उनीहरुले प्रधानमन्त्री ओली विना तयारी र विना एजेण्डा भ्रमण जान लागेकाले जुनसुकै सम्झौता हुनसक्ने चेतावनी दिँदै दिर्घकालिन रुपमा असर पार्ने कुनै सम्झौता नगर्न सुझाव दिएका हुन् ।
बिहीबार संयुक्त जनवादी युवा मोर्चाले संवाद डबलीको हलमा आयोजना गरेको कार्यक्रममा बोल्दै परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपाल भारतबीचको सम्बन्ध नेपालीले नबिगारेकाले सम्बन्ध सुधारको विषय उठाउँन आवश्यक नभएको बताए ।उनले अब भारतसँग राम्रो तयारी गरेर २१ औँ शताब्दीको आवश्यकताअनुसार सम्झौता गर्नुपर्ने बताए । सीमाविद् बुद्धिनारायण श्रेष्ठले प्रधानमन्त्रीको भ्रमण कुनै एजेण्डामा तयारी नगरी हुन लागेकाले जस्तोसुकै सम्झौता हुनसक्ने भन्दै दिर्घकालिन असर पार्ने कुनैपनि सम्झौता गर्न नहुँने बताए ।
‘ऐण्डाविनाको भ्रमण डरलाग्दो हुन्छ, ऐण्डासहितको भ्रमण भएमा सम्बन्धित विषयमा केन्द्रीत हुन्छ तर यो भ्रमणमा जतिबेला जुनसुकै सम्झौता पनि हुनसक्छ, सबै सतर्क हुनुपर्छ’ श्रेष्ठले भने ।
उनले विगतमा भएका सम्झौताले पारेको नकारात्मक असरबारे भने कुरा राख्नुपर्ने बताए ।
भारतीय प्रधानमन्त्रीले नेपाल भ्रमणका क्रममा गरेका सम्झौता किन कार्यन्वयन हुन सकेन, भारतले जङ्गे पीलरसँगै जोडेर गर्न लागेको सडक विस्तार, नेपाललाई बेवास्ता गर्दै लिपुलेकबारे गरिएको सम्झौता, भारतीय सुरक्षाकर्मीले नेपाली नागरिकमाथि गर्दै आएको ज्यादतीबारे भ्रमणको क्रममा स्वाभिमानकासाथ कुरा उठाउनु पर्ने श्रेष्ठले बताए ।
राजनीतिक अभियान्ता साध्यबहादुर भण्डारीले हालसम्मका प्रधानमन्त्रीले भारत भ्रमणमा गएर सम्मानकासाथ आफ्नो कुरा राख्न नसकेका बताउँदै नेपाललाई भारतले सधै आफ्नो दास देख्न गरेको दाबी गरे । भण्डारीले प्रधानमन्त्री ओलीको भ्रमणलाई सद्भावमा सिमित गर्नुपर्ने बताउँदै, ‘ओली जीले सक्छन् भने नेपालको संविधानमाथि औला उठाउँदै, अबदेखि नाकाबन्दी गर्दैन भन्ने भन्नेकुरामा भारतलाई सहमति गराउँनुपर्छ’ भण्डारीले भने ।
उनले भारतीले नेपालमा ५५ प्रतिशत फोहर गर्ने गरेको र त्यो फोहर नेपालीले उठाउने गरेको बताए । कार्यक्रममा नेपाल बौद्धिक मञ्चका अध्यक्ष डा। केवी रोकायाले प्रधानमन्त्री केपी ओलीले अरुका सुझाव नमान्ने भएकाले कुनै सुझाव दिन आवस्यक नभएको बताए । ‘नेपाली शासक भारतीय शासकका दालल हुन्, ओली पनि नेपाल र नेपालीको हित भन्दापनि मालिकलाई अहिलेसम्मको रिपोर्ट पेस गर्न जान लागेका हुन्’ रोकायाले भने ।
उनले अहिलेको राजनीतिक नेताहरुले नेपाल र नेपालीलाई आत्मनिर्भर नबनाउने भन्दै विकल्पबारे सोच्न युवाहरुलाई आग्रह गरे । ‘नेपाली नेताहरु एकपछि अर्को भारतनिर्भर हुँदै गएका छन्, ओली जी पनि भारतनिर्भर भएकाले कुनै आशा गर्न सकिँदैन’ उनले भने । रोकायाले प्रधानमन्त्री ओली अहिलेसम्मका कामको रिपोर्ट पेश गर्न बाँकी कामको अनुमतिको लागि भारत भ्रमण जान लागेको आरोप लगाए । बामबुद्धिजीबी अमृत पुरीले प्रधानमन्त्रीको भ्रमणबाट केही नयाँ आश गर्ने ठाउँ नभएको बताए । ‘ओलीले भारत गएर नेपाली जनताको पक्षमा नयाँ सम्झौता गर्लान भन्ने त पटक्कै विश्वास छैन, ओलीले भारत जादा पनि गाउँखाने कथा र टुक्का भनेरै जानु हुन् र फर्कदा पनि’ पुरीले भने ।
भारत भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले गुजरातको अवलोकन गरेर नयाँ गाउँखाने कथा तयार गर्नुभन्दा विज्ञहरुलाई अवलोकन गराउँदा देशलाई फाइदा पुग्ने पुरीले बताए । पूर्वीय दर्शनका अभियान्ता तथा धर्मसभाका अध्यक्ष विष्णुराज पाण्डेले वर्तमान नेपाली नेताले देशको हितभन्दा आफ्नो स्वार्थको लागि काम गर्ने भएकाले प्रधानमन्त्रीको भारत भ्रमणबाट आशा गर्न नसकिने बताए ।
कार्यक्रममा एमाओवादीका केन्द्रीय सदस्य किशन शर्मा, संयुुक्त जातिय मोर्चा, नेपालका अध्यक्ष विजय थापा, गोरख बिसी केबी भट्टराईले प्रधानमन्त्रीको भारत भ्रमणलाई सद्भाव भ्रमणमा सिमित गर्नुपर्ने बताए ।
आयोजक संगठन जनवादी युवा मोर्चाका अध्यक्ष हरिबहादुर बोहराले प्रधानमन्त्रीले नेपालको हितविरुद्धमा सम्झौता गरेर फर्के एयरपोटमा कालो झण्डा देखाएर बहिस्कार गर्ने बताए ।
dainiknepal
Post a Comment