लोकदोहोरी : गाउने भद्दा नाच्ने छाडा

लोकदोहोरी : गाउने भद्दा नाच्ने छाडा
लोकगीतले लोक, अझ भनौँ, नेपालीका दुःखसुखका कथा भन्नुपर्ने हो। हाम्रा मौलिकता र संस्कृतिलाई बचाउनुपर्ने हो। तर, अचेल लोकदोहोरीले संगीतकै हुर्मत लिन थालेको छ। लाजै त्यागेको छ लोकदोहोरीले। शब्द सस्ता र दुईअर्थी छन्। म्युजिक भिडियोहरू यति 'भल्गर' हुन्छन् कि तिनले शरमका सबै हद पार गरेका छन्। गीत सुनाउनभन्दा हेराउन चाहने बजारका खेलाडीहरूले लोकदोहोरीलाई बदनाम गरिरहेका छन्। डिबी खड्काले छाडापनमा बेहोस लोकदोहोरीलाई चाँडै नै होसमा ल्याउनुपर्ने आवश्यकता देखेका छन्।

ओई ज्योति, ओई ज्योति
देऊ न एकचोटि!
हट गायिकाको छवि बनाएकी ज्योति मगरलाई लक्ष्य गरिएका शब्द हुन् यी। शब्द पढ्दै लाजमर्दाे लाग्न सक्छ। यो गीत हो। पढ्दै लाजमर्दो यो गीत केही दिनमा सार्वजनिक रूपमै सुन्नुपर्नेछ। टीभीमा हेर्नुपर्नेछ। घरपरिवारसँगै बसेर रेडियो सुनिरहेको वा टिभी हेरिरहेको अवस्थामा यो गीत आयो भने लाजले मुख छोप्नुको विकल्प हुने छैन। तर, यो गीतका गायक/गायिका मात्रै होइन, उत्पादनकर्तासमेत सगर्व गीत बजारमा आउनुअघि नै प्रचारप्रसारमा जुटेको छ। गीत रेकर्डदेखि सुटिङसम्मको रिपोर्ट बनाएर सञ्चारमाध्यमबाट प्रचार गरिएको छ।

गीतका शब्द मात्रै छाडा छैनन्, यसको म्युजिक भिडियो त्योभन्दा लाजमर्दो छ। सुटिङका क्रममा खिचिएका केही दृश्यमा पुरुष मोडलसँग गायिका ज्योति मगरले प्रशस्त छाडापन प्रस्तुत गरेकी छिन्।

माथिको टुक्का केटाका तर्फबाट गाइन्छ। ज्योति आफैँले स्वर दिएको उक्त गीतमा जवाफ पनि कम 'भल्गर' सुनिँदैन। ज्योति गाउँछिन्ः

लोकल घिउ पनि खाइयो, विदेशी नि खाइयो
यो ज्योतिको बैँस धान्ने एउटा मर्द चाहियो

म्युजिक भिडियोमा 'छाडा'को संज्ञा पाइसकेकी ज्योति शब्दमा समेत छाडा हुन थालेपछि उनको आलोचना गर्नेको संख्या बढेको छ। यसअघिको उनको हर्कतलाई 'समयअनुसार' भनेर समर्थन गर्नेले पनि यसपल्ट भने आलोचना गरिरहेका छन्। अघिल्ला हर्कतमा जमेर प्रतिवाद गर्ने ज्योति आफैँलाई पनि यो कदम भने गलत लागेको रहेछ। अघिल्लोपल्टभन्दा बढी आलोचना खेपेर पनि होला, उनले शुक्रवारसँग भनिन्, 'मलाई पनि अलि बढी नै भयो कि जस्तो लागेको छ।'

पछिल्लो समय लोकदोहोरीमा दोहोरो अर्थ लाग्ने गीत धेरै बनेका छन्। तीमध्ये 'स्याउ ल्याइदिउँ्क कि केरा', 'सानु तिम्लाई गरेको गर्यैर छु' जस्ता शब्द राखेर बनाइएका गीतको बेलाबखत आलोचना हुने गरेको थियो। तर, यिनलाई पनि जित्ने 'सिरानी टाङमुनि', 'सिरक तानातान', 'ढाडे बिरालो' जस्ता गीत आए। प्रकाश कटुवाल र श्रीदेवी देवकोटाले गाउने गरेका यस्ता गीतको आलोचना भए पनि चाँडो चर्चा हुने भएकाले सोही मार्ग अपनाउने नयाँ कलाकार बढेका छन्। यो प्रवृत्तिलाई 'गलत साइडबाट गरिएको ओभरटेकको' संज्ञा दिन्छन्, चर्चित लोकदोहोरी गीतका सर्जक शिव हमाल। लोकदोहोरी प्रतिष्ठान उपत्यका समन्वय समितिका अध्यक्ष समेत रहेका हमाल भन्छन्, 'हामीले त्यो बाटो गलत हो भनिरहेका छौँ। पेलेर अघि बढेकाहरू आफैँ एक्सिडेन्टमा पर्छन्।'

गीतमा नेपालीको मौलिक पहिचान जोडिएको क्षेत्रमै आएको विकृतिको यो हदले यो क्षेत्रलाई आफ्नो जीवनपर्यन्त करिअर ठानेकाहरूलाई भने निराश बनाएको छ। गायक बद्री पंगेनी भन्छन्, 'नेपालको परम्परा, संस्कृति र मौलिकता जोगाउन हामी लोकगीतलाई सरकारले विशेष तरिकाले हेर्नुपर्छ भनेर लबिङ गरिरहेका हुन्छौँ। उता यसलाई मास्नेको भीड बढेको बढ्यै छ।' लोकदोहोरी प्रतिष्ठान केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्षसमेत रहेका उनले नियन्त्रण गर्नैपर्ने परिस्थिति आएको महसुस गरेका छन्।

दुईअर्थी मात्रै होइन, 'यस्तालाई गोली ठोक्नुपर्ने' जस्ता आपराधिक क्रियाकलापलाई प्रश्रय दिने शब्द प्रयोग गरेर समेत गीत बनाइएका छन्। त्यसैगरी 'तरुनीको जात', 'भैँसी साटेझैँ बूढी साट्न मिल्ने भए' जस्ता महिलामाथि विभेद गरिएका अभिव्यक्ति पनि गीतमार्फत दिन थालिएका छन्।

भर्खरै एउटा अर्काे गीत रिलिज भएको छ। लोकदोहोरीको हुर्मतै लिएको छ, त्यो 'दोहोरीमा र्या प' भन्ने गीतले। गीतका शब्द मात्रै ताई न तुईका छैनन्, र्यारपसमेत हानिएको छ। म्युजिक भिडियोमा त ज्योति मगर जोडिएपछि छाडापन सँगै आउने नै भयो।

हट एन्ड सेक्सी
लोकदोहोरी गीत हेर्छु/सुन्छु भनेर युट्युब खोल्न खोजियो भने प्ले बटन दबाउनुअघि पसिना छुट्न सक्छ। परिवारसँग वा कार्यालयमा भएका बेला त त्यो गीत हेर्ने आँटै गर्न सकिँदैन। किनभने, हरेक गीतअघि 'हट एन्ड सेक्सी लोकदोहोरी' जोडिएको छ। पछिल्लो समय अपलोड भएका हरेक गीत प्ले गर्नुअघि 'कतै हेर्न लाजमर्दाे त छैन' भनेर एकपल्ट सोच्नुपर्ने हुन्छ। लोक गायक मौसम गुरुङ पीर पोख्छन्, 'अब त आफूलाई दोहोरी गायक भन्न पनि अप्ठ्यारो लाग्न थाल्यो। कुनै लोकदोहोरीका गायक/गायिका, नायक/नायिका र निर्देशकको हर्कत देखेर गीत सुन्न र भिडियो हेर्न वरिपरि कोही छ कि भनेर नियाल्नुपर्ने अवस्था आयो।'

यो हट एन्ड सेक्सीको खेल भने म्युजिक कम्पनीको हो। यो खेलमा अंग प्रदर्शन परको कुरा, अनुहारसमेत राम्ररी देखाउन नचाहने विष्णु माझीजस्ता लोक कलाकार समेत परेका छन्। किनभने, युट्युबमा राख्नेले राखिदिन्छ, 'हट एन्ड सेक्सी सङ, गायिका विष्णु माझी।'

म्युजिक एरेन्जर विनोद बाजुरालीले यसलाई 'युट्युब युगको विकृति' ठानेका छन्। उनी भन्छन्, 'बहस गर्ने बेला पनि भएको छ– गीत सुन्ने हो कि हेर्ने हो?'

हट एन्ड सेक्सीको 'खेती' म्युजिक कम्पनी अर्थात् डिजिटल बजारका एजेन्टको हो। आफ्नो युट्युब च्यानलमा अपलोड भएको म्युजिक भिडियोमा आएका दर्शक संख्याका आधारमा युट्युबले पैसा दिने गरेको छ। गीतको मर्म जेसुकै होस्, गीत जस्तो सुनियोस् तर युट्युबमा हेरिनैपर्छ भन्ने मान्यता गति युट्युबमा अपलोड गर्ने अधिकार पाएको कम्पनीले गर्दा विकृति मौलाएको ठान्छन् बाजुराली।

नाच्नेभन्दा देखाउने अघि
लोकदोहोरी क्षेत्रमा कुनै समय थियो, नृत्यमा पारंगत युवतीले अवसर पाउँथे। सम्झना बुढाथोकी, पार्वती राईजस्ता नृत्यांगनाले सयौँ लोकदोहोरीका म्युजिक भिडियोमा नृत्य गर्ने अवसर पाएका थिए। यही कारणले लोकदोहोरीको स्रोता–दर्शक पनि बढेका थिए। तर, अहिले यी र यीजस्ता नृत्यांगनालाई अरूले नै उछिनिरहेका छन्।

लोकदोहोरी गीतमा अंग प्रदर्शन गरेकै कारण विवादित छवि बनाएकी ज्योति मगर अहिले सबैभन्दा धेरै म्युजिक भिडियो पाउने मोडलसमेत बनेकी छिन्। फिल्म क्षेत्रमा अंग प्रदर्शन गरेकै कारण टिक्न मुश्किल परिरहेको सुषमा कार्की लोकदोहोरीमा धेरै देखिने मोडल भएकी छिन्।

लोकदोहोरीलाई 'हट एन्ड सेक्सी' भनेर बेच्नेहरूले नाच्नेभन्दा पनि देखाउने मोडेल एक–एक गरी भिœयाइरहेका छन्। गीतसंगीतको क्षेत्रमा लामै समय बिताए पनि खास जम्न नसकेकी ज्योति मगरलाई यतिबेला भ्याइ–नभ्याइ छ। उनलाई गीत गाउन लगाउनेको ताँती एकातिर छ भने आफ्नो म्युजिक भिडियोमा अभिनय गराउन खोज्ने पनि उत्तिकै छन्। अहिले हप्तामा कम्तीमा एउटा उनी संलग्न रहेको गीत युट्ययुबमा अपलोड भइरहेको छ।

अर्चनालाई रातो कार्पेट
'पोर्नस्टार बन्छु' भन्दै अश्लील तस्बिर सार्वजनिक गरेकी अर्चना पनेरुसमेत लोकदोहोरीकी चल्तीकी मोडल भइसकेकी छिन्। उनले अभिनय गरेको 'ऐँचोपैँचो' नामक गीत रिलिज भएको छ । रिलिजका क्रममा थुप्रै म्युजिक भिडियो छन्। उनी रहेको लोकगीतको म्युजिक भिडियो सुटिङका 'सुटिङ रिपोर्ट' समेत आउन थालेका छन्। लोकदोहोरी गीतका विषयमा धेरै चासो र चिन्ता प्रकट गर्नेमध्येका एक ब्लगर दुर्गा पंगेनीको टिप्पणी छ, 'सनी लियोनलाई बलिउडमा एडजस्ट हुन जति गाह्रो भयो होला, अर्चना पनेरुलाइै लोकदोहोरी गीतमा भिœयाउन त्यति नै सहज भयो।' अर्चना जोडिएका हरेक कुरामा चासो हुन थालेपछि लोकदोहोरीमा उनलाई रातो कार्पेट बिछ्याउन समय लागेन।

गीतजस्तो भए पनि युट्युबमा म्युजिक भिडियो हेराउन खोज्ने म्युजिक कम्पनीको स्वार्थमा अर्चना पनेरु लोकदोहोरी गीतकी मोडल हुन आइपुगेकी हुन्।

भविष्यको चिन्ता
समसामयिक कुरालाई लोकगीतका माध्यमबाट प्रस्तुत गर्दै आएका पशुपति शर्मालाई लोकगीतको भविष्यको चिन्ता लाग्न थालेको छ। भन्छन्, 'यसरी क्षणिक चर्चाका लागि आउनेहरू त भविष्य हराउलान्। अहिले पीर उनीहरूसँगै लोकगीतकै भविष्य हराउला कि भन्ने छ।'

आफ्नोपन र मौलिकता भएकै कारण अहिले लोकदोहोरी देश–विदेशमा लोकप्रिय भइरहेको बताउँदै यस्तै हर्कत दोहोरिए सबैलाई समस्या हुने उनी बताउँछन्।

उट्पट्याङ काम गरेर चर्चामा आउनेहरू लोकगीतमा हाबी हुँदा प्रतिभावान कलाकार पछि पर्ने पीर म्युजिक एरेन्जर विनोद बाजुरालीको छ। उनी भन्छन्, 'राम्रो सिर्जना, स्वर र संगीतको महत्व नहुने हो भने राम्रो गर्न खोज्नेहरू पछि पर्छन्।'

कसरी राम्रो सिर्जना गर्नेभन्दा पनि कसरी धेरैलाई हेराउने भन्ने प्रतिस्पर्धा नयाँ पुस्ताका गायकमाझ बढिरहेको छ। यसले आगामी दिनमा राम्रो सिर्जनाको मूल नै सुकाउन सक्ने गीतकार शिव हमाल बताउँछन्। 'यतिबेला हामी बूढी मरी भनेर रोइरहेका होइनौँ, काल पल्क्यो भनेर रोएका हौँ। अब पनि केही गर्न सकिएन भने भावी पुस्ताका लागि आफ्नो कला– संस्कृति जोगाउन सक्दैनौँ।'

जस्तो पनि मोडेल, जो पनि गायक
नेपालका विभिन्न टेलिभिजनमा बिहानपख गीतको प्रोमो बजाउने समय हुन्छ। त्यहाँ हेर्नुहोस्, कस्ता गायक छन् र कस्ता मोडल छन्? यो विकृति समग्र गीतसंगीतमै मौलाइरहेको छ। लोकदोहोरीमा अझ बढी देखिन्छ। गायक बैकुण्ठ महतको 'कुर्ता सुहाउँछ' भन्ने गीतका पुरुष मोडलको अभिनय हेरेपछि संगीत व्यवसायी सुवास रेग्मीले फेसबुकमा व्यंग्य गरे, 'मोडल भाइ चैँ हुन् के – रामकसम।' म्युजिक भिडियो हेर्दा फिल्ममा समेत अभिनय गरिसकेकी शशि खड्कालाई समेत उनीसँग अभिनय गर्न हम्मे–हम्मे परेको प्रस्टै देखिन्छ।

जो पनि मोडल बन्ने यो परिपाटीको हैरानी लोदोहोरीका दुई चर्चित मोडल पार्वती राई र रश्मी तामाङले पनि बेहोरेका छन्। म्युजिक भिडियो सुटिङका लागि आवश्यक पैसा तिरेपछि मोडल हुन पाइने भएकाले जस्ता पनि मोडल हुन आउने गरेको मोडल राई बताउँछिन्। उनी भन्छिन्, 'सुरु–सुरुमा त कतिलाई सुटिङ स्पटमा पुगेर रिजेक्ट गरियो, कतिसँग रिसाइयो। तर, अब त बानी परिसक्यो।' उनले अभिनय गरेको गीत 'चट्ट परेर' हेर्दा पनि पार्वतीको पीडा बुझ्न सकिन्छ।

अभिनय र अनुहार कतैबाट पनि मोडल भन्न नसुहाउने त्यो गीतका पुरुष मोडलजस्ता थुप्रै झेलिसकेकी छिन् उनले। आफूसँग अभिनय गर्ने कुनै मोडलबारे केही टिप्पणी नगर्ने बताउँदै पार्वतीले भनिन्, 'इजी नभए बिजी हुन मुश्किल पर्छ। बिजी हुन सकिएन भने मुखमा माड कसरी लाग्छ?' अहिले समग्र संगीत क्षेत्र नै अनुहार देखाउने रहर गर्नेको हातमा परेको उनको ठम्याइ छ । धेरै म्युजिक भिडियो सुटिङमा यस्ता मोडलका कारण हैरानी खेपेको बताउने रश्मी तामाङले भनिन्, 'कतिले सुटिङ स्पटमा समेत लगानीको तुजुक देखाउँछन्। निकै समस्या पर्छ।'

सेन्सर बोर्डको माग
लोकगीतले नेपालको पहिचान पनि झल्काउने भएकाले यसमा आउने विकृतिका लागि सरकारी तहबाटै सचेत हुन जरुरी भएको गायक बद्री पंगेनी औँल्याउँछन्। उनको कुरामा पशुपति शर्माको पनि सहमति छ। 'हामीले लोकगीतको विकास र विस्तार भएसँगै नियन्त्रण पनि जरुरी छ भनिरहेका छौँ। यसका लागि सरकारले फिल्मको सेन्सर बोर्ड बनाएजस्तै कुनै निकाय बनाइदेओस्,' पंगेनी भन्छन्।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपाललाई त्यो तहको जिम्मा दिए पनि आफू तयार रहेको उनले बताए। आफूलाई लोकगीत भन्ने गीतले त्यसको न्यूनतम मर्म आत्मसात् गर्नुपर्ने व्यवस्थाले मात्रै अहिले स्थिति नियन्त्रण हुनेमा वरिष्ठ लोककलाकारहरूको मतैक्य छ।



'सेन्सरको व्यवस्था हुनुपर्छ'
बद्री पंगेनी, गायक
लोकदोहोरी गीतलाई यो अवस्थासम्म ल्याइपुर्यामउन हामीभन्दा अघिल्लो र हाम्रो पुस्ताले ठूलै संघर्ष गरेको छ। जसका कारण अहिले लोकगीत फुलेको मात्रै होइन, फैलिएको पनि छ। यही क्षेत्रमा विगत, वर्तमान र भविष्य देखेकालाई पछिल्लो समय देखिएका विकृतिले ठेस पुर्या्एको छ। राष्ट्रकै पहिचान बोक्ने लोक गीतसंगीतको मौलिकता जोगाउने चुनौती आत्मसात् गरेर अघि बढिरहेका बेला यसको अस्तित्व नै संकटमा पर्ने डर बढेको छ। त्यसैले यसमा आउन थालेका विकृति रोक्न राज्यले नै पहल गर्नुपर्छ।

'पीडा हुन्छ'
पशुपति शर्मा, गायक
अहिलेको अवस्थाले मलाई निकै पीडाबोध भएको छ । जथाभावी गर्नेहरूका कारण प्रतिभावान कलाकार पछि परिरहेका छन्। कला र गला भएकाहरू अग्रपंक्तिमा आउन नसक्दा गीतको गुणस्तर पनि कमजोर हुन्छ । चर्चाका लागि मात्रै सोच्ने संस्कृति मौलाउँदा यसले सिर्जना पनि असर गर्छ। चर्चा मात्रै कमाउन अनेक थोक गर्नेहरूको भविष्य लामो त हुँदैन तर यसले समग्र क्षेत्रकै भविष्यमा भने असर गर्छ। त्यसैले लोकदोहोरीलाई मनैदेखि माया गर्नेहरूले यो चरणमा केही न केही सोच्नैपर्छ।

'सिर्जना गर्ने निराश'
विनोद बाजुराली, संगीत संयोजक
लोकगीत सुनाउनभन्दा पनि हेराउन खोज्नेहरू हाबी भएका छन् अहिले। त्यसैले कर्णप्रिय संगीत र मन छुने शब्द भएका गीत ओझेल पर्न थालेका छन्। गीत सुनाउनभन्दा पनि हेराउन खोज्ने परिपाटीले समग्र गीतसंगीतको स्तर खस्किँदो छ। यही प्रवृत्ति बढ्दै गयो भने गीत हिट गराउन शब्द, संगीत र गायनमा दुःख गर्न छाडिएला कि भन्ने डर छ। वास्तविक सिर्जना गर्नेहरू निराश हुन सक्छन्। यसले समग्र संगीत क्षेत्रलाई क्षति पुर्यादउँछ।

'विकृति मौलायो'
शिव हमाल, गीतकार
जो अहिले चर्चाका लागि जथाभावी गरिरहेका छन्, उनीहरू गलत साइडबाट ओभरटेक गर्न खोजिरहेका छन्। गलत साइडबाट ओभरटेक गर्दा एक दिन दुर्घटना हुन्छ र उनीहरू सकिन्छन् नै। उनीहरूको आफ्नो भविष्य छैन तर यही क्षेत्रमा भविष्य खोजेर हिँडेकाहरूको भविष्य पनि उनीहरूले बिगारिरहेका छन्। हामीले त्यस्तो गर्नेलाई दुई दिनका पाहुना त हुन् भनेर छुट दिँदै आयौँ। जसकारण यो विकृति मौलायो। लोकदोहोरी गीतको मर्ममै प्रहार गर्न थाले। त्यसैले लोकगीतलाई लोकप्रिय नै राख्नका लागि हामीले कुनै न कुनै कदम चाल्नुपर्छ।
nagariknews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget