ज्याला माया मारेर खेलाडीको स्वागतमा
बिहीबार ६ फागुन, २०७२
झापा— 'यहाँ के भयो हौ ? केको भीड हो यो ?,' चलाउँदै गरेको रिक्सा रोकेर उनले भीडतिर प्रश्न तेस्र्याए । 'दाइ, फुटबलमा भारतलाई हराउने टोली अहिले एकछिनमा यहाँ आइपुग्छ । उनीहरूलाई नै स्वागत गर्न बसेका हुन् सबै,' भीडबाट आएको उत्तर थियो यो । 'होइन होला हौ,' उनले पत्याएनन् । नजिकै उभिएका १ जना सशस्त्र प्रहरीलाई उनले सोधे, 'सर, त्यो अस्ति इन्डियालाई हराउने खेलाडी आउँदैछ रे हो ?'
प्रहरीले पनि स्वीकृतिसूचक टाउको हल्लाएपछि उनको अनुहारको भाषा नै अलग भयो । 'ओ हो, त्यसो भए बसिन्छ यतै' भन्दै उनले रिक्सा एकछेउमा थन्क्याए । नजिकै उभिएका १ जना विद्यार्थीसँग अलिकति फुल मागेर त्यही लाइनमा उनी लामबद्ध बने, जहाँ लगभग १ घण्टादेखि सयौं सर्वसाधारण साग विजेता फुबटल टोलीलाई पर्खिरहेका थिए । काँकडभिट्टा–पानीट्यांकी रुटमा दिनहुँ रिक्सा ओहोरदोहोर गरेर गुजारा चलाउने मेचीनगर–११ का ५६ वर्षीय सुकदेव राजवंशीले बुधबार दिनभर काम छाडे । 'हामीलाई पारि जान पनि नदेर कस्तो दुःख दे'को थ्यो, हाम्रा खेलाडीले चखाइदिए,' लाइनमा बसेका उनी स्वादिलो शैलीमा भन्दैथिए, 'उनीहरूलाई यहीं भेट्न अरूबेला कहिले पाउनु ? बरु, १ दिन काम छाडिन्छ ।'
बुधबार यसरी ज्याला माया मारेर आफ्ना प्रिय युवा खेलाडीको स्वागतमा आउने मजदुर धेरै थिए । त्यसमा पनि रिक्सा मजदुर जो भारतको पानीट्यांकी नाकामा लगभग दिनहुँजसो भारतीय सुरक्षाकर्मी र स्थानीय गुण्डाको अपमान भोग्न बाध्य हुन्छन् । अझ नाकाबन्दी अवधिमा त उनीहरूले भोगेको सास्ती झन् ठूलो थियो । ठूला राजनीतिक मुद्दासँग विरलै मात्रै परिचित हुने यी निरक्षर मजदुर फुटबलको जितलाई नाकाबन्दीको जवाफ ठानेर दाँजिरहेका थिए । सायद उनीहरूभित्रको राष्ट्रियता यहाँ जागृत भइरहेको थियो । त्यसैले वृद्ध रिक्सा चालक पनि तन्नेरीसँग लय मिलाउँदै थिए, 'यो जित कसको ? नेपालको, कसले हा¥यो ? भारतले ।'
हात–हातमा पुष्पगुच्छा बोकेका हजारौं सर्वसाधारणले झन्डै ३ घण्टा लामो प्रतीक्षापछि आफ्ना खेलाडीलाई मेचीको पुलमा न्यानो स्वागत गरे । कोही अबिर बोकेका, कसैले खादा लिएकाहरूको भीड छलेर प्रहरी खेलाडी चढेको गाडी अघि बढाउने योजनामा थियो । उनीहरूले रोके र खेलाडीलाई बाहिर आउन भने । प्रशिक्षक राजु शाक्य बाहिर निस्कनासाथ उनलाई एउटा हुलले उचाल्यो र नारा लगायो, 'राजु तिमी अघि बढ, नेपाल तिम्रो साथ छ ।'
१२औं दक्षिण एसियाली खेलकुद (साग) को फुटबल विजेता टोली स्वदेश आइपुग्नासाथ काँकडभिट्टामा उत्सवको माहोल सुरु भयो । जितको नारा घन्कियो । प्रत्येक खेलाडीलाई उचाल्दै सर्वसाधारणले अंगालो मारे । खादा लगाइदिए । धेरै युवा खेलाडीलाई उपस्थित अधिकांशले म्वाइँ नै खाइदिए । यो सबै दृश्य हेरिरहेका पाकाहरू यस्तो उत्सवको माहोल सहरमा कहिल्यै नदेखेको बताइरहेका थिए । 'आन्दोलन भयो, गणतन्त्र, प्रजातन्त्र आयो तर यस्तो माहोल कहिल्यै देखिएको थिएन,' मेचीनगर–१० का ७५ वर्षीय देवीप्रसाद उप्रेतीले भने, 'यी खेलाडीलाई आज सबैले आशिर्वाद दिइरहेका छन् । मैले पनि दिएँ ।' पाका, बालबालिका, युवा, राजनीतिज्ञ, विभिन्न पेशाकर्मी, मजदुर सबैले फुटबल खेलाडीलाई भव्य स्वागत गरे नाकामा ।
साग च्याम्पियन बन्न सफल नेपाली युथ–२३ फुटबल टिम गुवाहाटीबाट बाघडुग्रा विमानस्थल हुर्दै पूर्वी काँकडभिट्टा नाका भएर घर फर्किएको हो । हात–हातमा नेपाली राष्ट्रिय झण्डा बोकेकाहरूले न्यानो स्वागत दिँदा खेलाडी टोली पनि पुलकित थियो । 'काठमाडौंमा जितेर जाँदा यस्तो उत्सव देखिन्थ्यो,' टोलीका प्रशिक्षक शाक्यले भने, 'आज झापामा पाएको यो न्यानो माया हाम्रा लागि थप ऊर्जा बन्नेछ ।'
नेपाली फुटबलमा नवयुग सुरु भएको प्रतिक्रिया दिएका शाक्यले थपे, 'यो सुरुआत हो । हामीले अझै धेरै गर्नु छ ।'
मेचीपुलबाट मेची भन्सार परिसरसम्म दाँया–बाँया किनारमा सर्वसाधारण बसेका थिए । टोली गाडीबाट ओर्लिएलगत्तै गडगडावट ताली र हिपहिप हुर्रे, यो जीत कसको नेपालको' जस्ता नाराले स्वागत गरेका थिए । दिउँसो २ बजे काँकरभिट्टाको मेचीपुलमा आइपुगेको टोलीलाई नेपाल–भारत जोड्ने मेचीपुलको नेपाली भू–भागबाट हिँडाएर र बोकेर अबिर यात्रासहित काँकरभिट्टासम्म ल्याइएको थियो। फाइनलमा गोल गर्ने प्रकाश बुढाथोकी र नवयुग श्रेष्ठलाई बोकेर–उचालेर स्वागत गरेका थिए। टोलीलाई इँटाभट्टा, धुलाबारी, चारआली, विर्तामोड, गरामनी हुँदै दिउँसो ३:५४ को बुद्घएयरमार्फत टोली राजधानी प्रस्थान गरेको थियो।
nagariknews
Post a Comment