‘झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरका जनता अर्को प्रदेशमा जानै चाहेनन्’

काठमाडौं, १६ पुस । संसदमा संविधान संशोधनको प्रस्तावमा आज पनि सैद्धान्तिक छलफल जारी छ । कांग्रेस सरकारको पालामा दर्ता भएको तथा अहिलेको सरकारले अगाडि बढाएको संविधान संशोधन प्रस्तावमा विगत तीन दिनदेखि सैद्धान्तिक छलफल हुँदै आएको छ । यो प्रस्तावले आफूहरूको माग सम्बोधन नहुँनेभन्दै मधेसी मोर्चा र थारु सांसदहरूले असन्तुष्टि जनाउँदै आएका छन् ।
संसदको बैठकमा संविधान संशोधनको प्रस्तावमा सैद्धान्तिक छलफलमा भाग लिँदै कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले तराई मधेसका जनताको माग सम्बोधन गर्नका लागि संशोधन प्रस्ताव ल्याइएको बताउनुभयो । उहाँले अधिकारको माग गर्दै तराई मधेसमा जारी आन्दोलनले गर्दा जनताले दुःख पाइरहेको बताउनुभयो ।
उहाँले वर्तमान सरकार आफ्नो सत्ता टिकाउने खेलमा लागेको बताउनुभयो । सांसद ढुङ्गानाले वर्तमान सरकार समस्याको समाधान गर्न नचाहेको आरोप लगाउनुभयो । ‘मधेसका जनताका अधिकार सम्बोधन गर्नै पर्छ । यो संशोधन प्रस्तावले पनि मधेसी जनताका अधिकार समेट्दैन’, उहाँले भन्नुभयो, ‘सुशील कोइराला सरकारको पालामा दर्ता भएको संविधान संशोधन प्रस्तावालई एमालेका अध्यक्ष केपी ओलीले मान्नु भएन । अहिले समस्याको समाधान त्यही विधेयकले गर्दैछ ।’
सरकार कालोबजारी र भ्रष्टाचार रोक्न नसकेको आरोप लगाउनु भएका कांग्रेस सांसद ढुङ्गानाले भन्नुभयो, ‘संविधान संशोधनको प्रस्तावलाई पारित गर्नुपर्छ ।’
एमालेका सांसद राजेन्द्रप्रसाद पाण्डेले संविधान संशोधनको अहिलेको व्यवस्थाले नपुगे पछि थप गर्न सकिने बताउनुभयो । कांग्रेसकै पालामा दर्ता भएको संविधान संशोधन प्रस्तावमा कांग्रेसकै सांसदहरूले विरोध गरेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो ।
झापा, सुनसरी र मोरङका जनताले दुई नम्बर प्रदेशमा जान नचाहेको बताउनुभएका सांसद पाण्डले भन्नुभयो, ‘पूर्वमा मात्रै होइन पश्चिमका कैलाली, कञ्चनपुर जिल्लाका जनताहरू पनि अर्को प्रदेशमा जान चाहँदैनन् । आन्दोलनकारीले यो कुरालाई पनि बुझ्नु पर्छ ।’
उहाँले आन्दोलनकारी दलहरूलाई सहमतिमा आएर संसदबाट समाधान खोज्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘आन्दोलन फिर्ता लिनुस् । यहीबाट समाधान खोजौँ ।’
एकीकृत माओवादीका सांसद अमनलाल मोदीले संविधान संशोधनको प्रस्तावले आन्दोलनकारीका धेरै माग पूरा हुने बताउनुभयो । ‘जनताका अधिकार संविधान संशोधनको प्रस्तावले धेरै माग पूरा गर्छ’, उहाँले भन्नुभयो, ‘यो प्रस्तावलाई पारित गरेर थप अधिकारका लागि संघर्ष गर्दै जानुपर्छ । आन्दोलनकारीले पनि बुझ्न जरुरी छ ।’
कांग्रेसका सांसद नगेन्द्रकुमार कुमालले आफूले संविधान संशोधनको प्रस्ताव राख्दा जातिवादी र साम्प्रदायिक भएको आरोप लागेको स्मरण गर्नुभयो । उहाँले सबैलाई अधिकार दिनुपर्ने आफ्नो आग्रहलाई अहिले आएर संविधान संशोधन गरेर दलहरूले केही भए पनि स्वीकार गरेको बताउनुभयो ।
संसदमा मधेसी र थारु सांसदको नारावाजी यथावत
संसदको बैठक सुरू हुनेवित्तिकै मधेसी मोर्चा र थारु सांसदहरूले नारावाजी र घेराउ गरेका छन् । उनीहरूले आफूहरूले उठाएका मागलाई पूरा गर्न माग गरेका छन् । मधेसी र थारु सांसदहरूको नारावाजी र घेराउका बीच संसदको बैठक चलेको छ । मधेसी र थारु सांसदहरूले आफूहरूका अधिकार नसमेटिएको भन्दै सदनमा अबरोध गर्दै आएका छन् ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget