ओलीलाई भारतमा स्वागत: राजदूत रे

२०७२ पौष १६ बिहीवार
काठमाडौं: चीन सरकारको उच्च तहबाट निमन्त्रणा प्राप्त भई तत्काल त्यसतर्फ जाने मिति निर्धारण गर्ने तयारी भइरहेका बेला भारतले प्र्रधानमन्त्री केपी शर्मा ओलीलाई पहिला दिल्ली नै बोलाउने तयारी गरेको संकेत प्राप्त भएको छ।

भारतीय राजदूत रन्जित रेले प्रधानमन्त्री ओलीलाई मंगलबार भेटी भारत उनलाई स्वागत गर्न इच्छुक रहेको संकेत दिएका हुन्। प्रधानमन्त्री निर्वाचित भएपछि उनका भारतीय समकक्षी नरेन्द्र मोदीले फोन गरी अनुकुल समयमा भारत भ्रमण गर्ने निम्तो दिए पनि त्यसपछि त्यो विषयलाई भारत सरकारले बुझिने गरी थाँती राखेको थियो।


राजदूत रेले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको आग्रह त्यसबेलामात्र गरे जुनबेला उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको हालैको चीन भ्रमणमा यथासम्भव छिटो प्रधानमन्त्री ओलीलाई चीन भ्रमणका लागि आमन्त्रण गर्‍यो।ओलीलाई तत्काल चीन भ्रमण गर्नुपर्ने वाध्यात्मक परिस्थिति किन पनि छ भने चीनले सन् २०१६ को प्रारम्भमै आफ्नो उच्च तहको भ्रमण नेपालमा हुने जानकारी पनि परराष्ट्रमन्त्री थापामार्फत सार्वजानिक गरेको छ।

यही सेरोफेरोमा सोधिएको एक प्रश्नमा भारतीय राजदूत रेले भने, 'ओली प्रधानमन्त्री पदमा निर्वाचित भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोनमार्फत बधाईसँगै भारत भ्रमणको निम्तो दिएका हुन्। ओलीलाई भारतमा स्वागत छ।' रिपोर्ट्र्स क्लबले राजधानीमा बुधबार आयोजना गरेको साक्षात्कारमा उनले भने, 'प्रधानमन्त्रीको भ्रमणका लागि अन्य कुरा पनि हुनुपर्छ। त्यो भएको छैन। आवश्यक गृहकार्य हुनुपर्छ, हुन सकेको छैन।'

राजदूतले रेले नेपाल सरकार, प्रमुख विपक्षी दल र आन्दोलनकारीबीच भइरहेको सहमतिको प्रयासलाई भारतले समर्थन गरेको बताएका छन्। उनले भने, 'मन्त्रिपरिषद्को पुस ५ गते बसेको बैठकले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई वार्तामा आउन आग्रह गर्दै गरेको तीनबुँदे निर्णयलाई भारत सरकारले स्वागत गरिसकेको छ।'

उनले भने, 'मधेसको समस्या राजनीतिक समस्या हो। सरकार, प्रमुख विपक्षी दल र आन्दोलनकारीबीच भइरहेको सहमतिको प्रयासको हामी समर्थन गर्छौं। यो सार्थक र परिणाममुखी होस् भन्ने हाम्रो अपेक्षा छ।' राजदूत रेले समाधानको 'फ्रेम वर्क' बनिसकेकाले गम्भीर संवाद भए समस्या छिट्टै समाधान हुने विश्वास व्यक्त गरे। मधेस आन्दोलनको माग धेरै ठूलो नभएकाले समाधान पनि गाह्रो नभएको तर्क उनले गरे।

उनले नेपालमा शान्ति र स्थायित्व भएर विकासको बाटोमा अघि बढ्नुपर्ने बताएका थिए। उनले भारतसँग सीमा जोडिएको तराईमा समस्या हुँदा भारतलाई पनि असर पर्ने दाबी गर्दै छिमेकीमा अस्थिरता हुँदा आफ्नो विकासक्रममा पनि असर पर्ने बताए।

उनले भने, 'हाम्रो एउटै स्वार्थ छ स्थायित्व र विकास। भारत दोहोरो अकंको आर्थिक वृद्धिका साथ अघि बढ्न चाहन्छ। यसलाई प्राप्त गर्न यो क्षेत्रमै शान्ति र स्थायित्व हुन जरुरी छ। अस्थिरता भए हामी पनि अल्मलिन्छौं। त्यसैले हामी नेपालमा अस्थिरता चाहँदैनौं।'

राजदूत रेले कसैले बिगार्न चाहे पनि नसक्ने खालको प्रगाढ सम्बन्ध नेपाल र भारतबीच रहेको भन्दै नजिक हुँदा कहिलेकाहीं चिसोपन आउनु स्वाभाविक भएकाले त्यसलाई बातचित गरेर सुधार्ने बताए।'म आशावादी छु, यो अस्थायी समस्या हो। अब सम्बन्ध अझै प्रगाढ हुन्छ। त्यसको विकल्प छैन', राजदूत रेले भने।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकै वर्ष गरेको दुईपटकको भ्रमणले भारतले नेपाललाई कति महत्व दिन्छ भन्ने प्रस्ट भएको बताउँदै भने, 'हामी नेपाल-भारत सम्बन्धलाई प्राथमिकता दिन्छौं। हामी दुई देशको साझा विकास चाहन्छौं।'

राजदूत रेले भने, 'एउटा राम्रो प्रोजेक्ट कार्यान्वयन भए राम्रो सन्देश जान्छ। कमसे कम एक प्रोजेक्ट वास्तविकतामा बन्न पर्छ । यसले सम्बन्ध अझै राम्रो बनाउँछ। पञ्चेश्वर लामो समयपछि कार्यान्वयनमा गएको छ। अहिले म यसैमा लागेको छु।'

नेपाल र भारतबीचको अबको सम्बन्ध विकासको सम्बन्ध हुनुपर्ने धारणा राख्दै विकासमा राजनीति मिसाउँदा असर पर्ने रेले बताए । उनले भने,विकासमा राजनीति गरे त्यो कार्यान्वयन हुँदैन।'

राजदूत रेले नेपालमा भारत विरोध भावना बढेको विषयले पीडा भइरहेको भन्दै यो दुवै मुलुकको हितमा नरहेको स्पष्ट पारे। उनले भने, 'नेपालको विकासमा भारतको सहयोग आवश्यक छ । यहाँ भारतविरोधी भावना बढे नेपालको हित हुँदैन । भारतविरोधी गतिविधि रोक्नुपर्छ। यसलाई हामी गम्भीर रूपमा लिन्छौं।'

उनले भने, 'नेपालको आन्तरिक समस्या समाधान भए सबै समस्या समाधान हुन्छ। नेपाल र भारतले यसलाई कसरी हेर्छन्, त्यो एकअर्काले देख्नुपर्छ। यो विषयमा ट्र्याक वान र ट्र्याक टुबाट संवाद गर्ने बेला आइसकेको छ।'

नेपालले इन्धनलगायतका सम्झौता चीनसँग गर्न लागेको विषयमा उनले नेपाल सार्वभौम मुलुक भएकाले भारत, चीन वा अरू कुनै मुलुकसँग पनि सम्बन्ध राख्न स्वतन्त्र रहेको प्रतिक्रिया दिए।
annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget