राजुलाई फाप्यो ६ नम्बर
बेल्जियन प्रशिक्षक प्याटि्रक ओजेम्सले नै साग फुटबलसम्म नेपाली टिमलाई हेर्ने भन्ने थियो। तर उनी भारतमा भएको साफ च्याम्पियनसिपपछि घर फर्के, नेपाल आएनन्। त्यसपछि एन्फाले साग खेलकुदको मिसन सम्हाल्न ५५ वर्षे राजु शाक्यलाई नै प्रशिक्षक बनायो।
त्यतिबेला बंगबन्धु गोल्डकपमा प्रशिक्षक पद सम्हाल्न लाग्दैथिए बालगोपाल महर्जन। साग आयोजना हुने समयमा ए लाइसेन्स प्रशिक्षकको तालिम हुनेवाला थियो। उक्त तालिममा सहभागी हुनुपर्ने भएकाले बालगोपालले साग त्यागेका थिए।
साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएपछि नेपाली फुटबल आलोचित अवस्थामा थियो। तर त्यो आलोचना लामो समयसम्म लम्बिएन। नेपालले ढाकामा बंगबन्धु कप जित्यो। यसले सारा फुटबलप्रेमीमा खुसी ल्याइदियो।
बंगबन्धुको उपाधिले राजु शाक्य पनि खुसी भए। तर, उनका लागि त्यो खुसी एउटा ठूलो चुनौती पनि भइदियो। 'बंगबन्धु कपको जितमा रमाएका नेपालीलाई सागको नतिजाले पनि खुसी दिलाउन सक्नुपर्थ्यो, मलाई ठूलो दबाब महसुस भयो,' राजुले सम्झे त्यो क्षण।
बंगबन्धु कप चलिरहँदा नेपालले सागमा खेलाडीको नाम पठाइसकेको थियो। बंगबन्धु कप खेल्ने सबैजसो खेलाडी सागको टिममा थिए। सिर्फ तीनजना खेलाडी परिवर्तन भए। रविन श्रेष्ठ घाइते भएकाले उनलाई पनि टिममा राखिएन।
खेलाडी उही भए पनि टुर्नामेन्ट फरक थियो। फुटबलमा फरक टुर्नामेन्टको फरक केमिस्ट्री हुने गर्छ। एउटा टुर्नामेन्टमा राम्रो गरेको टिम अर्को टुर्नामेन्टमा तिनै प्रतिद्वन्द्वीहरुसँग खेल्दा पनि हार्नसक्छ। बंगबन्धुमा जितेको टिमले सागमा पनि जित्छ भन्ने ग्यारेन्टी थिएन।
प्रशिक्षण गर्नका लागि राजुको टिमलाई जम्मा चार दिन उपलब्ध थियो। लक्ष्य पूरा गर्न सजिलो थिएन। नराम्रो नतिजा निस्कियो भने करियरमै धब्बा लाग्ने सम्भावनालाई उनले बुझेका थिए। तैपनि दिइएको जिम्मेवारीबाट पन्छिने कुरा थिएन।
फ्रेन्ड्ली म्याच, साफ च्याम्पियनसिप र बंगबन्धु कपसमेत गरी नेपाली खेलाडीहरुले लगातार आठ खेल खेलिसकेका थिए। 'त्यसैले उनीहरुलाई हार्ड ट्रेनिङभन्दा पनि लाइट ट्रेनिङ र ट्याक्टिकल अभ्यासको खाँचो थियो,' राजुले यसरी बुझेका थिए। तर खेलाडीहरु सम्मान थाप्नमै व्यस्त रहे।
विदेशी प्रशिक्षक भएको भए खेलाडीहरुलाई सम्मान कार्यक्रममा जानबाट रोक लगाउँथे होला। राजुलाई चाहिँ के लाग्यो भने सम्मानहरुले खेलाडीमा उर्जा थपिन्छ। अझ मिहेनत गरेर खेल्ने प्रेरणा मिल्छ। बरु उनले खेलाडीहरुलाई भन्न थाले, 'सागमा जित्यौं भनेमात्र यो सम्मानको इज्जत हुन्छ है।'
काठमाडौंमा चार दिन सामान्य प्रशिक्षण गरेपछि नेपाली फुटबल टोली गुवाहाटी पुग्यो। त्यहाँ पनि तयारीका लागि नेपालले सिर्फ तीन दिन पायो। राजुले आफ्ना खेलाडीलाई तीन दिनसम्म स्थानीय हावापानीमा घुलमिल गराए।
सजिलो भुटान
भुटानले पछिल्लो समय आफ्नो फिफा वरियताक्रम बढाइरहेको थियो। नेपाललाई समेत उछिनेको थियो। तैपनि नेपालले भुटानसँग अहिलेसम्म एक खेल पनि हारेको छैन। त्यसैले राजुले भुटानलाई सजिलो प्रतिद्वन्द्वीका रुपमा लिए। उनले तनाव नलिएर हल्कासँग खेल्ने योजना बनाए।
राजुले भुटानको यु–२३ टिमले खेलेका विभिन्न मैत्रीपूर्ण खेलहरु युट्युबमा खोजेर हेरिसकेका थिए। 'भुटान ४–२–३–१ सिस्टमले खेल्दोरहेछ। ती खेल हेरेपछि मलाई उनीहरुका कमजोरीहरु थाहा भयो। त्यसैले भुटानलाई ५–० ले हराउनसक्यौं,' उनले थपे, 'भुटानलाई हराएपछि सेमिफाइनल पुग्यौं भनेर हामी ढुक्क भयौं। भुटानले बंगलादेशलाई ठूलो गोलअन्तरले हराएको खण्डमा मात्र हामीले अर्को खेलको परिणाम कुर्नुपर्थ्यो। तर भुटानले बंगलादेशलाई त्यति ठूलो अन्तरमा जित्न सक्दैन भन्ने निश्चित थियो।'
बंगलादेशसँगको हार
बंगलादेशसँग खेल्नुअघि दुइटा कुराको टुंगो लागिसकेको थियो। बंगलादेश र भुटानको खेल १–१ भएपछि नेपाल एक खेलअघि नै सेमिफाइनल पुगेको थियो। त्यस्तै समूह 'ए'मा माल्दिभ्स समूह विजेता र भारत उपविजेता भइसकेका थिए।
नेपाल समूह 'बी'को विजेता भएमा सेमिफाइनलमा भारतसँग र उपविजेता भएमा माल्दिभ्ससँग खेल्नुपर्थ्यो। त्यसैले कुन टिमसँग खेल्ने भन्ने बारेमा राजुले अफिसियल मिटिङ गराए। भारत नेपालको परम्परागत प्रतिद्वन्द्वी टिम। माल्दिभ्स चाहिँ बंगबन्धु कपमा हारिसकेको टिम।
तुलनात्मक रुपमा माल्दिभ्स नै सजिलो हुन्छ कि भन्ने राजुको अनुमान थियो। तर, अफिसियल विराटजंग शाही र खेलाडीहरुले 'होइन जितेर नै जाऔं। भारतसँग भिडौं' भन्न थाले। मिटिङले समूह विजेता नै बन्ने निर्णय गर्योक।
नेपालका तीन मुख्य खेलाडी विमल घर्ती मगर, अन्जन विष्ट र विकेश कुथु घाइते थिए। विमललाई राजुले आराम दिने निधो गरे। अन्जनले पनि खेलको अघिल्लो दिन राजुसँग 'म आराम गर्छु, बरु सेमिफाइनलमा मिहेनत गर्छु' भने।
बंगलादेशसँगको खेलको बिहान जब राजु सबै खेलाडीलाई ब्रिफिङ गरिरहेका थिए। गोलकिपर विकेश कुथुले पनि आफू पूरा फिट नभइसकेको बताए। विकेशले 'सेमिफाइनलका लागि खतरा नमोलौं, आज खेल्दिनँ' भने।
बेन्चमा बसेका खेलाडीहरुले पनि एक्सपोजर पाउने हुनाले उनलाई विकेशको तर्क ठिकै लाग्यो। आखिर नेपालले विमल, अन्जन र विकेशबिनै बंगलादेशसँग खेल्यो। तर नेपालले सुरुमै अग्रता लिए पनि खेल २–१ ले गुमायो। 'हामी खासै निराश भएनौं,' राजुले उक्त क्षणको अनुभव सुनाए, 'सेमिफाइनलमै ध्यान केन्द्रित गर्नुपर्छ भन्ने भयो।'
अद्भूत जित
बंगबन्धु कपमा माल्दिभ्सले नेपालसँग चार गोल खाएको थियो। उनीहरु मनोवैज्ञानिक दबाबमा थिए। हारको बदला लिने चुनौती पनि उनीहरुमाथि थियो।
'माल्दिभ्सको १४ नम्बर जर्सी लगाउने खेलाडी सबैभन्दा खतरानक थिए। उसलाई ब्लक गर्नसके हामी जित्छौं भन्ने थियो। त्यही नीतिअनुरुप खेल्यौं,' राजुले सुनाए।
पहिलो हाफमा दुई गोल गर्योि। अब खेल जितियो भन्ने महसुस राजुलाई भयो। तर एउटा गल्तीका कारण नेपालले गोल खायो। त्यसपछि कमल श्रेष्ठ रेड कार्ड पाएर बाहिरिए। नेपालको दुर्भाग्य, अर्को गोल पनि सामना गर्नुपर्योि। धन्न ९० मिनेटको खेल बराबरीमा टुंगिँयो। राजुले लामो सास फेरे।
'११ जनाविरुद्ध १० जना खेलाडी भिड्न गाह्रै हुन्छ। गोलकिपिङ प्रशिक्षक मृगेन्द्र मिश्र खेललाई टाई ब्रेकरतिर धकेल्नुपर्छ भनिरहेका थिए। पेनाल्टीमा हामी जित्छौं भन्ने मलाई पनि लाग्यो,' राजुले भने, 'त्यसैले माल्दिभ्सलाई कुनै हालतमा गोल गर्न नदिने योजना बुन्यौं।'
उनले अलि थकित खालका तीनजना खेलाडीलाई निकालेर फ्रेस र कुद्नसक्ने खेलाडी छिराए। खेल ठिकै चलिरहेको थियो। तर समय सकिनै लाग्दा माल्दिभ्सले तेस्रो गोल गर्योु।
त्यो गोलले राजुलाई गलायो। अब नसकिने भो, हार्यौंक भन्ने सोच उनमा पलायो। 'काठमाडौं फर्केपछि फुटबल गतिविधिबाट टाढिनुपर्छ भन्ने लाग्यो,' राजुको स्वर मसिनो हुँदैगयो, 'हाम्रो प्लेयर बक्समा पूरै निराशा छाइसकेको थियो।'
तैपनि अन्तिम क्षणसम्म पनि खेलाडीहरुले हरेस खाएनन्। लगालग दुई गोल थपे। खेल जित्यो।
'खेलपछि स्थानीय प्रहरी, आर्मी र सर्वसाधारणले हाम्रो खेलको खुब तारिफ गरे। 'यस्तो खेल त जीवनमै हेरेका थिएनौं' भन्नेहरु थुप्रै थिए। उनीहरुले 'गोल्ड मेडल नेपालकै हो' समेत भने,' यो सुनाइरहँदा राजु जोशिए।
फाइनल भिडन्त
भारत गोलअन्तरका आधारमा मात्र सेमिफाइनल पुगेको टिम थियो। दुई खेल हेरेको आधारमा राजुलाई भारत त्यति बलियो टिमजस्तो लागेको थिएन। तैपनि फाइनलमा जे पनि हुनसक्थ्यो।
सेमिफाइनलमा रेड कार्ड खाएका कमल श्रेष्ठको सट्टा कसलाई खेलाउने भन्ने ठूलो कन्फ्युजन भयो राजुलाई। 'गोलकिपर विकेशले 'मानबहादुर तामाङ ठिक छ, मसँग ट्युनिङ पनि मिल्छ' भन्यो। गोलकिपरले नै भनेपछि मैले मानबहादुरलाई नै डिफेन्समा खेलाएँ,' राजु ढुक्क थिए।
खेल सुरु भयो। मानबहादुरको दुर्भाग्य! भारतले उसकै साइडबाट धेरै बल निकालेर आक्रमण गर्न थाल्यो। ज्यान पनि बलियाबलिया। खेलमा पनि पकड। 'मैले केही दिनअघि हेरेको भन्दा भिन्न थियो भारतको खेल। भारत खेलमा बलियो साबित भएको देखेर मेरो दिमाग तात्यो,' राजुको अनुहारमा आक्रोश पोतियो।
त्यतिकैमा पेनाल्टी पाएर भारतले गोल गरिहाल्यो। भारतको आक्रमण टुटेन। राजुलाई पक्का भयो, 'अब हारिन्छ।' राजुले त्यसपछि मानबहादुर निकालेर प्रकाश बुढाथोकीलाई प्रवेश गराए। प्रकाशले खेल देखाउन थालिहाले। हाफटाइम हुनैलाग्दा नेपालको खेल बिस्तारै सुधि्रएर आयो।
'भारतको टिममा ६ र १० नम्बरका खेलाडी तगडा थिए। उनीहरुलाई जसरी हुन्छ रोक्नु पर्छ भन्ने थियो। भारतको डिफेन्स केही कमजोर थियो,' राजुले स्ट्राटेजी खुलाए, 'दोस्रो हाफमा आदित्य चौधरीलाई राइट, विराज महर्जनलाई लेफ्ट र विक्रम लामालाई सेन्ट्रल डिफेन्स राखेर प्रकाश बुढाथोकीलाई मिडफिल्डमा पठाएँ।'
आफूले पाएको बललाई खतरानक रुपमा अगाडि बढाउन सिपालु देखिए प्रकाश। राजुको तनाव घट्दैगयो। 'हामीले भारतलाई दुवै विङ्सबाट आक्रमण गर्ने र बलहरु क्रस गर्ने नीति लियौं। छोटो पास र आक्रामक खेल खेल्न थालेपछि भारतमाथि हामी हावी भइहाल्यौं,' राजुले कारण खुलाए।
त्यहीबेला नेपालले फ्रिकिक पायो। र प्रकाशले त्यसमा शान्दार गोल गरे। 'त्यो फ्रिकिक अद्भूत थियो। मैले त बल गोलपोस्टभन्दा बाहिर गयो भन्ने सोचेको थियो। तर, किपरलाई समेत जिल्ल पारेर गोल भएछ। म छक्क परेँ,' राजु हँसिलो मुद्रामा थिए।
पछि प्रकाशकै क्रसमा नवयुग श्रेष्ठले आकर्षक गोल गर्योन। त्यही गोलले भारतलाई भारतमै हराएर स्वर्णपदक जित्ने नेपालको सपना पूरा गराइदियो। त्यो गोल वास्तवमा 'गोल्डेन गोल' थियो।
खेल सकिएपछि भारतीय प्रशिक्षकले राजुलाई 'गुड गेम, गुड प्ले, बधाई छ' भने। भोलिपल्ट समापन समारोहमा समेत माल्दिभ्स र बंगलादेशका प्रशिक्षकले राजुलाई भेटेर नेपालको खेलको तारिफ गरे। अरु खेलका नेपाली खेलाडी तथा अफिसियलहरुले समेत फुटबलले नेपालको इज्जत धानिदियो भन्दै खुसियाली मनाए।
'मैले क्याप्ेटनका रुपमा स्वर्णपदक जितेको छैटौं साफमा हो। मैले लगाउने जर्सी नम्बर ६ नै थियो। यसपालि सागमा पदक जितेमा खेलाडी र प्रशिक्षकका रुपमा छैटौं पदक हुनेवाला थियो,' राजुले रहस्य खोले, 'मलाई ६ नम्बर फाप्छ। २०१६ मा पनि ६ अंक थियो। मलाई कताकता लागिरहेको थियो, कतै सोचेको कुरा पूरा हुन्छ कि? नभन्दै पूरा भयो।'
यो जितको श्रेय राजु नवयुग वा प्रकाशलाई मात्र दिँदैनन्। टिमका सबै खेलाडी र अफिसियलहरुले समान मिहेनत गरेकाले नै यो उपलब्धि हासिल भएको उनी प्रष्ट्याउँछन्। उनले संवाद टुंग्याए, 'यसको श्रेय नेपाली फुटबलप्रेमीहरुलाई समेत जान्छ। किनभने उहाँहरुले सधैं खेलाडीको उर्जा बढाउने काम गर्दै आउनुभएको छ।'
nagariknews
Post a Comment