तर, बीरगञ्ज नाका खुल्नु भन्दा पहिलेसम्म प्रमको भारत भ्रमणलाई लिएर अन्यौलता छाएको थियो । भ्रमण हुन्छ कि हुंदैन भन्ने भ्रम रहेको थियो । प्रम ओलीले बीरगञ्ज नाका सहज नभएसम्म भारत भ्रमण नगर्ने चेतावनी दिएपछि भारत निराश र चिन्तित बनेको थियो । एमालेले पनि नाकाबन्दी भएको बेला भारत भ्रमण नगर्न दबाब दिंदै आएको थियो । तर, अचानक एक दिन बीरगञ्ज नाका खुल्यो । प्रधानमन्त्री खुशी भए । भारत खुशी भयो तर मधेशी मोर्चाबीच खैलाबैला मच्यो । मोर्चाले औपचारिक बैठक गरि नाका खोल्नुपर्ने अभिव्यक्ति दिएका राजेन्द्र महतोविरूद्ध कारवाहीको प्रक्रिया अगाडि बढायो । उनलाई निर्देशात्मक चेतावनी दिइयो ।
ओलीलाई पहिले भारत भ्रमण गराउने कि पहिले चीन भ्रमण गराउने भन्ने विषयमा दुई छिमेकी मुलुक बीच प्रतिस्पर्धा नै चलेको थियो । ओलीले पहिले भारत भ्रमण नगरेर चीन जान लागेको खबरहरू बाहिर आउन थालेपछि भारत झस्केको थियो । भारतीय विपक्षी पार्टीहरूदेखि लिएर भारतीय मिडियाहरूसम्मले ओलीको प्रस्तावित चीन भ्रमणलाई लिएर आशंका व्यक्त गर्दै थिए । चीनले पनि आफ्नो तर्फबाट ओलीको चीन भ्रमणको लागि विशेष तयारी शुरू गरि सकेको थियो । चीन नेपाल बीच विभिन्न सम्झौताको खाका पनि तयार गरिसकेको थियो । ओलीको भारत भ्रमण भन्दा पहिले चीन भ्रमण होस् भनेर चिनियां दूतावास पूरा प्रयासमा लागेको थियो । ओलीले पनि नाकाबन्दी नखुले पहिले चीन भ्रमणबाटै आफ्नो विदेश यात्राको सुरूआत गर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए । उता नाकाबन्दी तत्काल नखुलोस् भनेर चिनियां राजदूतावासले मधेशी मोर्चामा आफ्ना नजदीकी उपेन्द्र यादवलाई प्रयोग गरेका थिए ।
शुरू देखिनै नाकाबन्दीको विरोधमा रहेका उपेन्द्र यादवले कैयौं पटक नाका सहज हुनुपर्छ, नाकाबन्दीले देशलाई नोक्सानी भईरहेको छ, पहाडको जनजीवन कष्टकर भईरहेको भन्दै नाका खोल्नुपर्ने पक्षमा थिए । तर प्रधानमन्त्रीको भारत भ्रमणको कुरा आएपछि अचानक उनी नाकाबन्दी झन् कडा पार्ने र बीरगञ्ज नाका तत्काल नखोल्ने अभिव्यक्ति दिन थाले । प्रधानमन्त्री ओलीले नाकाबन्दी नखुले र बीरगन्ज नाका सहज नभए भारत भ्रमणमा जान अप्ठ्यारो मानिरहेका थिए । तर चिनियां दूतावासको रणनीतिमा काम गरिरहेका उपेन्द्र यादवले बिराटनगरदेखि बीरगञ्ज सम्मको कार्यक्रम र पत्रकार सम्मेलनमा बीरगञ्ज नाका कुनै हालतमा नखुल्ने बताउंदै आएका थिए । प्रधानमन्त्री ओलीको भारत भ्रमण रोक्ने अभियानमा लागेका उपेन्द्र यादवको नाका सम्बन्धी पछिल्लो अभिव्यक्तिले सबै आश्चर्यचकित थिए । उनी कुनै पनि हालतमा ओलीको भारत भ्रमण नहोस र पहिले चीन भ्रमण होस् भन्ने योजनामा लागि परेका थिए । यसका लागि जसरी भएपनि बीरगञ्ज नाका बन्द गरेर ओलीको भारत भ्रमणको योजना असफल बनाउने प्रयासमा थिए ।
कसरी तुहियो उपेन्द्रको योजना ?
चिनियाँ राजदूत
चिनियाँ राजदूत
उपेन्द्र यादवले कुनै हालतमा पनि नाका नखुल्ने अभिव्यक्ति दिई रहंदा एक दिन अचानक मोर्चामा उनकै सहयात्री राजेन्द्र महतोले बिराटनगरमा बीरञ्गज नाका खुल्ने अभिव्यक्ति दिए । आफूले बीरगञ्जमा बसेर नाका बन्द गरेको र मोर्चाका कुनै शीर्ष नेताले साथ नदिएको, बिराटनगर नाका बन्द गर्न जांदा मरणासन्न हुने गरि प्रहरीले कुटेको तर मोर्चाका कुनै नेताले हालखबर पनि नसोधेको र अहिले आफू माथि नाका खोल्न चर्को दबाब परिरहेको बेला उपेन्द्र यादवदेखि महन्थ ठाकुरले काठमाडौंमा बसेर बीरगञ्ज नाका बन्द गर्ने भाषण दिएको भन्दै राजेन्द्र महतोले कि त सबै नाका बन्द गर्नु पर्यो कि बीरगंज नाका खोल्न दिनुपर्यो भन्ने अभिव्यक्ति दिएका थिए । महतोले अभिव्यक्ति दिएको २४ घण्टा नबित्दै बीरगंज नाका सहज भएको थियो । नाका सहज हुनासाथ चिनियां ग्राण्ड डिजायनमा ओलीको भारत भ्रमण रोक्ने योजना असफल भएपछि उपेन्द्र यादव बौखलाएका थिए । उनले तत्काल बीरगंजमा रहेका आफ्ना नेता कार्यकर्ताहरूलाई नाका पुनः बन्द गराउन निर्देश दिएका थिए । तर महतोले बीरगंज र रक्सौलका स्थानीयवासीसंग बनाएको सम्बन्धका कारण उपेन्द्र यादवको केही चलेन । उल्टै उपेन्द्रका कार्यकर्ता नाकाबाट लखेटिएका थिए ।
उपेन्द्रले किन गरे महतोमाथि कार्रवाही ?
राजेन्द्र महतोको अभिव्यक्तिपछि उपेन्द्र यादवको प्रधानमन्त्री ओलीलाई भारत भ्रमणबाट रोक्ने योजना तुहिएपछि उनी महतोविरूद्ध खनिए । सार्वजनिक रूपमै उपेन्द्र यादवले महतोलाई ओली र प्रचण्डसंग मिलेर नाका खोलाएको, मधेश आन्दोलनलाई तुहाएको आरोप लगाए । उपेन्द्र यादवले आफ्ना नजिकका मिडियाहरूलाई भनेर महतोले राजतन्त्र फर्काउनको लागि ओली र कमल थापासंग मिलेको समाचार प्रचारित गर्न लगाएका थिए । तर यो युक्ति काम नलागेपछि उनले मोर्चाबाटै महतोलाई निष्कासन गर्ने तयारी गरे । यति सम्म कि उनी पटनाबाट फर्किए लगत्तै लैनचौर पुगेर भारतीय राजदूत रञ्जीत रेसंग भेट गरि महतोविरूद्ध खनिएका थिए । उनले महतोमाथि मोर्चाको आचारसंहिता विपरीत कार्य गरेको र मोर्चाको निर्णयमा नाका खोल्ने भनिएपनि महतोले आफूलाई जस दिनको लागि नाका खोलाएको आरोप लगाए । भारतीय दूतावासमै उपेन्द्र यादवले महतोसंग अब काम गर्न नसकिने बताउंदै कि त महतोलाई मोर्चाबाट निकाल्ने कि आफूले मोर्चा छोड्ने चेतावनी दिएका थिए । तर भारतीय राजदूतले यस्तो नगर्न दबाब दिएका थिए । भारतीय राजदूतको दबाबका बावजूद उपेन्द्रले महतोलाई जानकारी नै नदिई महन्थ ठाकुरको घरमा तीन अध्यक्षको बैठक डाकेर महतोविरूद्ध कार्यवाही प्रक्रिया अगाडि बढाएका थिए । उपेन्द्र, महेन्द्र र महन्थले महतोलाई मोर्चा नीतिको खिलाफ काम गरेको भन्दै मोर्चाबाट बाहिर निकाल्ने निर्णय समेत गरिसकेका थिए । तर तीनै अध्यक्षले यस्तो आंट गर्न सकेनन् । यद्यपि महतोलाई स्पष्टीकरण सोध्ने र सार्वजनिक माफी माग्न लगाउनेसम्म निर्देश गरेका थिए तर महतोले यो केही मानेनन् । आफ्नो इज्जत जोगाउनपछि मोर्चाले महतोलाई निर्देश जारी गरेको थियो ।
उपेन्द्र अचानक किन उडे सिंगापुर ?
प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई रोक्न लागि परेका उपेन्द्र यादव असफल भएपछि चिनियां राजदूत उनीसंग रिसाएका छन् । चिनियां राजदूतावासमा आफ्नो राम्रो छवि बनाएका उपेन्द्र यादवलाई यसपाली ठूलो धक्का लागेको छ । मोर्चामा आफ्नो राम्रो पकड बनाएका र जे चाहे त्यही गर्न सक्ने भन्ने उनको कुरा फेल खाएपछि चिनियां दूतावास पनि उनीसंग झस्किएका छन् । आफ्नो बिग्रेको छवि बनाउन अहिले चिनियां सरकारका केही उच्च अधिकारी भेट्न सिंगापुर उडेका छन् । उनीसंगै चिनियां दूतावासका एक अधिकारी पनि गएको स्रोतले बताएको छ ।
dainiknepal
Post a Comment