जसले अब युद्ध लड्ने छैनन् -

 गंगा बीसी, काठमाडौं कार्तिक १५, २०७२- ‘युद्ध र शान्तिपूर्ण राजनीतिमा के फरक पाउनु भयो?’ केही महिनाअघि सोधिएको प्रश्नमा माओवादी छापामारका पूर्वकमान्डर नन्दबहादुर पुनले भनेका थिए, ‘शान्तिपूर्ण राजनीतिको मोर्चा युद्धको भन्दा विल्कुल फरक हुँदोरहेछ। यसमा घोषितभन्दा अघोषित युद्ध धेरै लड्नुपर्ने रहेछ।’ शनिबार उनी आलंकारिक प्रकृतिको उपराष्ट्रपतिमा चयन भएका छन्। अब उनलाई ‘युद्ध लड्नु पर्ने
छैन।’ ‘यो पदमा रहँदासम्म म सक्रिय राजनीतिमा आउन मिल्दैन,’ निर्वाचित भएपछि उनले भने, ‘मेरो जिम्मेवारी नयाँ संविधान कार्यान्वयनका लागि सघाउनु हुनेछ।’ १० वर्ष ‘जनयुद्ध’को फौजी नेतृत्व गरेका पुन शान्तिपूर्ण राजनीतिमा आएपछि खासै चर्चामा आएनन्। २०७० असारमा लडाकुलाई नेपाली सेनामा समायोजन गरिएपछि उनी झनै ओझेलमा परे। एमाओवादीले पनि खास जिम्मेवारी दिएन। गत निर्वाचनमा काठमाडौं–४ बाट उम्मेदवार बनायो, पराजित भए। त्यसपछि पुनको दिनचर्या जीविकोपार्जनका लागि बंगुर, माछा पालन गर्नमै बित्यो। युद्ध जितेपछि विद्रोहीहरू सत्तारोहण भएका विश्वमा धेरै उदाहरण भए पनि नेपालमा भने सहमति र सम्झौताबाटै विद्रोही नेताहरू मन्त्री, प्रधानमन्त्री र सभामुखसम्म भए। अहिले राज्यको दोस्रो उच्च पद ‘उपराष्ट्रपति’ पाउने पहिलो विद्रोही नेता पुन बनेका छन्। मधेसीपछि मगर समुदायबाट मुलुकको दोस्रो पदमा पुग्ने पहिलो व्यक्ति बनेका छन् उनी। दस वर्ष छापामार जीवन बिताएका पुन ‘पासाङ’ उपनामबाट बढी परिचित छन्। दसैंको मुखमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भइसकेपछि एमाओवादी सरकारमा जाने निश्चित भयो। मन्त्रीको नाम छनोट हुँदैथ्यो, एकाबिहानै पार्टी अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाट निवास पुगेर पुनले भने, ‘मलाई यसपटक गृह मन्त्रालय चाहिन्छ।’ कहिल्यै पद नमाग्ने उनले मुख खोलेरै मन्त्री पद मागेपछि दाहाल अक्क न बक्क परे। उनले ‘हुन्छ’ भन्न पनि सकेनन्, ‘हुन्न’ पनि भनेनन्। सांसद नभएकालाई मन्त्री बनाउन संवैधानिक जटिलता थियो। उपयुक्त जिम्मेवारी नदिए पुन चरम असन्तुष्ट हुने सम्भावना पनि थियो। त्यसकारण एमाओवादी स्थायी समिति बैठकले उनलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गर्‍यो। त्यो ‘मोर्चा’मा उनी शनिबार सहजै विजयी भएका छन्। ‘राष्ट्र र जनताको हितमा काम गर्नु मेरो कर्तव्य हुनेछ,’ उनले कान्तिपुरसँग भने, ‘विगतमा मैले जहाँ, जे–जस्तो भूमिका खेलें, त्यो राष्ट्र र जनताका लागि गरेको थिएँ। अहिले भूमिका फेरिए पनि मेरो उद्देश्य त्यही हुनेछ।’ वैशाखको भूकम्पले डेराघर चर्किए पनि त्यहीं छाप्रोमा बस्दै आएका उनी अब भने लाजिम्पाटस्थित सरकारी निवास सर्नेछन्। सरकारी सुरक्षाकर्मीको घेरामा हुनेछन्। मगर खाम भाषाको प्रभाव पुनको बोलीमा व्यक्त हुन्छ। उनी प्राय: तौलेर बोल्छन्। स्वभाव अन्तरमुखी छ। उपराष्ट्रपति भएपछि यो बानीले राम्रै गर्नेछ। किनभने उनको जिम्मेवारीले मूलत: आलंकारिक भूमिका खोज्नेछ। कतिपय अवस्थामा उनी जिद्दी देखिन्छन्। २०६९ सालमा उनका दुवै मृगौला काम नलाग्ने अवस्थामा पुगेको थियो। त्यसबेला सरकार र पार्टीले विदेशमा उपचारको व्यवस्था मिलाए पनि उनी गएनन्। ‘मलाई नेपाली डाक्टरको भर छ, म यहीं निको हुनेछु,’ त्यसबेला उनले भनेका थिए। उनले भनेजस्तै स्वास्थ्यमा सुधार आयो। २०२२ सालमा रोल्पाको राङसीमा जन्मिएका उनले रोल्पाकै थबाङबाट एसएलसी गरेपछि करिब १० वर्ष स्कुलमा पढाएका थिए। सँगै वामपन्थी राजनीतिमा सक्रिय थिए। २०४८ सालताका तत्कालीन सरकारले उनीमाथि थुप्रै मुद्दा लगाएको थियो। ‘त्यसबेलै मेरो टाउकाको मूल्य ३५ हजार तोकिएको थियो,’ उनले सम्झे। २०५१ मा रोल्पाको राङसी मेलामा प्रहरीले हानेको गोली छलेर उनी भागेका थिए। माओवादीले २०५२ सालमा ‘जनयुद्ध’ थालेपछि पुनलाई सैन्य तालिम लिन भारतको नक्सलवादी क्षेत्रमा पठाएको थियो। त्यसपछि उनको भूमिका छापामार टोलीमै केन्द्रित भयो। हाल पार्टी स्थायी समिति सदस्य रहेका पुन सशस्त्र युद्धका बेला जिल्ला सदरमुकामसहित १७ ठूला कारबाही गर्दा कमान्डर थिए। उनले ती मोर्चामा लड्दाको संस्मरणमा ‘इतिहासका रक्तिम पाइला’ पुस्तक लेखेका छन्। राजनीतिमा नलागेको भए के गर्नुहुन्थ्यो होला? ‘सायद शिक्षक नै भइरहन्थें,’ पुनले मुस्काउँदै भने।ekantipur.
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget