भारतीयले फेरि कुटे धर्नाकारीलाई
मंसिर १७, २०७२- वीरगन्ज–रक्सौल नाकाबीचको मितेरी पुलमा धर्नामा बस्दै आएका आन्दोलनकारीलाई सीमावर्ती रक्सौलवासीले बिहीबार पनि कुटपिट गरेका छन् । यसअघि बुधबार राति भारतीयको कुटाइले ५ आन्दोलनकारी घाइते भएका थिए ।
गएराति कुटपिट गर्नेहरु बिहीबार पुलमा देखापरेपछि विवाद भएको थियो । धकेलाधकेलबाट सुरु विवाद दोहोरो झड्पमा परिणत भएको हो । आधा घन्टासम्म दोहोरो झडप भएको मोर्चाका नेताहरुले बताएका छन् ।
सीमावर्ती रक्सौल अहिरवा टोलाका बासिन्दाले लाठीले आक्रमण गरेका हुन् । तमलोपा महिला नेतृ रेखा साहको हात भाँचिएको छ । शत्रुघन यादव, चन्दन मिश्रा, मदन यादवको उपचार नारायणी उपक्षेत्रीय अस्पतालमा भइरहेको छ ।
दुवै पक्षबीच ढुंगा हानाहान समेत भएको प्रहरीले जनाएको छ । अपराह्नदेखि पुलमा बाँस लगाएर मोर्चाले आवागमन ठप्प पारेको छ । रिक्सा, साइकल र मोटरसाइकल आवतजावतमा समेत रोक लगाइएको छ ।
भारत फर्किने क्रममा वीरगन्ज नाका तर्फ अड्किएका भारतीय ट्रक लैजान पाउनु पर्ने रक्सौलवासीले माग गरेपछि विवाद भएको हो । राति एउटा ट्रक रक्सौल गएको थियो । पुलमा सुतेर अवरोध गर्न खोज्ने सुरज साह कलवारमाथि एक भारतीयले राति मोटरसाइकल नै चढाएको प्रत्यक्षदर्शीले बताएका छन् । संघीय समावेशी मधेसी गठबन्धनका राजकुमार यादवले केही तस्कर आन्दोलनकारीको मिलेमतोमा आक्रमण गरेको आरोप लगाउँछन् ।
Post a Comment