मधेस आन्दोलनमा बल प्रयोग नगर्न मानवअधिकार आयोगको निर्देशन

बल प्रयोग भएको छैन : गृहमन्त्री
राष्ट्रिय मानवअधिकार आयोगले मधेसमा आन्दोलनमा बल प्रयोग नगर्न गृहमन्त्री शक्ति बस्नेतलाई निर्देशन दिएको छ।

आयोगले सोमबार मन्त्री बस्नेतलाई आफ्नो कार्यालयमा बोलाई सुरक्षाकर्मीले आवश्यकभन्दा बढी बल प्रयोग गरेका कारण केही दिनयता आन्दोलन चर्किएको भन्दै सुरक्षाकर्मीलाई संयमित अवस्थामा राख्न निर्देशन दिएको हो। आयोगका अध्यक्ष अनुपराज शर्माले आफ्नै कार्यकक्षमा उपस्थित गृहमन्त्री बस्नेतसँग सुरक्षाकर्मीले जथाभावी रुपमा लाठी प्रहार गरेका कारण आन्दोलनकारीहरु थप भड्किएको भन्दै अन्तिम अवस्था नआएसम्म बल प्रयोग नगर्न आग्रह गरेका हुन्। आयोगले गरेको अनुगमनले सुरक्षाकर्मीले जथाभावीरुपमा लाठी र अश्रुग्याँस प्रहार गरेको देखिएको भन्दै त्यसलाई रोक्नका लागि गृहमन्त्रीसँग आग्रह गरेको आयोगकी प्रवक्ता मोहना अन्सारीले जानकारी दिए।

पौने दुई घण्टा लामो छलफलमा आयोगका पदाधिकारीले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा गृहमन्त्री  बस्नेतले भने आन्दोलनमा बल प्रयोग नगरिएको दावी गरेका छन्। उनले प्रदर्शनकारीहरुले सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गरी सार्वजनिक सम्पत्तिमा समेत तोडफोड गरेको अवस्थामा वाहेक प्रहरीले संयमता अपनाएको बताए । आयोगले गृहमन्त्री बस्नेतको जवाफ अपुरो भएको भन्दै थप अनुसन्धान गर्ने बताएको छ। आयोगकी प्रवक्ता मोहना अन्सारीले गृहमन्त्रीले संसद्मा बोले जसरी बनावटी जवाफ दिएको बताइन् ।

आयोगका पदाधिकारीहरुले भूकम्प प्रभावितहरुले न्यानो कपडा किन्नका लागि सरकारले दिने भनिएको १० हजार रुपैयाँ पाउन नसकेको विषयमा समेत जिज्ञासा राखेकामा गृहमन्त्री बस्नेतले राहतको रकम सबै गाविसमा पठाइसकेको र नक्कली भूकम्प पीडितका कारण केही स्थानमा राहत वितरणमा समस्या भएको बताएका थिए।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget