्ट्रपति कार्यालयको पत्र बाचन गरेर सुनाएपछि औपचारिक रुपमा बहुमतीय प्रक्रिया सुरु हुनेछ ।
संविधानको धारा २२९ मा रुपान्तरित संसदको पहिलो बैठक बसेको एक साताभित्र सहमतीय सरकार गठन हुन नसके संसदले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्ने व्यवस्था छ ।
आफ्ना अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका अघि सारेका एमालले त्यसका लागि लविङ तीव्र पारेको छ ।
यस्तै विगतमा ओलीलाई प्रधानमन्त्री बनाउन भएको भनिएको भद्र सहमतिविपरीत सत्तारुढ नेपाली काँग्रेसले सरकारको नेतृत्वमा आफैंले दाबी गर्ने संकेत देखिएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकमा बोल्नेमध्ये अधिकांश केन्द्रीय सदस्यले एमालेलाई समर्थन गर्नुको साटो सरकारको नेतृत्व लिन पार्टी अग्रसर हुनुपर्ने बताएका थिए ।
काँग्रेसमा सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्रीका आकांक्षा देखाएका छन् । ५९८ सदस्य बहाल रहेको संसदमा बहुमतीय प्रधानमन्त्री बन्न २९९ मत आवश्यक पर्छ ।
Post a Comment