आन्‍दोलनको स्‍वरुप परिवर्तन गर्दै मधेसी मोर्चा

काठमाडौं: संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले साढे तीन महिनादेखि नाकामा जारी धर्ना कार्यक्रम फिर्ता लिने संकेत गरेको छ।

मोर्चाको धर्नामा भारतीय पक्षको सहयोगका कारण लामो समयदेखि इन्धन, औषधि, दैनिक उपभोग्य वस्तुलगायतको चरम अभाव हुँदै आएको छ।मोर्चाको आन्दोलन देखाउँदै भारतले लगाएको नाकाबन्दीको तराईमै विरोध हुन थालेपछि मोर्चाले पुस १९ गतेसम्मका लागि घोषणा गरेको आन्दोलनका कार्यक्रमपछि अर्को चरणको आन्दोलनमा नाका धर्ना फिर्ता लिने संकेत गरेको हो।


'मोर्चाले समयसमयमा आन्दोलनको स्वरूप परिवर्तन गर्दै आएको छ। अहिले पुस १९ गतेसम्मको कार्यक्रम चलिरहेको छ। त्यसपछि बस्ने मोर्चा बैठकमा नाकाबन्दी अन्त्यसहितका एजेन्डामा छलफल हुन सक्छ', मंगलबार रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै मोर्चाका नेता महन्थ ठाकुरले भने।

सोमबार बसेको मोर्चा बैठकमा पनि नाकाबन्दीले पहाडका साथै तराईमा पनि आर्थिक अवस्था चौपट भएको भन्दै नाकामा धर्ना बस्ने कार्यक्रम फिर्ता लिने विषयमा छलफल भएको थियो।बैठकमा मोर्चाका नेताले नाकाबन्दीले तराईमा खेतीपातीमै नकारात्मक असर पारेको भन्दै त्यसमा पुनर्विचार गर्ने सम्बन्धमा छलफल भएको थियो।

तमलोपा अध्यक्षसमेत रहेका ठाकुरले तीन महिनाभित्र प्रदेशको सीमांकन हेरफेर गर्ने सुनिश्चितता भए र बाँकी विषय तत्काल संविधान संशोधनमार्फत सुल्झाउन तयार भए आन्लोलन फिर्ता लिन सकिने बताए। 'तीन महिनामा सीमांकन मिलाउने विषयमा हामीलाई विश्वास दिलाउन सक्नुपर्‍यो।अहिलेसम्म भएका लिखित सहमति उल्लंघन भएको छ। तीन महिना भन्दाभन्दै चार महिना भइसक्यो कुरा मिलाएको भए भइहाल्थ्यो।

संविधानको प्रस्तावनादेखि अन्त्यसम्म हामीमाथि विभेदैविभेद छ। त्यहाँ जनयुद्ध राख्न हुने मधेस आन्दोलन राख्न किन नहुने?' ठाकुरले भने, 'यस्तो अवस्थामा कसरी विश्वास गर्नु ? सडकमा पनि पेलिरहेका छन्, संसद्मा पनि पेलिरहेका छन्।'

अध्यक्ष ठाकुरले सरकारले वार्ताबाट समस्या समाधान नचाहेकाले समाधान नभएको भन्दै कांग्रेस र एमाओवादीसँगको वार्ता पनि निष्कर्षमा पुग्न नसकेको बताए।
उनले भने, 'अनौपचारिक रूपमा कांग्रेस र एमाओवादीसँग वार्ता भइरहेको छ तर ती वार्ता पनि कुनै निष्कर्षमा पुगेको छैन।'सरकारसँग आन्दोलन दबाउने वा माग पूरा गरेर समाधान गर्ने दुई विकल्प रहेको भन्दै अरूलाई 'जनावर' नामकरण गर्ने सरकारको आफ्नै 'जनावर' जस्तै अमानवीय व्यवहार गरेको आरोप लगाए।

उनले भने, 'मधेसीलाई जनावरलाई झैं बुटले कुल्चिँदा अर्को आमानवीय व्यवहार हुँदैन। दमन बन्द नभएसम्म सार्थक वार्ता हुन सक्दैन। सरकारको पछिल्लो क्रूरता सद्भावना पार्टीका राजेन्द्र महतोमाथि गरेको आक्रमणले प्रस्ट पारेको छ।'

नाकाबन्दीकारण भूकम्पपीडितले ज्यान गुमाउनुपरेको भनि सोधेको प्रश्नमा उनले भूकम्पपीडितलाई आफूहरूले सक्दो सहयोग गरेको दाबी गर्दै भने, 'प्राधिकरण विधेयक पारित गर्न सहयोग गर्‍यौं। भर्खर सीईओ नियुक्त गर्दैछ। हामीले होइन, सरकारले काम गर्न सकेको छैन। हामीलाई विदेशी ठान्ने सरकारले आफ्ना नागरिकलाई बचाउनुपर्‍यो नि।'

ठाकुरले मधेसमा सबैतिर सरकारले दमन गरेर दसगजामा धर्ना बस्न बाध्य भएको बताए। 'जता गए पनि सरकारले दमन गर्छ अनि हामी कहाँ गएर बस्ने?' ठाकुरले भने, 'दसगजामा पनि लाठी चलाउँछ। हाम्रो कुरा सुन्दैन उल्टै हामीलाई दोष लगाउँछन्। अभाव हाम्रो कारण भएको होइन, सरकारकै कारण भएको हो।'

मोर्चामै आबद्ध सद्भावना पार्टीका नेता मनीष सुमनले भने नाकामा धर्ना, आमहडताल र कर बहिष्कार मोर्चाको स्थायी प्रकृतिको आन्दोलन कार्यक्रम भएको भन्दै यी तीन विषयमा हेरफेर नहुने दाबी गरे। 'नाका धर्ना, आमहडताल र कर नतिर्ने हाम्रो आन्दोलनको कार्यक्रम फिर्ता वा परिमार्जन हुँदैन', सुमनले अन्नपूर्णसँग भने, 'तर त्यसबाहेक अन्य कार्यक्रम लाठीजुलुस प्रदर्शनलगायतका कार्यक्रम हेरफेर गर्ने कुरा भएको हो, महन्तजीले पनि त्यही भन्नुभएको हो।'

उनले सरकारसँग आफूहरूको ११ बुँदे मागमा लिखित सम्झौता भएर कार्यान्वयन नभएसम्म तीनवटा स्थायी प्रकृतिका आन्दोलनका कार्यक्रम फिर्ता नहुने दाबी गरे।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget