यी हुन् पानीजहाजका नेपाली क्याप्टेन

जीवनमा एकपटक आफ्नै आँखाले समुद्र हेर्न पाइयोस्, छुन
पाइयोस्’ धेरै नेपालीको इच्छा यस्तै हुन सक्छ।
यस्तै इच्छा थियो, देवदह रुपन्देहीका ३१ वर्षीय
कैलाश पाण्डेको पनि। सात
वर्षअघि अध्ययनका लागि अस्ट्रेलिया पुगेपछि पहिलो पटक
उनले समुद्र देखे। धीत मरुञ्जेल हेरिरहे। समुद्रको पानीले
आफूलाई भिजाए र तस्वीर खिचाए। यो त उनले
नेपालमै गरेको कल्पना थियो।
तर, समुद्रले नछोएको मुलुकको नागरिक
पानीजहाजको क्याटेन बन्छु भनेर चाहिं उनले
कल्पनासम्म गर्न भ्याएका थिएनन्। तर, कल्पना नगरेकै
भयो, कैलाश तीन वर्षदेखि क्याप्टेन कुक क्रुज्स
कम्पनीको पानीजहाजका क्याप्टेन छन्।
समुद्र नदेखेको भए उनलाई पानीजहाजको क्याप्टेन
बन्ने सपना पनि पलाउने थिएन।
सिड्नीमा व्यवस्थापनमा स्नातकोत्तर
गरिरहेका उनी त्यहींको रेस्टुरेन्टमा काम गर्थे।
एकदिन साथीहरुसँग सिड्नी हार्वर घुम्ने
क्रममा कैलाशले त्यहाँबाट सानाठूला थुप्रै
पानीजहाज छुटिरहेको देखे। नजीकैबाट नियाले।
त्यही पनीजहाजभित्र रेस्टुरेन्ट, बार, जीमखाना,
स्वीमिङपुल देखेर उनी चकित परे। अनायासै
उनमा ‘यस्तो ठाउँमा काम गर्न पाए त’ भन्ने सोच
पलायो।
त्यस दिनदेखि उनी पानीजहाजमा कसरी काम
पाउन सकिन्छ भनेर खोजी गर्न थाले।
केही समयपछि त्यही कम्पनीमा स्टिवार्ड
पदका लागि आवश्यकता खुल्यो। आवेदन दिए, नाम
निस्कियो। खुशीको सीमा रहेन।
यो उनको सपनाको पहिलो पाइला मात्र थियो।
यात्रुहरुलाई सहयोग गर्ने यो पदमा काम गरेपछि उनले
मरिन विभागका लागि काम गर्ने तालीम लिए।
जहाँ उनले यात्रुको सुरक्षाका लागि काम
गर्नुपर्थ्याे। कामप्रतिको लगावले उनलाई क्याप्टेन
कुक एक्सप्लोरर कम्पनीको फर्स्ट अफिसर
पदमा पुर्यायो तालीम दिएर।


जहाँ उनले क्याप्टेनले भनेको रुटमा जहाज चलाउने काम
पाए। डेढ वर्ष काम गरेपछि कम्पनीले उनलाई
क्याप्टेनका लागि आवश्यक तालीमको अवसर दियो।
बल्ल उनी लाइसेन्सप्राप्त क्याप्टेन बने।
“कम्पनीले क्याप्टेनमा त्यसै विश्वास गर्दैन,
सयौं यात्रीको ज्यानको सवाल हुन्छ, म
त्यसमा खरो उत्रिएँ” हिमाल
सँगको कुराकानीका क्रममा कैलाशले भने। अहिलेसम्म
उनले साढे सात हजार घण्टा पानीजहाज
चलाइसकेका छन्।
उनले १७ जना नेपाली युवालाई पनि जहाजमा काम
दिलाएका छन्। भूपरिवेष्ठित मुलुकबाट क्याप्टेन
बन्दा उनलाई सपना पूरा भएको अनुभूति भइरहेको छ।
सम्मान र दाम दुवै
कमाइरहेका कैलाशको भविष्यमा आफ्नै
मुलुकमा केही गर्ने सपना छ। तर,
नेपालमा पानीजहाजका क्याप्टेनको के काम?
उनलाई घरीघरी यही कुराले पिरोल्ने गर्थ्यो।
कैलाशले यसको पनि समाधान निकाले। उनी अहिले
हेलिकोप्टर पाइलटको तालीम लिइरहेका छन्, जसले
जोखिममा परेकाको उद्धार गर्छ। “हिमाली र
पहाडी भेगका धेरै नेपाली उद्धार नपाई
मरिरहेको समाचार सुनेको छु, नेपालमै बसें भने
उनीहरुका लागि केही गर्छु”, क्याप्टेनले
योजना सुनाए।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget