१२ कात्तिक २०७२
काठमाडौं : सेल्फी लिनु नौलो कुरा होइन तर कसैले राष्ट्रप्रमुखसँग सेल्फी खिचे भने? त्यो पनि शपथ समारोहमै? आज शितलनिवासमा राष्ट्रपतिको शपथग्रहण कार्यक्रममा आएका एक अतिथिले राष्ट्रपति विद्या भण्डारीसँग सेल्फी लिन भ्याए।
राष्ट्रपति विद्या भण्डारीले पद तथा गोपनीयताको शपथ लिइसकेपछि परिचयात्मक कार्यक्रम भयो। कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, सरकारका उच्चपदस्थ कर्मचारी, विभिन्न कुटनीतिक नियोगका प्रतिनिधि, राजनीतिक दलका नेता, सांसदहरु लगायत सयौँ सर्वसाधारणको भीडभाड थियो।
उनीहरु राष्ट्रपतिलाई भेट्न लाइनमा बसेका थिए। राष्ट्रपतिसँगै प्रधानमन्त्री केपी शर्मा ओली पनि थिए। प्रधानमन्त्रीको बायाँतर्फ सभामुख ओनसरी घर्ती थिइन्। लाइनमा बसेकाहरु आफ्नो पालो आएपछि राष्ट्रपतिलाई अभिवादन गर्थे, बधाइ दिन्थे, कोही खादा, फूल वा माला लगाइदिन्थे।  
कुटनीतिज्ञहरु राष्ट्रपतिलाई भेट्न पालो पर्खिरहेका थिए। यस्तैमा लाइनमा रहेका एक व्यक्तिको ध्यान राष्ट्रपतिलाई भेट्न/कुरा गर्न भन्दा पनि आफैले बोकेको मोबाइलमा थियो।
भारतीय राजदूत रणजीत रायपछाडि तीनजना कुटनीतिज्ञले राष्ट्रपतिलाई भेट्छन्। त्यसपछिको क्रममा रहेका यी व्यक्तिको ध्यान राष्ट्रपतिमा होइन, आफ्नो मोबाइलमा छ। भिडियोमा उनले सुरुदेखि नै हातमा मोबाइल बोकिरहेको देखिन्छ। उनी मोबाइलबाट फोटो (वा भिडियो) खिच्नमै तल्लीन छन्। उनले प्रधानमन्त्री ओलीको पनि फोटो खिचेका छन्। pahilopost
Post a Comment