फागुन ७ गते, प्रजातन्त्र दिवसका दिन भारत भ्रमण गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरबारमा पत्रकार सम्मेलन गरे । वाक्पटुता र किस्साबाट आफ्ना कुरा भन्ने बानीका कारण ओलीको चर्चा बेला बेला भइरहन्छ । शुक्रबारको पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेका ८ प्रश्नका ओलीले आफ्नै शैलीमा यसरी जवाफ दिए :
एजेन्डा बिनाको भ्रमणको उपलब्धि के होला ?
ओलीको जवाफ : एजेन्डा विनाको भ्रमणमा सबभन्दा बढी एजेन्डा हुन्छन् । छिमेकीको समस्या छिमेकीले नै बुझ्ने हो । साथीसँग सँगै सुतेपछि उसले खुट्टा बोकाउन सक्छ । किन खुट्टा बोकाएको भनेपछि, उसले निदाएको बेलामा परेछ भन्यो भने किन निदाएको भनेर प्रश्न गर्न मिल्छ ?
तपाईंले भारत र चीनलाई सन्तुलन गर्न कस्तो कार्ड प्रयोग गर्नु हुन्छ ?
ओलीको जवाफ : म जुवा वा तास खेल्दिनँ, कार्ड प्रयोगको त कुरै आउँदैन । हामी कुनै (छिमेकी) को पक्ष वा विपक्षमा छैनौं । दुवै छिमेकीसँग सम्बन्ध राख्न र बढाउन चाहन्छौं । यो सरकार कुटनीति होइन, इमानदारितामा विश्वास गर्छ, मित्रतामा विश्वास गर्छ ।
भारतको अघोषित नाकाबन्दी खुलेपछि पनि अझै इन्धन सहज भएन नि किन हो ?
ओलीको जवाफ : मानौं काँडा बिझ्यो । काँडा निकालेपछि पनि केही समयसम्म त दुख्छ नि । एकैपटक सञ्चो हुन्छ ? यो पनि त्यस्तै हो । ग्यास तेलको अभाव पनि त्यस्तै हो । तेल आउनेमा म विश्वस्त छु । ग्यास पनि आउँछ ।
मन्त्रीपरिषद्को बिहीबारको बैंठकले उर्जा संकट घोषणा गर्नुको कारण के हो ?
ओलीको जवाफ : नेपालमा विद्युत उत्पादन गर्न थालेको १०५ वर्ष भयो । अहिले २ सय २८ मेगावाट मात्र विद्युत उत्पादन भइरहेको छ । १०५ वर्षमा २२८ मेगावाट विद्युतमात्र उत्पादन भएको छ भन्दा अरुले के भन्लान् ? अरुले सुने भने लाज हुन्छ । अरुले नसुन्ने गरि भन्नु पर्यो ।
भारतले नेपालको संविधान संसोधनको स्वागतमा प्रयोग गरेको भाषा कस्तो हो ?
ओलीको जवाफ : हामीले संविधान संसोधन गरेपछि भारतीय पक्षबाट स्वागत भएको छ । भाषामा जे भने पनि त्यो स्वागत हो । तपाई शब्दमा नजानुहोस् । मान्छेले श्रीमतीलाई जे पनि भनेर बोलाउन सक्छ, भाषा मात्र फरक हो । परिवार, जहान वा अरु जे भने पनि त्यही हो । श्रीमान्लाई पनि घरका, परिवार, बाहुन पनि भनेर बोलाउन सक्छन् । जे भने पनि कुरा त्यही हो ।
हरेकपटक प्रधानमन्त्री भारत जान्छन् र आउँछन् । तपाईंको भ्रमणपछि के फरक होला ?
ओलीको जवाफ : भ्रमणपछि म नेपाल फर्किन्छु, भारत भारतमै रहन्छ ।
नेपाल–भारतबीच बढेको असमझदारी कसरी कम हुन्छ ?
ओलीको जवाफ : खोलामा हिउँदमा सङ्लो पानी बग्छ, वर्षामा बाढी आउँछ । बाढी आउँदा खोला धमिलो हुन्छ ।
लगानीकर्तालाई नेपालमा लगानी गर्न कसरी प्रेरित गर्न सकिन्छ ?
ओलीको जवाफ : लगानी कर्तालाई समस्या छ । घरि कुन मन्त्रालय, घरि कता जाउ भन्छन । यो त लगानी गर्न आयो, बच्चालाई बाटो पत्ता लगाऊ भनेर दिए जस्तै भयो । उसलाई लगानी गर्न गाह्रो हुन्छ ।
त्यसैले लगानी गर्ने उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न नेपालमा सजिलो, लाभदायक र सुरक्षित छ भन्ने सन्देश दिनु पर्छ । म भारतमा यही सन्देश दिन्छु, त्यहाँका उद्योगी, व्यवसायीहरुलाई । ऐन, कानुन अनुसार लगानी गर्न दिनु पर्छ र उनीहरुको सुरक्षा सरकारले गरिदिनु पर्छ ।
यो खबर कान्तिपुर दैनिकको हो |
Post a Comment