यी अमेरिकी जसले अहिंसात्मक आन्दोलनबाट अमेरिकालाई नै थर्काएका थिए

काठमाडौं । सन् १९९६ को ओलम्पिक खेलको उद्घाटन समारोहमा एकजना त्यस्तो ब्यक्तिप्रति पनि भावपूर्ण श्रद्धान्जली दिईएको थियो जो एटलान्टामा जन्मेका अमेरिकाका प्रख्यात विश्वब्यक्ति थिए । उनी नागरिक अधिकारवादी नेतामात्रै नभई अमेरिकाको स्वतन्त्रता, समानता र सम्मानका लागि लड्दा लड्दै मरेका ब्यक्ति थिए । उनी अर्थात्– डा. मार्टिन लुथर किंग ।
अमेरिकी समाजमा सामाजिक क्रान्तिको बिगुल फुक्ने डा. मार्टिन लुथर किंग त्यस्ता ब्यक्ति हुन् जो भारतका महात्मा गान्धी जस्तै उत्तर अमेरिका र ल्याटिन अमेरिकाभर अहिंस्रक क्रान्तिकारीको रुपमा विश्वमा प्रख्यात छन् । उनी सक्रिय छँदा उनको एउटा आह्वानमा एटलान्टादेखि वाशिङ्टन डीसीसम्म लाखौंलाख न्यायप्रेमीहरुको जनसमुद्रको लहर उठ्थ्यो । उनी अमेरिकी सरकारलाई थर्काउन समेत सफल थिए । डा. मार्टिन लुथर किंगको हत्या भएपछि एक लाखभन्दा बढी अमेरिकी जनताले जुलुस प्रदर्शन गरेर उनलाई श्रद्धान्जली दिएका थिए । उनको निरन्तर संघर्ष र शहादतलाई ध्यानमा राखी उनकै पारिवारिक घर भएको एटलान्टाको एउटा जिल्लाको नामाकरण समेत उनकै नामबाट गरिएको छ । प्रत्येक बर्ष १५ जनवरीका दिन अमेरिकामा देशब्यापी रुपमा उनको स्मृतिमा त्यसै जिल्लामा स्थापित अहिंस्रक सामाजिक आन्दोलनका लागि मार्टिन लुथर किंग सेन्टरको भब्य संग्रहालय हेर्न प्रत्येक बर्ष ३५ लाख मानिसहरु त्यहाँ जाने गर्छन् । काला अमेरिकीहरुको संघर्षलाई नेतृत्व प्रदान गरेर डा. मार्टिन लुथर किंगले नोबेल शान्ति पुरस्कार समेत पाएका थिए । उनको जीवन संघर्ष र शहादतसँग शताब्दी ओलम्पिकको निकै नजिकको सम्बन्ध छ । त्यसैले यही सोचेर डा मार्टिन लुथर किंगलाई भावपूर्ण श्रद्धान्जली दिने क्रममा एटलान्टाको सिंगो स्टेडियमको प्रकाश मधुरो पारियो र त्यही मधुरो प्रकाशमा उनको छायाँ बिस्तारै बिस्तारै विशाल भिडियोको स्क्रिनमा देखाइयोे । र, अन्तमा सन् १९६३ मा वाशिङ्टनमा भएको ऐतिहासिक विरोेध प्रदर्शनलाई सम्बोधन गर्दै उनले बोलेको भाषणको अडियो टेप गुञ्जाइयो– आइ हेभ अ ड्रिम ।
डा मार्टिन लुथर किंगले आजभन्दा ६४ बर्ष अगाडि सामाजिक क्रान्तिको सपना देखेका थिए । उनको सपनाभित्र अमेरिकाको जरोसम्म गाडिएर रहेको जातीय विभाजन र भेदभावको अन्त, उत्पीडित कालाहरुले पनि गोराहरुले जतिकै समानता, स्वतन्त्रता, र सम्मान पाउने ब्यवस्थाको सिर्जना र हिंस्रक युद्धबाट मुक्तिका कुराहरु थिए । यही सपना साकार पार्न मार्टिन लुथर किंगले अमेरिकामा गोरो र कालो छालाको रंग हेरेर गरिने बर्णभेदका बिरुद्ध अहिंसात्मक आन्दोलन चलाएका थिए । उनले अहिंसात्मक ढंगले एउटा नयाँ सामाजिक क्रान्तिको बिगुल फुकेका थिए ।
नागरिक आन्दोलनको पुरानो केन्द्र एटलान्टामा जन्मेका, हुर्केका मर्टिन आफ्नो किशोर अवस्थादेखि नै संघर्षमा लागिपरेका थिए । सन् १९२९ जनवरी १५ मा एटलान्टामा जन्मेका किंगले मोर हाउस कलेज र कोजर थियोलोजिकल सेमिनरी एवम् बोस्टन बिश्वबिद्यालयबाट पी.एच.डी को औपचारिक डिग्री लिएका थिए । अध्ययनकै क्रममा उनी वर्णभेद बिरोधी संघर्षमा पनि दीक्षित हुन थालेका थिए । कालो र गोरो रंगको आधारमा सबै कुरामा भेदभाव गरिने अमेरिकामा त्यतिखेर रंगको आधारमा शिक्षामा पनि भेदभाव गरिन्थ्यो । वर्णभेद विरोधी संघर्षको कारणले पछि त्यहाँको सर्वोच्च अदालतले सार्वजनिक शिक्षामा यो वर्णभेदको अन्त्य गर्ने फैसला सुनायो । फैसलापछि सन् १९५५ मा देशभरि वर्णभेद विरोधी लहर उठ्यो । यसै क्रममा मोन्ट गोमेरीमा सार्वजनिक यातायातमा गरिने वर्णभेदको विरोधमा ३ सय ८१ दिने बस बहिष्कार संघर्ष समेत भएको थियो । जसको नेतृत्व मार्टिन लुथरले नै गरेका थिए । त्यतिमात्र होइन, उनले अमेरिकाको बर्मिघम, अलास्का, लगायत अन्य थुप्रै शहरहरुमा नागरिक अधिकार आन्दोलन सञ्चालन गरे र ती आन्दोलनलाई नेतृत्व प्रदान गरे । अमेरिकी सरकारले गरेको पटक पटकको गिरफ्तारी, जेल नेल र यातनालाई चिर्दै उनले अगष्ट २८ सन् १९६३ मा वाशिङ्टनमा एउटा ऐतिहासिक विरोध प्रदर्शनको आयोजना गरे । उक्त विरोध प्रदर्शनमा लाखौं लाख नागरिक अधिकारवादी अमेरिकी जनताले उनको ‘आइ हेभ अ ड्रिम’ नामक चर्चित भाषण सुनेका थिए ।
सन् १९६४ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेपछि उनी विश्वभर नै चर्चित भए । यसै क्रममा उनले अमेरिकी सरकारले प्रयोग गरिरहेका हरेक खालका हिंसाहरुको विरोध गर्न थाले । उनले अमेरिकी सरकारको त्यतिखेर भियतनामी जनतामाथि थोपरेको एक दशकभन्दा लामो युद्धको विरोधमा सन् १९६७ देखि आवाज उठाउन थाले । साथसाथै गरिब र मजदुरहरुको पक्षमा उनले आवाज बुलन्द पार्दै गए । यसै क्रममा उनले सम्पूर्ण गरिब जनतालाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र जीउनका लागि आवश्यक काम र कामको उचित रकम पाउने नैतिक अधिकार छ भनी घोषणा समेत गरे । उनको यो ब्यबहार देखेर अमेरिकी सरकारमात्र नभई कुक्लस क्लान नामक समूह र धनी कालाहरु समेत रिसाउन थाले । यी समूह तानाशाह हिटलरलाई पूजा गर्ने गोराहरुको समूह थियो । अन्ततः उनीदेखि रिसाएका हिटलर समर्थक गोराहरुले सन् १९६८ अप्रिल ३ का दिन सफाई मजदुरहरुको हडतालमा सहभागी भएर फर्किरहेको बेला उनको हत्या गरे । भनिन्छ, मार्टिन लुथर किंगको शहादतपछि पनि उनको सपनाको मृत्यु भएको छैन । (एजेन्सीको सहयोगमा)
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget