तेह्रौं साग खेलकुद २०१८ मा नेपालमा



सिलोङ- दक्षिण एसियाली खेलकुदको १२ औं संस्करणलाई मंगलबार गुवाहटी र सिलोङले सहरले बिदाइ गर्दा नेपालले भने एउटा ठूलो जिम्मेवारी पाउनेछ। त्यो हो, १३ औं दक्षिण एसियाली खेलकुदको आयोजना अधिकार नेपालले लिँदैछ।

नेपालबाटै सन् १९८४ मा क्षेत्रीय खेलकुदको अवधारणामा सुरु भएको दक्षिण एसियाली खेलकुदको आठौं संस्करण १९९९ मा काठमडौंमै आयोजना भएको थियो।

गुवाहटीस्थित इन्दिरा गान्धी स्टेडियममा १२ औं सागको भव्य समापन हुँदा नेपालले त्यो जिम्मेवारी पाउनेछ।

तीन वर्षभित्र आयोजना गर्ने गरी नेपालले आयोजना अधिकार लिनेछ। सोमबार बसेको साउथ एसियन ओलम्पिक काउन्सिलको बैठकले सन् २०१८ मा आयोजना गर्ने गरी नेपाललाई सागको झन्डा हस्तान्तरण गर्ने निर्णय गरेको छ।

नेपालले पालोअनुसार नै आयोजना अधिकार पाएको हो। बैठकमा २०१७ मा गर्न प्रस्ताव राखिए पनि त्यो समयमा नेपालले आयोजना गर्न नभ्याउने बताएपछि अर्को वर्षका लागि निर्णय गरिएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी गराए। उनका अनुसार मिति पनि पछि तय गरिनेछ। सार्कका आठै सदस्य राष्ट्रका प्रतिनिधि सहभागी काउन्सिलको बैठकमा नेपालबाट अध्यक्ष श्रेष्ठ, महासचिव लामा टेन्डी शेर्पा र सदस्य नीलेन्द्र श्रेष्ठले भाग लिएका थिए।

स्वागतमा छौं हामी...
सागको झन्डा हस्तान्तरणका क्रममा नेपालले आफ्नो प्रस्तुति दिनेछ। १३ औंं सागका लागि स्वागत गीत (स्वागतमा छौं हामी बुद्ध जन्मभूमिमा, उभिएका हुनेछ सगरमाथा सामुमा बोलको गीत) बनाइएको छ।उक्त गीतको रचना दिनेश अधिकारीको रचना गरेका हुन। उक्त गीतलाई प्रकाश गुरुङले संगीत भरेका छन। राजेशपायल राई र रिमा गुरुङले गाएका छन्।

१३ औं साग आयोजनाको झन्डा युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले समाउने नेपाली समारोह समितिका संयोजक कुलबहादुर थापाले जानकारी गराएका छन्। त्यसबीच नेपाली सांस्कृतिक टोलीले प्रस्तुति दिनेछ। त्यसका लागि गुवाहाटीमा टोली सातादेखि अभ्यास गरिरहेको छ। झन्डा लिएपछि नेपाल ओलम्पिक कमिटिीका अध्यक्ष जीवनराम श्रेष्ठले १३ औं सागको निमन्त्रणा मन्तव्य राख्ने कार्यक्रम छ। त्यसपछि नेपालको ऐतिहासिक सम्पदा, संस्कृति, जनसंख्या र भूगोलको बारे तीनमिनेटको भिडियो प्रस्तुति देखाइनेछ।

तीन स्वर्ण
२३ खेलको सहभागिता रहेको जारी सागमा नेपालले पुरुष फुटबलसहित तीन स्वर्ण जितिसकेको छ। मंगलबार अन्तिम दिन जुडोको ४ तौलसमूहमा नेपाली खेलाडीको प्रतिस्पर्धा बाँकी छ।

गुवाहटीस्थित इन्दिरा गान्धी स्टेडियममा भारतलाई २–१ ले हराएर २३ वर्षपछि दक्षिण एसियाली फुटबलको स्वर्ण जितेको दिन जुडोकी फुपुल्हामु खत्रीले जुडोबाट स्वर्ण दिलाइन्। फुपुले जितेको स्वर्ण पनि नेपाली जुडोका लागि २१ वर्षपछिको पहिलो स्वर्ण हो। आठौंदेखि लगातार स्वर्ण जित्दै आएको तेक्वान्दो स्वर्णविहीन हुँदा केही नयाँ खेलले पदक दिलाएका छन्।

सोमबारसम्म नेपालले ३ स्वर्ण, २३ रजत र २९ कांस्यसहित छैटौं स्थानमा छ। दक्षिण एसियाली शक्ति राष्ट्र आयोजक भारत १८१ स्वर्णसहित पहिलो स्थानमा छ। श्रीलंकाले २५ स्वर्ण, पाकिस्तानले १०, अफगानिस्तानले ७ र बंगलादेशले ४ स्वर्ण जितेका छन्। माल्दिभ्स र भुटान भने स्वर्णविहीन अवस्थामा छन्।

ह्यान्डबलको हार
महिलातर्फ कांस्य पदकका लागि भएको प्रतिस्पर्धामा नेपाली टोली पाकिस्तानसँग २८–२४ को झिनो अन्तरले पराजित हुँदै पदक गुमाएको छ। नेपाल पहिलो हाफमा १७–११ ले पछाडि पर्दा दोस्रो हाफमा पाकिस्तानले ११ गोल गर्दा नेपालले १३ गोल गरेको थियो।

पुरुषतर्फ नेपालले कांस्य पदकका लागि बंगलादेशसँग खेल्नेछ। दोस्रो सेमिफाइनलमा नेपाल आयोजक भारतसँग ५१–२३ गोलले पराजित भएपछि तेस्रो स्थानको हकदार भएको हो।

सुटिङ असफल
महिला १० मिटर एयर पेस्तोलमा नेपाली टोली पाँचौं स्थानमा रहे। मनिका राईले ३५०, बबिता बस्नेतले ३४३ र सीमा तुलाधरले ३३९ अंक जोडेका थिए। समग्रमा १०३२ स्कोर गर्दै नेपाल पाँचौं हुँदा भारतले ११३३ स्कोरबाट स्वर्ण जित्यो। बंगलादेश (११०३) ले रजत र श्रीलंकाले १०९३ बाट कांस्य जितेका थिए। व्यक्तिगततर्फको तीनवटै पदक भारतीय खेलाडीले जितेका थिए।

यसपटक सुटिङले एउटै पदक जित्न सकेन। पछिल्लो ढाका सागमा नेपालले एयर राइफलको टिम इभेन्टमा कांस्य पदक ल्याएको थियो।
nagariknews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget