स्रोतका अनुसार एआईजीद्वय राजेन्द्रसिंह भण्डारी र सुरेन्द्रबहादुर शाह दुई साताअघि आईजीपी अर्याललाई हटाउन भन्दै लाजिम्पाटस्थित प्रचण्ड निवासमा पुगेका थिए ।
उक्त घटनापछि आइजीपी अर्याल एआईजीहरुसँग रुष्ट भएका छन् भने प्रहरी नेतृत्वमा चरम गुटबन्दी बढेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।
सोही घटनापछि दुवै एआईजीले असहयोग गरेको भन्दै आईजीपी अर्यालले उनीहरुलाई महत्वपूर्ण जिम्मेवारी दिएनन् ।
चेन अफ कमाण्ड नमान्नेहरुलाई महत्वपूर्ण जिम्मेवारी दिंदा संगठनमा समस्या हुने भन्दै गत साताको एआईजी सरुवामा सरकारले भण्डारीलाई राष्ट्रिय सुरक्षा परिषद् तथा शाहलाई प्रहरी एकेडेमीमा सरुवा गरेको हो ।
सरुवापछि पनि उनीहरुको चलखेल रोकिएको छैन । हालका गृहमन्त्री शक्ति बस्नेत प्रचण्डका बिशेष व्यक्ति भएकाले उनीहरु त्यसरी प्रचण्ड निवास पुगेर लबिङ गरेका हुन् ।
भण्डारीलाई प्रयोग गर्दै शाह
आचारसंहितासम्बन्धि परिपत्रलाई लिएर पछिल्लो समय प्रहरी नेतृत्वमा गुटबन्दी बढेको छ । अर्यालले बिदेशीलाई भेट्दा तथा बाहिरी संस्थाहरुलाई मिलेर कुनै प्रोजेक्ट गर्दा अनुमती लिनुपर्ने भन्दै सबैलाई परिपत्र गरेका थिए ।
सुरक्षा जस्तो संगठनमा जथाभावी बिदेशीहरुसँग मिलेर काम गर्न थालेपछि यस्तो परिपत्र भएको थियो । तर, जथाभावी बिदेशीसँग मिलेर काम गर्दै आएका शाह र भण्डारीलाई उक्त कुरा मन परेन । शाहलाई यो विषयलाई योजनाबद्ध रुपमा बाहिर लैजान भण्डारीले उक्साए ।
सोहीअनुसार भण्डारीले आफु निकट कान्तिपुरमा समाचार लेखाएर मनभित्रको कुण्ठा पोख्ने काम गरे । जुन घटनामा भण्डारी विवादमा मात्र तानिएनन् उनीमाथि गृह मन्त्रालयले कारबाहीको समेत तयारी गरेको छ । तर, शाह भने मौन बसेर आईजीपीविरुद्ध संघर्ष गर्दै आएका छन् ।
एआईजी शाहको माओवादी नेताहरुसँग राम्रो सम्बन्ध छ । रुकुम घर भएको र द्वन्द्वकालमा राज्यलाई धोका दिई गोप्य सूचना दिएर माओवादीलाई सहयोग गरेकाले उनले माओवादी नेताहरुसँग सम्बन्ध बलियो बनाएका हुन् ।
अहिले उनी त्यसैको आधारमा आईजीपी हुने दाउमा छन् । स्रोतका अनुसार संघीय प्रहरीको अवधारणाअनुसार आईजीपी अर्याललाई प्रहरी महानिर्देशक बनाएर आफु आईजीपी हुने खेलमा उनी लागेका छन् ।
जसका लागि उनले प्रधानमन्त्री केपी ओलीलाई समेत भेटिसकेको स्रोत बताउँछ । तर, गृहमन्त्री बस्नेत शाहसँग सकारात्मक भएपनि ओली आईजीपी फेर्ने खेलमा छैनन् ।
आफ्नो स्वार्थका लागि उनले एआईजी भण्डारीलाई प्रयोग गर्दै आएका छन् । भण्डारीलाई आईजीपी विरुद्ध बोल्न उकासेर संगठनमा चेन अफ कमाण्ड खुस्किएको भनेर आईजीपी फेर्न राजनीतिक नेतृत्वलाई मनाउन शाह दौडधुपमा लागेका छन् । त्यसका लागि आफु निकट केही प्रहरीलाई समेत उनले परिचालन गरेका छन् ।
dainiknepal
Post a Comment