उद्योगबाटै एलपी ग्यासको कालोबजारी

सिमरा : बजारमा ग्यासको चरम अभाव भइरहेका बेला कालोबजारीमा सक्रिय बाराको सिमरास्थित अम्बर उद्योगका सञ्चालकसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

सर्वसाधारणलाई वितरण नगरी कालोबजारी गर्न बजारतर्फ लैजाँदै गरेको सूचना पाएपछि पुगेको ईलाका प्रहरी कार्यलय सिमराको टोलीले उद्योगका सञ्चालक वीरगन्ज–८ का घनश्याम क्यालसहित तीनजनालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।


पक्राउ पर्ने अन्यमा उद्योगका कर्मचारी सप्तरी बतनाहा–४ का रविन्द्रकुमार दास, गढीमाई नगरपालिका–१० का सञ्जय पटेल र वीरगन्ज–१९ का विनोद दुबे रहेका छन् ।

बजार लैजान लागिएका २० सहित प्रहरीले उद्योगमा छापामारी गरी अन्य ६० वटा ग्यास भरिएका सिलिन्डर पनि बरामद गरेको छ ।

उद्योगबाट ना४त १९५१ नम्बरको ट्रयाक्टरमा लोड गरि वीरगन्जतर्फ लैजान लागेको अवस्थामा शनिवार राती साढे १० बजे प्रहरीले २० वटा सिलिन्डरसहित चालक पटेल र दुबेलाई पक्राउ गरेको थियो ।

कालोबजारी भइरहेको सूचना पाएपछि उद्योगबाहिर बसेको प्रहरी टोलीले उद्योग हाताबाट सिलिन्डर बोकेको ट्रयाक्टर बाहिरिएपछि नियन्त्रणमा लिएको हो ।

ट्रयाक्टर नियन्त्रणमा लिएलगत्तै उद्योगमा छापा मारेको प्रहरी टोलीले थप ६० वटा सिलिन्डर बजार लैजानका लागि तयार पारिएको अवस्थामा बरामद गरेको हो ।

छापा मार्ने क्रममा कर्मचारी दास उद्योगभित्र बाट पक्राउ परेका हुन् । दासले उद्योगभित्रबाट ट्रयाक्टरमा ग्यास लोड गरि पठाएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका ब्यक्तिको बयानका आधारमा प्रहरीले सञ्चालक क्याललाई बिहान उद्योगबाट नियन्त्रणमा लिएको हो ।

वीरगन्ज घर भएका क्यालको आदेशमा कर्मचारी दासले ट्रयाक्टरमा ग्यास लोड गराएको प्रहरीको भनाइ छ । ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक पुरुषोत्तम खड्काका अनुसार ट्रयाक्टरबाट पक्राउ परेका दुबेले ग्यास खरिद गरि लैजाँदै गरेका थिए ।

सञ्चालक क्यालको आदेशमा कर्मचारी दासले उद्योगबाट ग्यास पठाएको र दुबेले लैजादै गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी निरीक्षक खड्काले पत्रकार सम्मेलनमा बताए । ‘सञ्चालकको आदेशमा कर्मचारीले उद्योगबाट ग्यास बिक्री गरेको पाइयो’, खड्काले भने, ‘थप कुरा अनुसन्धानबाट खुल्दै जानेछ । हामीले सबैलाई नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरिसकेका छौं । ’

पक्राउ परेका उद्योगका सञ्चालकसहित अन्यले छ हजारका दरले वीरगन्जका बजारमा बिक्री गर्नका लागि ग्यास लैजान लागेको प्रहरीलाई बयान दिएको प्रहरी निरीक्षक खड्काको भनाइ छ ।

उद्योगमा आएको बुलेटको ग्यास सर्वसाधारणलाई नभई कालोबजारीमा बिक्री गर्न सक्रिय सञ्चालकले यसअघि पनि थुप्रै पटक ग्यासका सिलिन्डर बजारमा पठाएको स्विकार गरेको खड्काले बताए ।

‘बुलेटका ग्यास सर्वसाधारणलाई नभइ लामो समयदेखि बढी मुल्य लिएर कालोबजारीमा बिक्री गर्न सक्रिय रहेको पाइयो’, खड्काले भने, ‘कति परिमाणका ग्यास कालोबजारीमा बिक्री भयो त्यसका बारेमा बुझिरहेका छौं ।’

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नाकाबन्दी गरेपछि उद्योगले तीनवटा ग्यासका बुलेट भित्राएको थियो । उद्योगले हालसम्म एक हजार चार सय वटा सिलिन्डर मात्रै सर्वसाधारणलाई वितरण गरेको छ । सर्वसाधारणलाई वितरण गरेको बाहेक सबै ग्यास कालोबजारीमा बिक्री गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

प्रहरीले पक्राउ परेकालाई चार जनालाई कालोबजारीको मुद्धामा कारवाही प्रक्रिया थालेको छ । प्रहरी निरिक्षक खड्काले म्याद थप गरेर अनुसन्धान गर्ने र कारवाही गरिने बताए । ‘म्याद थप गरि नियन्त्रणमा राखेका छौ, थप अनुसन्धानपछि कारवाही गरिने छ’, खड्काले भने ।

प्रहरी निरीक्षक खड्काले पत्रकार सम्मेलनमा पानी मिसाएर पेट्रोल बिक्री गर्न सक्रिय पर्सा भवानीपुर ५ का सन्तोष पटेललाई समेत सार्वजनिक गरेका थिए ।

पेट्रोलमा ६० प्रतिशत पानी मिसाएर बिक्री गर्न लागेको अवस्थामा प्रहरीले ४० लिटर पेट्रोलसहित पटेललाई सिमराबाट पक्राउ गरेको खड्काले जानकारी दिए । पटेललाई पनि कालोबजारीको मुद्धामा कारवाही थालिएको खड्काको भनाइ छ ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget