अदालतभित्र वकिलले पत्रकार कुटे
नयाँ दिल्ली- सुनुवाईका नयाँ दिल्लीस्थित अदालत 'पटियाला हाउस कोर्ट'मा भारतीय वकिलले बुधबार जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थी नेता कन्हैयाकुमार, उनका समर्थक विद्यार्थी र पत्रकारलाई कुटपिट गरेका छन्। जेएनयुका विद्यार्थी युनियनका अध्यक्ष कन्हैयाकुमारलाई देशद्रोहको आरोपमा पक्राउ गरिएको हो।
कन्हैयाकुमारमाथि कुटपिट गर्नु केही बेरअघि वकिलले उनका समर्थक केही विद्यार्थी र पत्रकारलाई समेत कुटपिट गरेका थिए। अदालतले कन्हैयाकुमारलाई १४ दिने न्यायिक हिरासतमा राख्न आदेश दिएको छ। मार्च २ सम्म उनी तिहाड जेलमा हिरासतमा रहनेछन्।
यसबीच, दिल्ली प्रहरीले आफ्नो भनाइ फेर्दै कन्हैयाकुमारका पक्षबाट जमानतमा रिहाइका लागि निवेदन परे प्रहरीको कुनै आपत्ति नहुने जनाएको छ। दिल्ली प्रहरी कमिस्नर बिएस बस्सीले बुधबार यस्तो जानकारी दिएका हुन्। कमिस्नर बस्सीले प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशमा प्रहरीको भनाइ परिवर्तन भएको होइन भने। कमिस्नर बस्सीलाई बुधबार बिहान प्रधानमन्त्री कार्यालय डाकिएको थियो। उनी प्रधानमन्त्री कार्यालयबाट फर्केपछि प्रहरीको भनाइ फेरिएको सञ्चारमाध्यमले जनाएका छन्।
परिवर्तित प्रहरी भनाइको कारणबारे खुल्दुली भए पनि थाहा पाउन नसकिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। किनभने बस्सी नेतृत्वको दिल्ली प्रहरीले नै कन्हैयाकुमारलाई देशद्रोहको अभियोगमा पक्राउ गरेको थियो। बुधबार बिहानसम्म पनि दिल्ली प्रहरीले कन्हैयाकुमारविरुद्ध लागेको देशद्रोहको अभियोग पुष्टि गर्ने प्रमाण आफूसँग पर्याप्त रहेको दाबी गरिरहेको थियो।
कमिस्नर बस्सीले अदालतमा पेसीका बेला प्रहरीको पर्याप्त सुरक्षा व्यवस्थाका कारण मारपिटमा कन्हैयाकुमार सुरक्षित रहेको बताए। अदालत परिसरमा गरिने बल प्रयोगको परिणाम सधैं उल्टो हुने भएकाले प्रहरीले बल प्रयोग नगरेको बस्सीको भनाइ थियो।
कमिस्नर बस्सीले विद्यार्थी र पत्रकार कुटपिट गर्ने विक्रम चौहानसहित तीन वकिललाई प्रहरीले समन पठाउनुका साथै दिल्लीबाट भारतीय जनता पार्टीका विधायक ओपी सर्मालाई समेत डाकेको जानकारी दिए।
अदालत परिसरमा भएको कुटपिटबारे भारतको सर्वोच्च अदालत सुप्रिम कोर्टले कडा कदम चाल्दै पाँच जना वकिलको समितिलाई बुधबार नै पटियाला हाउस कोर्टमा स्थिति बुझ्न पठाएको छ। वकिल समिति सदस्य प्रसान्तभूषणले पत्रकारसँग कन्हैयाकुमार कुटपिट मामिला अदालतमा उठाएपछि सुप्रिम कोर्टले दिल्ली प्रहरीका वरिष्ठ वकिलसँग सर्वोच्चलाई जानकारी दिन आदेश दिएको बताए। प्रहरीका वकिलले कुटपिट मामिलाबारे तत्काल आफूसँग कुनै जानकारी नभएको बताएपछि सर्वोच्चले तुरुन्त कार्यवाही गर्दै पाँच जना वकिलको समिति गठन गरी पटियाला हाउस कोर्टको स्थिति छानबिन गर्न पठाएको पनि प्रसान्तभूषणले जानकारी दिए। वकिल समितिले बुधबार बेलुकी नै मामिलाबारे आफ्नो प्रतिवेदन सर्वोच्च अदालतमा पेस गर्नेछ।
nagariknews
Post a Comment