कुन मन्त्रीको शैक्षिक योग्यता कति ??? सबैले जानीराखौ !!!

प्रधानमन्त्री, सभामुख, अर्थमन्त्री सहित अन्य केही मन्त्रीहरु एसएलसी मात्रै पास,
१० प्रतिशत सांसद एसएलसी समेत पास नगरेका

पूर्व मन्त्री समेत रहेका संविधानविद् निलाम्बर आचार्यले शुक्रबार विहान ट्विट गरे – कम्तीमा एक विदेशी भाषा जानेको हुनुपर्छ । पुस्तक पढ्ने गरेको हुनुपर्छ । लेख्ने बानी बसेको हुनुपर्छ । र अरू धेरै कुरा हुनुपर्छ २१औं शदीको नेतामा ।
निकै पहिले देखि जारी मन्त्रीको शैक्षिक योग्यताको बहस बिहीबार मन्त्रीमण्डल विस्तार भएसँगै झन् तातेको छ । नेता तथा मन्त्रीको शैक्षिक योग्यताका बारेमा सामाजिक सञ्जालमा ब्यापक बहस भईरहेको छ ।
‘नेता ज्यू तपाई पनि नपढ्ने अनि हामीलाई पनि पढ्न नदिने ?’ पहेँलो कागजमा लेखिएको वाक्य सहितको अर्को फोटो यतिखेर फेसबुकमा भाइरल नै भएको छ ।

उच्च शिक्षा अध्ययन गर्ने नेताहरु न्यून भएकोले नाकाबन्दी र आन्दोलनले महिनौदेखि ठप्प रहेका शैक्षिक संस्था खुलाउन पहल नभएको तर्फ उक्त शन्देश केन्द्रित गरिएको छ ।
भक्तपुर दधिकोटको अरनिको उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर खड्का घरबाट विद्यालय जाँदै थिए । बाटो छेउमा भेला भएका सर्वसाधरणको कुरा उनको कानमा ठोक्कियो, ‘अब त धेरै पढाएर पनि के गर्नु ? धेरै पढ्दा माथिल्लो तहमा पनि नपुग्ला भन्ने चिन्ता भयो । देशका माथिल्लो ओहोदामा बसेकाहरु स्नातक भन्दा बढी छैनन् ।’
आफ्नै विद्यालयमा पढ्ने विद्यार्थीका अभिभावकहरु यस्ता गफ गरेको सुनेर कसैसंग बोल्दै नबोली उनी फटाफट अघि बढे । ‘यो कुराको प्रतिबाद नै गरिन, मुलुकमा भएकै यही छ’ उनी भन्छन्, ‘यस्तो कुरा गर्नु हुँदैन भनेर कसरी भन्नु ?’
मुलुकका प्रधानमन्त्री, सभामुख, अर्थमन्त्री सहित अन्य केही मन्त्रीहरु एसएलसी मात्रै पास छन् । प्रविणता प्रमाणपत्र तह तथा प्लस टु गर्नेको संख्या पनि उल्लेख्य छ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्नातक तहसम्म मात्रै पढेकी छिन् । उपराष्ट्रपति नन्दबहादुर पुनले राजनीति शास्त्रमा स्नताक गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एसएलसी भन्दा बढी पढेका छैनन् । झापा क्षेत्र नम्बर ७ का केपी शर्मा ओलीले एसएलसी सकाएर विराटनगरमा आइए अध्ययन गर्न भर्ना गरेपनि परीक्षा दिएनन् ।
माओवादी विद्रोहदेखि नै राजनीतिमा होमिएकी सभामुख ओन्सारी घर्ती दोस्रो संविधानसभामा रोल्पा– २ बाट निर्वाचित् भएकी थिइन् । एमाओवादीमा प्रत्यक्ष निर्वाचित उनी एक्ली महिला हुन् । २०३४ साल कात्तिक २८ गते जन्मिएकी घर्तीको शैक्षिक योग्यता एसएलसी हो । उपसभामुख गंगाप्रसाद यादवले प्रमाणपत्र तहसम्म मात्रै अध्ययन गरेका छन् ।
मधेश आन्दोलनबाट अलग भएर सरकारमा आएका बिजय गच्छदार उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री भए । सुनसरी दुहबी भलुवा ८ जन्मिएका गच्छदारले स्नातक सम्म अध्ययन गरेका छन् ।
जेनेभा बैठकमा भारतले लगाएको नाकाबन्दीले पारेको असरबारे खुलेर बोल्न सफल भन्दै चर्चा कमाएका अर्का उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाले भने राजनीति शास्त्रमा स्नातककोत्तर गरेका छन् । माओवादीको कोटामा उपप्रधानमन्त्री एवं उर्जा मन्त्री भएका टोपबहादुर रायमाझीले स्नातकसम्म अध्ययन गरेका छन् ।

जनमोर्चाबाट उपप्रधानमन्त्री भएका चित्रबहादुर केसीले संसद सदस्य परिचयमा आफ्नो शैक्षिक योग्यता खुलाएका छैनन् । अर्का उपप्रधानमन्त्री ताप्लेजुङ फुलबारीका मालेका महासचिव सीपी मैनालीले स्नातक सम्म अध्ययन गरेका छन् ।
त्यस्तै एमाले कोटाबाट उपप्रधानमन्त्री एवं रक्षा मन्त्री भएका भीम रावलले स्नातककोत्तर गरेका छन् । अछाम साँफेबगरका उनले बीएल पनि गरेका छन् । उनले विद्यावारिधि गरिरहेका छन् ।
वन तथा भूसंक्षण मन्त्री अग्नी सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । प्रधानाध्यापकको समेत उनलाई अनुभव छ । सिन्धुपाल्चोक २ बाट प्रत्यक्ष निर्वाचित उनी २०३५ देखि राजनीतिमा आबद्ध छन् ।
एमालेकै कोटाबाट अर्थमन्त्री भएका बिष्णु पौडेलले संसद सदस्य परिचय पुस्तिकामा आफ्नो शैक्षिक योग्यता उल्लेख गरेका छैनन् । तर, उनले एसएलसी मात्रै उतिर्ण गरेका छन् ।

पर्यटन मन्त्री आनन्द पोखरेलले स्नातककोत्तर अध्ययन गरेका छन् । उनले बीएल र बीएस्सी पनि गरेका छन् । एमालेकै कोटाबाट बिना बिभागीय मन्त्री भएकी शान्ता मानवीले सदस्य परिचय पुस्तिकामा आफ्नो शैक्षिक योग्यता खुलाएकी छैनन् ।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातकसम्म अध्ययन गरेका छन् । गृहमन्त्री शक्तिबहादुर बस्नेतले राजनीति शास्त्रमा स्नातक गरेका छन् । ताप्लेजुङ थेचम्बु ५ मा जन्मिएका कानुन मन्त्री अग्नि खरेलले कानूनमा स्नातक गरेका छन् । उनी बरिष्ठ अधिवक्ता समेत हुन् ।
त्यस्तै भोजपुर थिदिंखाका शेरधन राईले समाजशास्त्रमा स्नातककोत्तर पुरा गरेका छन् । उद्योगमन्त्री सोमप्रसाद पाण्डे, कृषि मन्त्री हरिबोल गजुरेल, सामान्य प्रशासन मन्त्री रेखा शर्मा, बिना विभागीय मन्त्री रामकुमार सुब्बा, रामजनम चौधरी, विश्वेन्द्र पासवान, मेघराज नेपाली निषाद्ले स्नातकसम्म अध्ययन गरेका छन् ।
त्यस्तै बाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुन, सिञ्चाई मन्त्री उमेशकुमार यादवले प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् । बिना विभागीय मन्त्री मोहम्मद मुस्ताक आलाम, सत्यनारायण मण्डलको शैक्षिक योग्यता एसएलसी मात्रै हो ।
१० प्रतिशत सांसदले एसएलसी समेत पास गरेका छैनन् । संविधानसभा व्यवस्थापिका संसद सदस्य संक्षिप्त परिचयमा ५ सय ९८ सांसदको व्यक्तिगत बिवरण राखिएको छ । यस अनुसार एसएलसी उतिर्ण नै नहुने ५८ जना छन् । त्यस्तै एसएलसी पास गर्ने ५४ जना छन् । प्रमाणपत्र तह अथवा प्लस टु गर्ने ९७ जना, स्नातक तह उतिर्ण एक सय ९७ जना छन् ।
स्नातकोत्तर तह उतिर्ण एक सय ३९ जना छन् । त्यस्तै विद्यावारिधि गर्ने १६ जना छन् । त्यस्तै ३७ जना सांसदले संसदमा आफ्नो शैक्षिक योग्यता समेत उल्लेख नगरी बिवरण उपलब्ध गराएका छन् । विवरण बुझाएका कतिपय सांसदले आफ्नो योग्यता पनि गलत बुझाएको सचिवालय श्रोतले जनाएको छ । ‘शैक्षिक प्रमाणपत्र माग्ने चलन छैन, उहाँहरुले जे भन्नुहुन्छ त्यहि लेख्ने हो, तर नेताले नै ढाँट्छन् हामी के गर्ने ?’ उक्त श्रोत भन्छ ।
एसएलसी पनि पास नभएका सांसदहरु
एसएलसी पनि पास नभएका सांसदमा तराई मुलका धेरै छन् । त्यसमा पनि महिला सांसद धेरै छन् ।

अमरसिंह पुन, अमेरिका कुमारी, अमृत बोहरा, इन्द्र झा, उषा गुरुङ, कमला देवी महत्तो, कमला दोङ, कल्पना सोब, चन्द्रबहादुर गुरुङ, जन्नतन निसा धुनिया, दिलशोभा धुनिया, दुर्गा खुना, देवकरण कलावार, धना पहरी, पुनाराम थापा प्रमिला देवी दास, फुलझिरी देवी, महेन्द्र कुमार लिम्बु, राजकुमारी गदेरिया, रामअवतार पासवान, राममाया बोगटी, रेशमबहादुर बोगटी, ललितजंग शाही छन् । त्यस्तै लक्ष्मी देवी भण्डारी, लिला कोइराला, बिचारी यादव, शान्तीदेवी चौधरी, साबित्री चौधरी, सुवर्ण ज्वारचन, सोनिया यादव, श्रीकान्त पासी, ज्ञानकुमारी छन्त्याल, ज्ञानबहादुर भुजेल, ज्ञानुदेवी गैरे लगायत सांसद एसएलसी पनि उत्तीर्ण छैनन् ।
तथ्याङ्कमा सांसदको शैक्षिक योग्यता
५९८ सांसद मध्ये
एसएलसी भन्दा कम ५८
एसएलसी ५४
प्रमाणपत्र तह ९७
स्नातक १ सय ९७
स्नातकोत्तर १ सय ३९
विद्यावारिधि १६
उल्लेख नभएको ३७
onlinebhaktapurnews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget