'छोरीलाई सेकेर बचाउन खोजें तर सकिनँ'

फोटो :जन्‍मेको चार दिनमै चिसोका कारण छोरी गुमाउनु परेको पीडा सुनाउँदै विनीता पहरी। तस्बिर: युवराज पुरी
कठ्यांग्रिदो चिसोमा भूकम्पपीडित
ठोकर्पा (सिन्धुपाल्चोक): ठोकर्पा गाविस ३ जामुनेका सोमबहादुर पहरीले सोमबार बिहानमात्र १३ महिने छोरी राममाया पहरीको सद्गत गरे। जस्ताको टहरोमा चिसोले कठ्यांग्रिएर आइतबार साँझ छोरी बितेपछि सोमबहादुर भावविह्वल छन्।


आफ्नो मुटुको टुक्रालाई कुनै रोग नै नलागी चिसो थेग्न नसकेकै कारण गुमाउनु पर्दाको पीडा सोमबहादुर र उनको परिवारले भोगिरहेको छ। उनले दिनभर सामान्य अवस्थामा रहेकी छोरीले साँझमा बिस्तारै जाडोले काम्दै दूध चुस्न छाडेपछि निलो हुँदै हातखुट्टा चलाउन छाडेर ज्यान गुमाएको भक्कानिँदै सुनाए।

१८ वर्षीया विनिता पहरीले पनि मंसिर ९ गते साँझ आफ्नो पहिलो सन्तानका रूपमा जन्मेकी छोरी गुमाउनुपर्‍यो। तीन दिनअघि जन्मिएकी छोरी चिसोले कठ्यांग्रिएरै बितेको विनिताले बताइन्। 'साँझ पर्दै गएपछि जाडोले काम्न थालेकी छोरीले बिस्तारै दूध चुस्न छाडी अनि हातखुट्टा कक्रिएपछि निली हुँदै गई', विनिताले भनिन्, 'जाडो भएको भन्दै आगोले सेकेर तातो बनाउने प्रयास गरें तर छोरीलाई बचाउन सकिनँ।'

जति सेक्दा पनि जिउ नतातेको र पछि बान्ता गर्न थालेपछि आफ्नै काखमा छोरीको प्राण गएको उनले बताइन्।जस्ताको टहरोमा पर्याप्त कपडा नभएकै कारण छोरीलाई गुमाउनु परेको विनिताको भनाइ छ। 'शरीर ढाक्ने कपडा नभएपछि जस्ताको टहरोमा आउने चिसो हावा र शीत थेग्न आगोमात्र पर्याप्त नहुने रहेछ’, विनिताले भनिन्, ‘आगोले सेकेरै छोरी बचाउन गरेको प्रयास बेकार भयो।'
सिन्धुपाल्‍चोकमा चिसोले पहरी समुदायका मात्र ८ भूकम्‍पपीडितको मृत्‍यु भएको छ।
छोरी बितेसँगै आफ्नो परबाह गर्न छाडेकी विनिताको पनि शरीर सुन्निन थालेको छ। निरन्तर खोकिरहन्छिन् तर चिसोबाट बच्ने कुनै उपाय अपनाएकी छैनन्। बाँसले बेरी जस्ताको छानो हालेर बनाएको टहरोले हिमाली सिरेटो रोक्न सक्दैन। 'घरमा भएको ओढ्नेले राति जस्ताबाट आउने शीत थेग्न सक्दैन', विनिता भन्छिन्, ‘रातभर आगो तापेरमात्र बस्न पनि नसकिने रहेछ।'

विनिताको १० जनाको परिवारमा कोही पनि सद्दे छैनन्। सबैलाई चिसोका कारण रुघाखोकी र जिउ सुन्निने समस्याले सताएको छ। १० वर्षमुनिका चारजना उनका देवर र नन्द विद्यालय जान नसक्ने अवस्थामा पुगेका छन्। आफ्नो जमिनको उत्पादनले मुस्किलले तीन महिना खान पुग्ने पहरी परिवार खाद्यान्न अभावको पीडा पनि झेलिरहेका छन्।

चिसो मौसम सुरु भएपछि पहरी समुदायमा मात्र आठजनाको मृत्यु भइसकेको छ । केही श्वासप्रश्वासका कारण र अन्यले चिसो थेग्न नसकेकै कारण ज्यान गुमाउनुपरेको स्थानीय गिरिबहादुर पहरीले बताए।

६७ वर्षीया जुरेली पहरीले चिसोकै कारण जिउ सुन्निने र घुँडा दुख्ने समस्याले बसेको ठाउँबाट उठ्न नसक्ने अवस्थामा पुगेको बताइन्। रुघाखोकी र ज्वरोले सताएका छोराछोरीलाई आर्थिक अभावका कारण मेडिकलसम्म लैजान नसकेको भीमबहादुर पहरीले बताए।

घाम नलागुन्जेल घरबाहिर निस्कन नसक्ने ६० वर्षीय रूपबहादुर पहरी भूकम्पपछिको जिन्दगी 'गरी खानु न मरी जानु' भएको बताउँछन्। मजदुरी गरेर परिवारको पेट पाल्नुपर्ने बाध्यतामा रहेका रूपबहादुर बालबच्चाको पेट कसरी भर्ने भन्ने चिन्तामा छन्।

चिसो बढेसँगै पहरीबस्तीमा ५० वर्ष कटेका वृद्धवृद्धा र १० वर्ष नपुगेका बालबालिका प्रताडित छन्। स्थानीय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर पहरीका अनुसार ९७ परिवारको बसोबास रहेको जामुने गाउँमा ४० जनाभन्दा बढी बिरामी परेका छन्।

चिसोले सुत्केरी महिलालाई पनि सास्ती दिएको छ । गाउँमा ३५ जनाभन्दा बढी ६ महिनासम्मका सुत्केरी रहेको पनि उनले बताए। उनका अनुसार चिसो बढेसँगै पहरी समुदायका मात्रै ८५ वर्षीया मनमाया, ४१ वर्षीय अक्कलबहादुर, ५५ वर्षीया बिनामायालगायत आठजनाको मृत्यु भएको हो।
annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget