मिहेनतको नेपाली ब्रान्ड : थकाली खाना

४ मंसिर, कास्की । पोखरा आउने पाहुनाको अक्सर एउटा प्रश्नै हुन्छ, ‘खाना कहाँ खाने ?’ ‘माइलीकहाँ कि मोनालिसा ? थकाली भान्छा कि मुस्ताङ थकाली किचन, मन्त्र थकाली कि कतै ?’ उत्तरमा जे छाने पनि सबैको छनोट एउटै हुन्छ, ‘मीठो थकाली खाना नै खाने !’
घिउ हालेको मसिनो भात वा ढिँडो, जिम्बुले झानेको मुस्ताङ्गी कालो दाल, जिब्रोमा टिमुर पर्पराउने गोलभेँडाको चटनी, साँधेको गुन्द्रकु,
मुस्ताङकै आलुको तरकारी, साग अनि तिख्खर झोलसहितको कुखुरा अथवा खसीको मासु र अचार पनि ।
समग्रमा थकालीको भान्छामा पाक्ने यही हो र थकाली खाना पनि । धेरैजसो ठाउँमा यामअनुसारको सलाद वा दही पनि ‘मेनु’ मा थपिन्छ । अगाडि थकाली जोडिएको र अक्सर रु ३२५ देखि रु ४०० को हाराहारीमा पाइने खाना अहिले भने मौलिक ‘नेपाली ब्रान्ड’ बनेको छ ।
मुस्ताङको थाकखोला आसपासका थकालीले आफ्नै जन्मभूमिमा धान लहलहाएको देख्ने सौभाग्य पाएनन् र पाएका छैनन् । धान भए न चामल हुने हो ! धानमा सधैँ परनिर्भर थकालीले मुस्किलले धान देख्न पाए । त्यसमा आफ्नो सीप खन्याए र देशको मैदानी भूभागमा बढी पाइने चामललाई हिमाली मौलिकतामा ढाल्दै आफ्नो जातसँग जोडेर थकाली ब्रान्डको खाना तयार गरे ।
‘यो सबै थकालीको मिहेनतले भएको हो’ नौ वर्षदेखि पोखरामा मुस्ताङ थकाली किचनको नामबाट थकाली खाना बेच्दै आएका वसन्त गौचनले भने- ‘भान्छामा बस्दा थकाली महिलाले गर्ने मिहेनत र ग्राहक पल्काउनुपर्छ भन्ने सोच तथा व्यवसायीकरणले नै थकाली खाना ब्रान्ड बनेको हो ।’
पोखरामा व्यवस्थितरुपले थकाली खाना मात्र बेच्न सुरु गरेका वसन्तका अनुुसार ग्राहकलाई स्वाद र व्यवहारले तान्नुपर्छ भन्नेमा थकाली सचेत छन् । भान्छा सम्हाल्ने महिलाको सीपको तारिफ गर्दै र अतीत सम्झँदै उनले भने- ‘हामिले जान्दा महेन्द्रपुलमा हाम्रो चित्राले बारेको सानो भट्टी थियो, आमा त्यही भट्टीमा खाना बनाउनुहुन्थ्यो, आमाले जिम्बुले दाल झान्दा टोलमै बास्ना फैलन्थ्यो र टोलभरका मान्छे यो थकाल्नीले के पकाई भनेर सोध्न आउँथे ।’
अर्का व्यवसायी मानव गौचनका अनुसार थकाली महिलाको पाककलाकै कारण थकाली खानाको मौलिक ब्रान्ड जन्मिएको हो । पोखराको न्युरोड र लेकसाइडमा मन्त्र नामक थकाली खानाको रेस्टुराँसँग आबद्ध मानवका थकाली रेस्टुराँको सबै काम महिलाले नै सम्हाल्छन् । कुन तरकारी कसरी पकाउने, कति नुन र मसला हाल्ने भन्नेमा विशेष ध्यान दिन्छन् र हात चाट्न बाध्य पार्ने स्वाद निकाल्छन् ।
‘भात मीठो हुने भए त तराईका मान्छेले पकाएको मीठो हुनुपर्ने ?’ उनी थप्छन्- ‘खाना मीठो हुन सीप खन्याउन जान्नुपर्छ ।’ पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनका अनुसार खासमा थकाली थातथलोको माया नगर्ने जात हो । जता व्यापार हुन्छ, उतै कुद्ने अनि त्यहाँ पाइने अन्न र तरकारीलाई आफ्नो मौलिकतामा ढाल्नु पनि थकालीको विशेषता भएको उनले सुनाए ।
‘थकालीलाई ग्राहक आउने चोक चाहिन्छ तर व्यापार घटेपछि ऊ चोक कुरेर बस्दैन, अर्को ठाउँ खोज्छ’ उनले भने ।
यही बानीका कारण थकाली देशको समृद्ध आदिवासी जनजाति भएको उनको तर्क छ । अहिले भारतीय नाका भैरहवादेखि राजधानी काठमाडौँ र देशका विभिन्न भागमा थकाली जाति छरिएका छन् । त्यहाँ पनि उनीहरुको थकाली होटल व्यवसाय नै रहेको छ । व्यवसायसँगै मीठो थकाली खानाको प्रचार भएकाले थकाली खाना ब्रान्ड बनेको हो । नेवार जाति पनि थातथलो नकुर्ने भएकाले देशका विभिन्न भागमा फैलिएको लालचनले बताए ।
मुस्ताङ थकाली किचनको भान्छा सम्हाल्दै आउनुभएकी मन गौचनका अनुसार थकाली महिलाले पकाउने कला चाहिँ आफ्नै अग्रजबाट सिकेका हुन् । उनका अनुसार थकाली कालो दाल बाक्लो ताप्केमा सानो आगोमा पकाउँछन्, मासुको झोल तिख्खर बनाउन मासुबाट पहिला आउने पानी सुकाएर बिस्तारै भुट्छन् अनि मसला मिलाएर झोल हाल्छन् ।
‘सिमीको दाल जिम्बुले झाने मीठो हुन्छ, मासको दालमा अदुवा बढी हाल्नुपर्छ, कति मन्द वा ठूलो आगोमा पकाउने भन्नेले पनि स्वादमा फरक पार्छ’ उनले भने ।
पाककलाकै कारण थकाली खानाको ब्रान्ड जन्मिएको बताउने पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनका अनुसार घन्टौँ कुरेर भए पनि त्यही खाना खानु नै थकाली खानाको मौलिकता हो । बजारमा थकालीको नाम जोडेर नक्कली थकाली रेस्टुराँ पनि खुलेको स्वीकार्दै उनले भने- ‘नक्कली थकाली कहाँ पटकपटक ग्राहक कहाँ जान्छ र ? मुखमा खाना पर्नासाथ चिनिहालिन्छ नि !’
पोखरामा अहिले व्यवस्थितरुपले थकाली खाना बेच्ने दुई दर्जन हाराहारीमा रेस्टुराँ खुलेका छन् । परम्परागतरुपले लजसहितको थकाली खाना खुवाउने रेस्टुराँ पनि उत्तिकै रहेका छन् । मुस्ताङबाट झरेकाले पोखरामा थकालीको उपस्थिति बाक्लै भएको र रेस्टुराँ पनि बढी भएको अग्रज व्यवसायी वसन्त गौचनको अनुभव छ ।
‘थकाली खाना अहिले ब्रान्ड बनेको छ, यसको ट्रेडमार्क भनेको मिहेनत नै हो भने प्याटेन्ट राइट्स पनि कसैसँग छैन’ देशविदेश चहारेपछि पोखरामा रेस्टुराँ खोलेर राम्रो कमाई गरेका गौचनले भाने । रासस
onlinekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget