१८ मंसिर, काठमाडौं । पेरिसडाँडामा जारी एमाओवादीको बैठकमा दिनहुँजसो रमाइलो भइरहेको छ । अध्यक्ष प्रचण्डले पेश गरेको प्रतिवेदनबारे बोल्ने बाहनामा नेताहरुले आ-आफ्ना मनका भँडास पोख्ने क्रममा कसैले कथा सुनाउने गरेका छन् त कसैले टुक्का । यही सिलसिलामा वौद्धिक नेता राम कार्कीले शुक्रबार निकै रमाइलो गरे ।
एमाओवादी अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्ने नेता कार्कीले बैठकमा भने, ‘अध्यक्षज्यू तपाई र बाबुराम दुईजना भएर अहिलेसम्म कोठाभित्र बक्सिङ खेल्नुभयो, अब फुटबल खेल्नोस् ।’
बक्सिङ खेल्दा एकान्तमा दुईजनामात्रै भिड्ने भएकाले त्यो सामुहिक नहुने कार्कीले बताए । उनले भने- ‘अब फुटबल खेल्नोस्, त्यो सामुहिक पनि हुन्छ र हामी दर्शकहरुले पनि हेर्न पाइन्छ ।’
विगतमा पार्टी सामुहिकरुपमा नचलेको र प्रचण्ड-बाबुरामका वीचमा मात्रै केन्दि्रत भएको संकेत गर्दै कार्कीले अब पार्टीमा महान बहस सुरु गरिनुपर्ने बताए ।
कार्कीले पेरिसडाँडा बैठकमा भने- ‘साथीहरु प्रचण्ड र बाबुरामले बिगारे भन्नुहुन्छ, प्रचण्ड र बाबुरामले बनाउँदा बनिने र बिगार्दा बिगि्रने यो कस्तो पार्टी हो ? के यो बाबुराम र प्रचण्डको निजी प्रोजेक्ट हो ? हामी यहाँ भएका यतिका मान्छेहरु के हौं ?’
आफूले डा. बाबुराम भट्टराईको आलोचनामा केही पनि नबोल्ने कार्कीले बताए । आलोचना गर्नेहरुले पनि भोलि बाबुरामजीसँग सँगै बस्दा लज्जित नहुने गरी बोल्नुपर्ने उनले सुझाब दिए ।
कम्युनिष्ट, स्त्री जाति र पहिचान
एमाओवादीभित्र वैचारिक नेताको पहिचान बनाएका नेता कार्कीले कम्युनिष्टहरुले अब जातीय पहिचानका विषयमा समेत बहस गर्नुपर्ने बताए । ‘एउटी स्त्रीलाई तपाई मान्छे हो भन्दा होइन भन्छे, एशियन हो भन्दा होइन भन्छे,’ उनले बैठकमा भने- ‘ऊ म महिला हुँ र मलाई महिला अधिकार चाहियो भन्छे । के कम्युनिष्ट भनेको यस्तै हो ? मधेसीले पनि यसै भन्छन्, जनजातिले पनि यसै भन्छन्, हामी कम्युनिष्टहरु पूर्ण मान्छे कहिले हुने ?’
प्हिचानका नाममा भइरहेको विभाजनलाई व्यंग्य गर्दै कार्कीले भने-‘म कार्की क्षेत्री हुँ, अझै टाढा जाँदा म मुडुला कार्की हुँ, अझै पर जाँदा ओखलढुंगाको कार्की हुँ । यस्तो तरिकाले हामी कम्युनिष्टहरु कहाँ पुग्छौं ?’
बाबुराम मुसो, हामी मान्छे: डिलाराम
बैठकमा बोलेका अर्का केन्द्रीय सदस्य तथा पूर्व मसाल नेता डिलाराम आचार्यले चाँहि डा. बाबुराम भट्टराईलाई मुसोसित तुलना गरे ।
बैठकमा कथा सुनाउँदै आचार्यले भने- ‘एउटा जहाजमा आगो लागेछ । मुसोचाँहि डराएर पानीमा हाम्फालेछ, मानिसहरु चाँहि आगो निभाउनेतिर लागेछन् । बाबुरामजी मुसोजसरी जहाजबाट हाम्फाल्नुभयो, हामी आगो निभाउनेतिर लाग्नुपर्छ ।’
त्यसैगरी पूर्वएमाले नेतृ उर्मिला अर्यालले निराशा व्यक्त गर्दै एमाओवादीभित्र आफूले धेरैवटा स्वार्थ समूहहरु देखेको बताइन् । उनले भनिन्- ‘यो पार्टीमा त प्रचण्ड र बाबुरामका दुई गुटमात्रै होलान् भन्ने ठानेकी थिएँ, बिराटनगर सम्मेलनमा गएपछि पो थाहा भयो, प्रचण्डसमूहभित्रै पनि विभिन्न गुट र स्वार्थ समूहहरु रहेछन् ।
onlinekhabar
Post a Comment