नेपालले स्वर्ण पदक यसरी पाउन सक्छ

सिलोङ (भारत): १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले प्रतिस्पर्धात्मक खेलमा गुमाएको एउटा स्वर्ण पदक फिर्ता पाउने सम्भावना बढेको छ । नेपालकी रेजिना कार्की शनिबार भएको महिलातर्फको ४६ केजी तौल समूहको फाइनलमा पाकिस्तानी खेलाडी यास्मिन मोहम्मद खानसँग ‘गोल्डेन प्वाइन्ट’ का आधारमा पराजित भएपछि रजत पदकमा सीमित भएकी थिइन् ।
तर फाइनलमा रेजिनालाई हराउने खेलाडीलाई पाकिस्तानले नियमविपरीत प्रतियोगितामा सहभागी गराएको सुइँको पाएपछि नेपाली खेल पदाधिकारीले त्यसविरुद्घमा आयोजकसमक्ष ‘प्रोटेस्ट’ हालेका छन् । पाकिस्तानले नियमविपरीत खेलाडीलाई प्रतियोगितामा सहभागी गराएको पुष्टि भए स्वर्ण विजेता यास्मिनलाई अयोग्य घोषित गरिनेछ ।
यस्तो स्थितिमा यास्मिनले जितेको स्वर्ण पदक रेजिनाले पाउनेछिन् । विश्व तेक्वान्दो महासंघको नियमअनुसार १७ वर्षभन्दा कम उमेरको कुनै पनि खेलाडीलाई सागजस्ता सिनियर स्तरका ठूला प्रतियोगितामा सहभागी गराउन पाइँदैन । १७ वर्षभन्दा कम उमेरका खेलाडीलाई जुनियर स्तरको प्रतियोगितामा मात्र खेलाउन पाइन्छ ।
तर पाकिस्तानले सागमा सहभागी गराएको यास्मिनको उमेर १७ वर्षभन्दा कम रहेको जानकारी पाएपछि शनिबार अबेर नेपाली खेल अधिकारीले उक्त विषयमा आयोजकसँग गुनासो गरेका थिए । त्यसपछि आयोजकले पाकिस्तानी खेल अधिकारीसँग यास्मिनको वास्तविक उमेर पुष्टि गर्न उनको पासपोर्ट (राहदानी) माग गरेको थियो ।
पाकिस्तानी खेल अधिकारीले भने आइतबार अबेरसम्म पनि यास्मिनको राहदानी उपलब्ध गराएका छैनन् । ‘हामीले गुनासो गरेपछि आयोजकले पाकिस्तानी खेल अधिकारीसँग शनिबार यास्मिनको राहदानी मागेको थियो तर आइतबार साँझसम्म पनि पाकिस्तानले राहदानी उपलब्ध गराएको छैन’, एक नेपाली खेल अधिकारीले भने ।
ती खेल अधिकारीका अनुसार आरोप पुष्टि भएमा पाकिस्तानले जितेको स्वर्ण पदक खोसिने मात्र होइन पाकिस्तानलाई थप कारबाहीसमेत हुन सक्छ । तर उक्त स्पर्धाको पदक वितरणसमेत भइसकेकाले ‘प्रोटेस्ट’ को कारबाही अघि बढाउन भने केही समय लाग्न सक्छ ।
नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले पनि समाचारको पुष्टि गरेका छन् । पाकिस्तानले नियम मिचेर खेलाडी सहभागी गराएको जानकारी पाएपछि आफूहरूले त्यसको विरोधमा ‘प्रोटेस्ट’ हालेको उनले बताए ।
‘नियमअनुसार सिनियर स्तरको प्रतियोगितामा १७ वर्षभन्दा कम उमेरको खेलाडी सहभागी गराउन पाइँदैन तर पाकिस्तानले नियम मिचेर खेलाडी सहभागी गराएको जानकारी पाएपछि हामीले प्रोटेस्ट हालेका हौं,’ उनले भने ।
tajaheadline
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget