धुर्मसले सिडिओको चर्पी देखेपछि

धुर्मसले सिडिओको चर्पी देखेपछि
सिन्धुपाल्चोक- भूकम्पबाट खण्डहरमा बदलिएको सदरमुकाम चौतारा टेक्नासाथ कलाकार सीताराम कट्टेल (धुर्मुस) सरासर सिडिओ (जिल्ला प्रशासन) कार्यालय पुगे। कतै नहेरी सेवाग्राहीका निम्ति बनाइएको शौचालय छिरेका उनी मुख बिगार्दै, नाक थुन्दै निस्किए। लगत्तै आफ्ना 'क्यामारा पर्सन' र सञ्चारकर्मी लिएर फेरि त्यहाँ पुग्दा हास्य टेलिशृंखला मेरी बास्सैमा सबैलाई मुर्ख बनाउने धुर्मुस यसपटक आफैं 'उल्लु' सावित भए।


फोहर र दुर्गन्धले भरिएको शौचालय क्षणभरमै सफाचट! 'धुर्मुस–सुन्तली सरसफाइ अभियान' लिएर सरकारका सरसफाइ दूत धुर्मुस–सुन्तली आएको चाल पाएपछि सिडिओ बलभद्र गिरीले कर्मचारी लगाएर हतारहतार शौचालय सफा पार्न भ्याइसकेका रहेछन्। 'सिडियो साप'ले मुर्ख बनाए पनि वास्तावमै शौचालय निकै फोहर र दुर्गन्धित नै थियो,' जिल्लिँदै उनी हाँसे।

आखिरी सिडिओ धुर्मुस–सुन्तलीको फन्दामा परिहाले। चौतारा बजार सरसफाइ गर्दै अघि बढ्दा सिडियो निवासबाट जुठ्यान पानी बगेर सडकमै निस्किएको धुर्मसले पत्तो पाइछाडे। 'जो अगुवा उही बाटो हगुवा!' उनले सिडिओलाई अँठ्याइहाले, 'यो के हो सिडिओ साप?'

केही धक मान्दै सिडिओ गिरीले हाँस्दै भने, 'अब धुर्मुस आइसकेको छ। सब ठिक हुन्छ।'

सरसफाइमा उपस्थित सबै गलल हाँसे।

धुर्मुस–सुन्तली जोडीले मेरी बास्सैमा झैं 'उटपट्याङ' गर्दै दुई दिन जिल्लाका गाउँ, बजार सरसफाइ गरे। जिल्ला विकास समितिअगाडि थुप्रिएको खाली रक्सी र बियरका बोतल सबैलाई देखाउँदै धुर्मुस–सुन्तलीले त्यहाँका अधिकारीको हुर्मत लिए। कतै थकाउँदै, कतै ठट्याउँदै र हौस्याउँदै सरसफाइ दूत धुर्मस–सुन्तलीले शुक्रबार र शनिबार वैशाख १२ को भूकम्पपछि सरसफाइको अवस्था शून्यमा पुगेको जिल्लाका गाउँ, बजार सरसफाइ गरेर बिताए।

हातमा कुचो बोकेर रामेछापबाट अभियान थालेका धुर्मुस–सुन्तली बिहीबार जिल्ला आइपुगेका थिए। टेलिभिजन पर्दामा विभिन्न भूमिकामा देखा पर्ने यी कलाकार आफ्नौ घरआँगनमा देखेर दंग बजार तथा गाउँवासी हातहातमा कुचो, साबेल, पिक बोकेर सरसफाइमा निस्किए।

धुर्मुस–सुन्तलीको अगुवाइमा शनिबार बिहान विशाल सहभागितामा सदरमुकामका बजार सरसफाइ अभियान चलाइयो। बजारवासी, सेना, प्रहरी, सरकारी कार्यालयका अधिकारीसहित सयौं मानिस सरसफाइमा निस्किए। चौताराको बसपार्कदेखि टुँडिखेलसम्मको दुई किमी बजार क्षेत्र सरसफाइबाट झन्डै तीन ट्रक फोहरमैला संकलन भयो।

सरसफाइपछि टुँडिखेलमा धुर्मुस–सुन्तलीले हँसाउँदै चेतनामूलक प्रस्तुतिसमेत देखाए। त्यहाँ धुर्मुस–सुन्तलीलाई सरसफाइ क्षेत्रमा योगदान पुर्यारएको भन्दै जिल्ला सरसफाइ, स्वच्छता तथा समन्वय समितिले सम्मान गर्योा। सिडिओ गिरीले दोसल्ला ओढाएर उनीहरुलाई सम्मानपत्र दिएका थिए।

शुक्रबार बिहान सरकारी अधिकारीसहित सरोकारवालासँग जिल्लामा जन्मदर्ता र सरसफाइको अवस्थाबारे जानकारी लिँदै उनीहरुले छलफल चलाएका थिए। सरसफाइका साथमा उनीहरुले जन्मदर्ता अभियानसमेत ल्याएका थिए। छलफलमा जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख इन्जिनियर अरुणकुमार सिम्खडाले सिन्धुपाल्चोकमा सन् २०१३ बाट चलेको सरसफाइ अभियान अन्तर्गत ७९ मध्ये ६७ गाविस खुला दिसामुक्त घोषणा भइसकेका बेला विनासकारी भूकम्प गएर ७७ प्रतिशत शौचालय भत्काएको जनाए।

'सन् २०१६ भित्र सिन्धुपाल्चोकलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने अर्को लक्ष्य निर्धारण गरिएको छ,' सिम्खडाले भने, 'भूकम्पपछि चार गाविसका सबै घरधुरीमा शौचालय बनिसकेका छन्। अस्थायी शौचालयसमेत नबनाएर आठ प्रतिशत घरधुरी अझै खुला दिसा गर्छन्।' अभियन्ता राजेन्द्र शर्माका अनुसार अभियानयता ३६ हजार नयाँ शौचालय बनेकामा अधिकांश ध्वस्त भए।

शुक्रबारै उनीहरुले कुन्चोक गाविस पुगेर चेतनामूलक प्रस्तुति दिँदै सयौं स्थानीयको सहयोगमा जौडाँडाको दलितबस्ती सरसफाइ गरेका थिए। भूकम्पलगत्तै सरसफाइ अभियान लिएर सिन्धुपाल्चोक आइपुगेका धुर्मुस–सुन्तलीले पीपलडाँडाको दलित बस्तीमा १० शौचालय बनाएका थिए। 'अभियान लिएर हामी देश दौडाहा गर्छौं, सरकारका सरसफाइ दूत सीताराम (धुर्मस)ले भने।
nagariknews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget