अहिले मधेसी मोर्चा र भारत सरकारबीच बिचित्र र असाधारण खालको तालमेल देखियो । मधेसी मोर्चाले नाकाबन्दीको आन्दोलन गर्ने र भारतले त्यसलाई सघाउने काम गर्नु, भारतीय भूमिबाट नेपालबिरुद्ध ढुंगामुढा र जुलुस गरिनु सामान्य कुरा हुँदै होइन । यो सबै नेपालको हितबिरोधी कार्य हो ।
संविधान निर्माणमा पनि भारतले खुलेआम दबाब र हस्तक्षेपको काम गर्यो । भारतीय प्रधानमन्त्रीको विशेष दूत बनेर आएका विदेशसचिव एस जयशंकरले हामीलाई निकै कडा धम्की दिए । उनले कूटनीतिक मर्यादाको सीमा नाघे । प्रकाश (नारायणकाजी) जी, बाबुराम र म थियौँ । उनी लाजिम्पाट भेट्न आएका थिए । हामी दुई जना पूर्व प्रधानमन्त्रीसँग कुरा गर्दा मर्यादा र शिष्टाचारसमेत भुलेर धम्कीको भाषा बोले । आफूहरूले आश्रय नदिएको भए, १२ बुँदे समझदारीमा सहयोगी नबनेको भए माओवादीको हालत के हुने थियो भन्दै अहिले आफूले भनेको नमान्ने भनी थर्काए ।
मैले हामी कसैको दास होइनौँ, आफ्नो निर्णय गर्न आफैँ स्वतन्त्र छौँ भनेर जवाफ फर्काएँ । त्यसपछि उनले संविधान निर्माण प्रक्रिया रोक्नुस भने तर मैले प्रक्रिया अघि बढी सक्यो, तपाईं ढिलो आउनु भयो, समय ठीक भएन भनेँ । त्यसपछि फेरि उनले तपाईंहरूलाई अब अप्ठ्यारो पर्छ भन्दै धम्की दिन थाले । विश्वले समर्थन गरेपनि भारतले समर्थन नगरेसम्म मान्यता पाउँदैन, हामी स्वीकार गर्दैनौँ भन्न थाले उनले त्यहाँ बोलको भाषा सबै यहाँ भन्न मिल्ने खालका छैनन्, त्यसै–त्यसै इरिट्रेट गराउने खालका ।
उनी जसरी हामी पनि हामी पनि आवेसमा आएको भए हात हालाहाल नै हुने अवस्था थियो । हाम्रा पाहुना हुन्, लाजिम्पाटमा आफैँ आएका रहेछन् भनेर धेरै संयमित भयौँ । राष्ट्र संकटमा परेको, हाम्रा बिरुद्ध आक्रमण भइरहेको बेला बाबुरामजीले पार्टी छोड्नु पनि अस्वभाविक र आकस्मिक छ । भारतले पख तिमीलाई ठीक पार्छु भन्दै थर्काएको बेला पार्टी छाड्नुले हाम्रा लागि चुनौती थपिएको छ । प्रचण्डले पार्टी केन्द्रीय कमिटीको बैठकमा बोलेका कुरा आजको जनआस्थामा छ ।
Post a Comment