काठमाडौं, मंसिर १९ । स्वरसम्राट स्वर्गीय नारायणगोपालको २५औं स्मृति दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
‘एउटा मान्छेको मायाले कति’, ‘स्वर्गकी रानी’, ‘आँखाको भाका आँखैले’, ‘मलाई नसोध कहाँ दुख्छ घाऊ’ जस्ता सयौं कालजयी गीत गाएका सुमधुर स्वरका धनी नारायण गोपाल गुरुवाचार्यको जन्म विक्रम संवत् १९९६ मा काठमाडौंको किलागलमा भएको थियो । उनका कालजयी गीत आज पनि उत्तिकै लोकप्रिय छन् ।
स्वर सम्राट नारायण गोपालले २०२३ सालमा रेडियो नेपालबाट सर्वोत्कृष्ट संगीतकार, २०२४ मा सर्वोत्कृष्ट गायक, २०३९ मा रत्न रेकर्ड, २०३३ मा गोरखा दक्षिण बाहु चौथो, २०४० सालमा इन्द्रराज्यलक्षमी प्रज्ञा पुरस्कार पाएका थिए ।
यस्तै, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बा श्री, २०४७ सालमा उर्वशी रङ, २०४८ सालमा मरणोपरान्त उनले त्रिशक्तिपट्ट तेस्रो जस्ता दर्जनौं पुरस्कार प्राप्त गरेका थिए ।
‘बागीना’ पत्रिकाको सम्पादक तथा सांस्कृतिक संस्थानका महाप्रबन्धक एवं सनचार मन्त्रालयका सल्लाहकारसमेत रहेका स्वरसम्राट नारायण गोपालको २०४७ मंसिर १९ गते निधन भएको थियो ।
imagekhabar
Post a Comment