बाबुरामलाई मार्न खोज्नेले फेरि गरे बबाल

काठमाडौं – प्रचण्डको ३० दलीय मोर्चा र मोहन वैद्यको ड्यास माओवादी पार्टीले आह्वान गरेको मंगलबारको बन्दको क्रममा काठमाडौंको सडकमा बन्द अवज्ञा गर्नेहरुलाई अश्लिल गालीसहित कुटपिटमा उत्रिएका एक व्यक्ति निकै उग्ररुपमा प्रस्तुत भइरहेका थिए ।


परिचित जस्तै लाग्ने ती व्यक्तिलाई पछ्याउने क्रममा पत्ता लाग्यो उनी त तिनै एमाओवादी कार्यकर्ता रहेछन्,जसले आफ्नो नेता डा. बाबुराम भट्टराईलाई तीन वर्षअघि मार्ने धम्की दिएका थिए । २०६८ जेठ २ गते पेरिस डाँडास्थित एमाओवादी पार्टी कार्यालयमै पुगेर उनले तत्कालीन उपाध्यक्ष भट्टराईलाई मार्ने धम्की दिएका थिए । त्यसअघि उनले टेलिफोनमार्फत् आफूलाई हत्या गर्ने धम्की दिएको भट्टराईले सार्वजनिक गरेका थिए ।
पार्टीका तत्कालीन मजदुर नेताहरुको विवादमा बाबुरामले आफ्नो पक्ष नलिएको रिसमा उनले त्यस्तो धम्की दिएका थिए । सो घटनामा जनक बर्तौलालाई पार्टीले तीन महिनाका लागि निलम्बनको कारबाहीसमेत गरेका थियो । क्यासिनोका डनका रुपमा चर्चित बर्तौला माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादी मजदुर संगठनमा प्रवेश गरेका थिए ।
मजदुरका रुपमा छिरेका बर्तौलाले पछि रोयल क्यासिनो कब्जासमेत गरेका थिए । बर्तौला पछिल्लो समयमा ठेक्कापट्टाका काममा समेत लागे पनि पार्टीले गरेका आन्दोलनका कार्यक्रममा अग्र भागमै रहन रुचाउने गरेको एमाओवादी मजदुर संगठनका एक नेताले बताए । उनलाई पुस ३० गते मंगलबार पनि संयमित हुन नेताहरुले बारम्बार निर्देशन दिइरहेका थिए । तर,आक्रमणमा उत्रिहाल्ने बानी परेका उनले बन्द विरुद्द प्लेकार्ड लिएर बानेश्वरमा उभिएका केही युवाहरुलाई कुटपिट गर्दै लखेटी हाले । नयाँ बानेश्वर चोक नजिकै जुलुसमा रहेका बर्तौलाले संविधानसभाको समाचार संकलन गरेर फर्किरहेका पत्रकारलाई समेत मुख छाडेका थिए । ‘यी पत्रकार पनि बन्दको विरुद्दमा लेख्छन्,’ बर्तौला भन्दै थिए ।
उनको उदण्डता रोक्न वैद्य माओवादीका नेता दीलिप प्रजापतिलाई समेत हम्मेहम्मे परिरहेको थियो । सडकमा साइकल गुडाउने बालबालिकालाई पनि बर्तौलाले ‘खाते’ शब्द प्रयोग गर्दै लखेट्न थालेपछि बन्द कर्ताले नै उनलाई त्यसो नगर्न सम्झाइरहेका थिए । रक्सीको गन्ध उनको मुखबाट ह्वास्सै आइरहेको चर्चा सडका थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget