लगभग उस्तै टिम तर यी दुई प्रतियोगितामा फरक नतिजा निस्किनुको कारणमध्ये एक हो, खेलाडीको फरक आत्मविश्वास ।
लगभग उस्तै टिम तर यी दुई प्रतियोगितामा फरक नतिजा निस्किनुको कारणमध्ये एक हो, खेलाडीको फरक आत्मविश्वास । साफ च्याम्पियनसिपअघि नेपालले लगातार खराब प्रदर्शन गरिरहेको थियो । जितको कुरा त परै जाओस्, गोल गर्न पनि सकेको थिएन । अझ, म्याच फिक्सिङको कुराले खेलाडीहरू तनावमा थिए । खासै अनुभव नभएका खेलाडीबाट समर्थकको पनि त्यति ठूलो आश थिएन । त्यसैले त्यतिबेला खेलाडीहरूको ध्यान लगातारको जितविहीन यात्रा र गोलको खडेरी तोड्नमा केन्द्रित थियो । साफमा गोलको खडेरी त तोडियो तर जितको खडेरी तोडिएन ।
सागमा सहभागी हुनुअघि यही टिमले बंगलादेशमा बंगबन्धु गोल्डकप खेल्यो । त्यहाँ नेपालले जितविहीन यात्रा दोस्रो खेलमा टुंग्यायो । सेमिफाइनलमा माल्दिभ्स र फाइनलमा बहराइनको युवा टोलीलाई हराएर नेपालले उपाधि पनि जित्यो । र, यही जितले खेलाडीको आत्मविश्वासमा ठूलै परिवर्तन ल्यायो । बंगबन्धु कपअघि खेलाडीहरू नेपाली फुटबलको धमिलिएको छवि सुधार्न केन्द्रित थिए । बंगलादेशमा उपाधि जितेपछि उनीहरू जितको भोका भए । हरेक खेल जित्नकै लागि खेले । जित्ने मनोबलका साथ डटे । बंगबन्धु गोल्डकप नेपाललाई सागका लागि राम्रो तयारी भएको अहिले साबित भएको छ । बंगबन्धु कप जितेपछि नेपाललाई सागमा स्वर्ण जित्ने दाबेदार टोलीका रूपमा हेरिएको थियो ।
नेपाली टिम आत्मविश्वासका साथ खेलेको लगभग हरेक खेलमा देखिन्थ्यो । सबै खेलमा नेपाल छोटो पासमै बढी जोड दिएर बल आफ्नो नियन्त्रणमा राखेर खेल्यो । यसपटक नेपालले आकर्षक र हेर्नलायक फुटबल खेल्यो । काउन्टर अट्याकमा पनि नेपालले राम्रो सम्भावना देखायो । फाइनलमा भारतविरुद्ध नेपालले काउन्टर अट्याकमा थुप्रै मौका सिर्जना गरेको थियो । तर, निर्णायक खेलको सुरुमा खेलाडीहरू अलि आत्तिएजस्ता देखिन्थे । भारतविरुद्ध फाइनलमा नेपाललाई लय समात्न निकै बेर लाग्यो । भारतले एक गोलको अग्रता लिनुअघि नेपाली खेलाडीले थुप्रै पास बिगारेका थिए । गोल खाएपछि मात्र उनीहरू जुझारु देखिए । फ्रिकिकमा गोल फर्काएपछि नेपाल झन् आक्रामक देखियो । काउन्टर अट्याकमा विमलको प्रयासलाई भारतीय किपरले छेकेपछि त्यसैमा नआत्तिएरै विशाल राईका लागि अर्को मौका सिर्जना गर्दा खेलाडीले देखाएको धैर्यता र आत्मविश्वास प्रशंसायोग्य छ ।
नेपाली खेलाडीहरूको खेलमा धैर्यता र आत्मविश्वासको असली परीक्षा माल्दिभ्सविरुद्ध सेमिफाइनलमा भयो । खेलको ६५औँ मिनेटमा १० जनामा सीमित भएपछि नेपालले २–१ को अग्रता जोगाउन सकेन । थपिएको अतिरिक्त समयको दोस्रो हाफमा गोल खाएपछि नेपाल दबाबमा आएको थियो । तर, दबाबमा नेपालले झन् राम्रो खेल्यो । अन्तिम दुई मिनेटमा दुई गोल गर्दै स्ट्राइकर नवयुग श्रेष्ठले ह्याट्रिक गरेर नेपाललाई जिताए । फुटबलमा यस्तो कमब्याकले ठूलो महत्त्व राख्छ । भविष्यमा कुनै खेलमा पछाडि परेको खण्डमा यस्तो खेलको सम्झनाले खेलाडीलाई अन्तिम समयसम्म हिम्मत नहार्न ऊर्जा दिन्छ । सेमिफाइनलमा यस्तो परीक्षामा सफल भएको नेपालले भारतविरुद्ध पनि पछि परेको अवस्थालाई उल्टाएर स्वर्ण जित्यो ।
विगतमा गोल गर्न नसक्ने नेपालको कमजोरी अहिले अचानक हराएको छ । अहिले नेपालले लगभग हरेक खेलमा गोल गरेको छ । समूह चरणमा बंगलादेशसँग हारेको खेलमा पनि नेपालले नै अग्रता लिएको थियो । विगतमा नेपालले खोजेजस्तो स्ट्राइकर अहिले नवयुग श्रेष्ठमा पाएको छ । उनी निकै छरिता र पाएको मौकालाई सही समयमा सदुपयोग गर्न सक्ने स्ट्राइकर हुन् । साग फुटबलमा २३ वर्षपछि स्वर्ण जित्दा नेपालको मुख्य हतियार पनि नवयुग नै बने । चार खेलमा दुई ह्याट्रिकसहित उनले सात गोल गरे । फाइनलमा पनि विजयी गोल उनकै थियो । उनले लगातार गोल गरिरहँदा टिमका अन्य खेलाडीहरू दबाबमुक्त भएर खेल्न सके । नेपाल सफल हुनुमा यो अर्को कारण हो ।
आफ्नो समूहमा तीन टिम मात्रै भए पनि नेपाललाई स्वर्ण जित्ने बाटो भने सजिलो पक्कै थिएन । समूह चरणमा भुटान मात्रै नेपालका लागि सहज प्रतिद्वन्द्वी थियो । बंगलादेशसँग पराजित भए पनि भुटानसँगकै जितले नेपाल सेमिफाइनल पुगेको हो । बंगबन्धु कपमा माल्दिभ्सलाई ४–० ले हराएको अनुभव सेमिफाइनलमा काम लाग्यो, जसलाई नेपाली खेलाडीले राम्रै उपयोग गरे । भारत नेपालका लागि सधैँ कडा प्रतिद्वन्द्वी हो । तुलनात्मक रूपमा नेपाली खेलाडी उनीहरूभन्दा बढी स्किलफुल भएको फाइनलमा पनि देखियो ।
यसपटक मिडफिल्ड र डिफेन्समा खेल्नेले निकै परिपक्व खेल देखाए । मिडफिल्डबाट गोलका लागि राम्रा मौका सिर्जना भए । विशाल राई, हेमन गुरुङ र विक्रम लामाले हरेकजसो खेलमा मिडफिल्डमा राम्रो प्रभाव छाडे । अट् याकिङ मिडफिल्डरका रूपमा विशाल सफल भएका छन् । मौका सिर्जना गर्न र पाएको मौकामा गोल गर्न सक्ने क्षमता पनि उनमा देखियो । युवा डिफेन्डरहरूले एकपछि अर्को खेलमा अनुभव सँगाल्दै राम्रो खेलिरहेका छन् । फाइनल खेलको अन्त्यतिर भने उनीहरूले भारतीय खेलाडीलाई मार्क गर्न र उनीहरूको चाललाई पछ्याउन बिर्सिएका थिए । तर, भारतले उनीहरूको यो कमजोरीको फाइदा उठाउन सकेन ।
भारतलाई उसकै मैदानमा हराउने प्रशिक्षक राजुकाजी शाक्यको सपना पनि पूरा भएको छ । राजुले विपक्षीको रणनीति र बलियो पक्षलाई राम्ररी बुझेर त्यही अनुसार आफ्नो रणनीति बुन्न सफल भए । बंगबन्धु कपमा बालगोपाल महर्जन र अहिले सागमा राजुकाजी शाक्य सफल प्रशिक्षक हुनु नेपालका लागि खुसी हुनुपर्ने अर्को कारण हो ।
अब अखिल नेपाल फुटबल संघ ( एन्फा)ले घरेलु प्रशिक्षकको क्षमता वृद्धिमा ध्यान पुर्याउनुपर्ने बेला आएको छ । लामो समयपछि अन्तर्राष्ट्रिय फुटबलमा नेपालले सफलता हात पारेको हो । यस्तो सफलता दोहोर्याइरहन एन्फाले अग्रणी भूमिका खेल्न सक्नु पर्छ । साथै, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि पनि हरसम्भव प्रयास गरेर यी दुई सफलताबाट खेलाडीले बटुलेको आत्मविश्वास पनि
जोगाउन सक्नुपर्छ ।
ekantipur
Post a Comment