उच्च रक्तचाप नियन्त्रणपछि पनि मस्तिष्कघात



२०७२ माघ २९ शुक्रबार

काठमाडौं: पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीरलाई देखेको केही समयमै गत मंगलबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्य एक्कासि ढल्न पुगे । उपचारका लागि उनलाई नजिकै रहेको सहिद गंगालाल हृदयरोग केन्द्रमा पुर्‌याइयो ।

चिकित्सकले त्यहाँबाट बाँसबारीस्थित नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड अलाइड साइन्सेस (न्युरो हस्पिटल­) रिफर गरे । जाँच गर्दै जाँदा आचार्यलाई मस्तिष्कघात (ब्रेन हेमोरेज) भएको पुष्टि भयो ।


सामान्यतया अत्यधिक धूमपान, मद्यपान गर्ने, अस्वस्थकर जीवनशैली अपनाउने, मधुमेह, उच्च कोलेस्टेरोल भएका र धेरै व्यस्त हुने र तनाव लिने व्यक्तिलाई मस्तिष्कघात हुन्छ भन्ने बुझाइ समाजमा रहेका बेला नेता आचार्यजस्तो साधारण र अनुशासित जीवनशैली अपनाउँदै आएका व्यक्तिलाई कसरी मस्तिष्कघात भयो ? भन्ने प्रश्न परिवार, आफन्त र शुभेच्छुकहरूबीच उब्जियो ।

खोजीनीति गर्दै जाँदा थाहा भयो नेता आचार्यले २५ वर्षदेखि उच्च रक्तचापको समस्या भोगिरेहका रहेछन् । जसको नियन्त्रणका लागि उनले औषधिसमेत सेवन गर्दै आएका रहेछन् ।

औषधिको सेवनबाट रक्तचाप नियन्त्रणमा आइरहेका बेला कसरी उनलाई मस्तिष्कघात भयो त ? यो प्रश्न पनि परिवारले उठाए । चिकित्सकको टोलीले आचार्यलाई पुष्टि हुनु पहिलै नै उच्च रक्तचाप भएको हुन सक्ने, पुष्टि भएपछि औषधि सेवनमा तालमेल नमिलेको हुन सक्नेमध्ये एउटा कारणले गर्दा उनलाई मस्तिष्कघात भएको ठहर गरे ।

जसबारे पर्याप्त जानकारी सबै नेपालीलाई नहुँदा कष्ट हुनेमात्र होइन जीवन गुमाउनुपर्ने बाध्यता रहेको आचार्यको उपचारको नेतृत्व गरिरहेका न्युरोसर्जन डा. उपेन्द्र देवकोटा बताउँछन् ।

आचार्यको स्वास्थ्यबारे आयोजना गरिएको पत्रकार सम्मेलनमा डा.उपेन्द्रले पटकपटक दोहोर्‌याए, ‘उच्च रक्तचापले मुटु, मिर्गौला र आँखामामात्र क्षति पुर्‌याउँदैन मस्तिष्कलाई पनि नराम्रो असर पुर्‌याउँछ । जुन आममानिसलाई थाहा छैन ।' उनका अनुसार रक्तचाप बढ्ने समस्या सुरु भएदेखि औषधि सेवन गर्ने समय अवधिले पनि ठूलो प्रभाव पार्छ ।

‘कसैले १० वर्षदेखि उच्च रक्तचापको औषधि सेवन गरिरहेका छन् भने त्यसको १० वर्षपछि मस्तिष्कघात हुन पनि सक्छ', उनले थपे, ‘त्यसो हुनुको मुख्य कारण हो औषधि सुरु गर्नु वा पत्ता लाग्नु पहिले नै ती व्यक्तिलाई उच्च रक्तचाप भएको रहेछ भने त्यो बेला नै दिमागको रगतको नसामा क्षति पुगिसकेको हुन्छ । त्यसपछि उच्च रक्तचाप नियन्त्रण गरेर हृदयाघात त रोक्न सकिन्छ तर मस्तिष्कघात रोक्न मुस्किल पर्छ ।'

उच्च रक्तचाप नियन्त्रण गरे मुटुरोगसम्बन्धी रोगबाट बच्न सकिने सन्देश फैलिँदै जानु आफैंमा सकारात्मक रहेको उनको भनाइ छ । यद्यपि मस्तिष्कघातबारे चेतना पर्याप्त फैलिन नसक्दा उच्च नेतादेखि सर्वसाधारणको यो रोगबाट ज्यान जाने क्रम बढेको उनले बताए । सरकारले मस्तिष्कघातबारे चेतना फैलाउन कुनै प्रभावकारी कदम चाल्न नसकेको उनको गुनासो छ ।

उच्च रक्तचाप र मस्तिष्कघातको सम्बन्धबारे चेतना सबैमा नपुग्नुको दोष उनी आफैं पनि लिन्छन् । भन्छन्, ‘यसमा दोष हामी चिकित्सकको पनि छ, हामीले सञ्चारमाध्यमदेखि सर्वसाधारणलाई पर्याप्त जानकारी दिन सकिरहेका छैनौं । सरकारले त्यसका लागि साधनस्रोत नदिएकाले पनि हामी दुईचारजना मात्र लडिरहेका छौं । त्योभन्दा बेग्लै कुनै काम भएको छैन ।'

मिर्गौला फेल हुनुको पनि एउटा मुख्य कारण उच्च रक्तचाप हो । मिर्गौला फेल भएपछि अधिकांश मानिस डायलिसिस (मिर्गौलाले गर्ने काम मेसिनले गर्ने विधि) वा मिर्गौला प्रत्यारोपणका लागि भौंतारिरहेको पाइन्छ । तर उच्च रक्तचाप नियन्त्रण गरे पनि मिर्गौलामा समस्या देखिएका मस्तिष्कघात हुनेबारे धेरैलाई जानकारी नभएको देवकोटा बताउँछन् ।

त्यसैले उच्च रक्तचाप पत्ता लागेपछि ‘औषधि खानु हुँदैन बानी पर्छ भन्ने’ भ्रम चिर्दै उच्च रक्तचाप हुनासाथ नियमितरूपमा औषधि सवेन गर्नुपर्छ । चिकित्सकका अनुसार यदि औषधि मन लागे खाने मन नलागे नखाने गर्न थालियो भने मिर्गौलामा पनि नकारात्मक असर देखा पर्छ । मिर्गौलामा समस्या सुरु भएसँगै मस्तिष्कघात हुने सम्भावना पनि कायमै रहन्छ ।


मुटुसम्बन्धी रोगबाट बच्नका लागि उच्च रक्तचाप नियन्त्रण गरे पुग्ने भए पनि मिर्गौला र मस्तिष्कघातको सम्भावना रहने भएकाले उच्च रक्तचापको समस्या सुरु भएदेखि नै नियमितरूपमा औषधि सेवन गर्नुपर्ने डा.देवकोटा बताउँछन् । कतिपयले उच्च रक्तचाप नियन्त्रणको औषधिले ‘साइड इफेक्ट' गर्छ भन्दै सकेसम्म ढिलो औषधि सेवन गर्छन् । त्यो पनि मस्तिष्कघातको कारण भएको उनी बताउँछन् ।

ग्रान्डी इन्टरनेसल हस्पिटलका कार्डियोलोरिस्ट डा. ओममूर्ति अनिलका अनुसार विज्ञान र अनुसन्धानलाई मान्ने हो भने उच्च रक्तचापको औषधि खानु ठूलो बुद्धिमानी हो र नखानु वा समयमै नखानु मूर्खता पनि । विश्व स्वास्थ्य संगठनका अनुसार मुटुरोगले हुने मृत्युको ४५ प्रतिशत र मस्तिष्कघातले हुने मृत्युको ५१ प्रतिशत कारण उच्च रक्तचाप हुने गरेको छ ।

विश्वका २५ वर्षमाथिका ४० प्रतिशत र १८ वर्ष माथिका २२ प्रतिशतमा उच्च रक्तचाप भएको पाइन्छ । नेपालमा विभिन्न अध्ययनहरूको आधारमा लगभग ३० प्रतिशत वयस्कमा उच्च रक्तचाप भएको पाइन्छ । काठमाडौं उपत्यकामा गत वर्ष गरिएको एक अध्ययनमा पहिलेदेखि थाहा नभएको ३० प्रतिशत वयस्कहरूमा उच्च रक्तचापको अवस्था फेला परेको थियो ।

डा. मूर्तिका अनुसार कुनै पनि लक्षण नै नदेखाई भित्रभित्रै मस्तिष्कका रगतका नसाहरूमा असर गरेर अचानक मृत्युको मुखमा पु‍याउने भएकाले उच्च रक्तचापलाई ‘साइलेन्ट किलर' पनि भन्ने गरिन्छ । ‘अचानक कुनै दिन मस्तिष्कघात भएपछिमात्रै उच्च रक्तचाप भएको थाहा पाउने मानिसको संख्या पनि नेपालमा प्रशस्त छ', उनले भने ‘सजिलैसँग एक–दुईवटा औषधि खाएर नियन्त्रण हुने उच्च रक्तचापले अत्यन्तै जोखिमपूर्ण रोगको रूपमा आफ्नो उपस्थिति कुनै बेला पनि देखाउन सक्छ ।'

उच्च रक्तचापको लक्षण प्रायजसो नदेखिने भएकाले यसको समयमै पहिचान, उपचार वा नियन्त्रण गर्न अप्ठ्यारो भएको चिकित्सक बताउँछन् । त्यसैले नियमित रक्तचाप नाप्ने, रक्तचाप भएको पुष्टि भए तत्कालै औषधि सेवन गर्नुपर्छ । त्यसो गरिएन भने मस्तिष्कघात प्राणघात रोगको जोखिममा बस्नुपर्छ । कतिपय मानिसले उच्च रक्तचापको औषधि सुरु गरेपछि जीवन रहेसम्म खानुपर्छ भन्दै औषधि ढिला सुरु गरेको पाइन्छ ।

त्यो नै मस्तिष्कघातको कारण बन्न सक्ने डा. मूर्तिको भनाइ छ । ‘पहिलो कुरा मानिस नियमित रक्तचाप जाँच गर्दैन, जाँच गर्दा उच्च रक्तचाप पत्ता लागि हाल्यो पनि सुरुमा औषधि खाँदैनन्, औषधि खान सुरु गरिहाले भने पनि छोड्दै खाने गर्छन्, उनले भने, ‘यस्ता हेलचेक्र्याइँका कारण अकालमै मृत्युवरण गर्नु पर्ने अवस्था आउने गर्छ ।'

डा. मूर्तिका अनुसार एकपटक औषधि सुरु गरेर नियन्त्रणमा रक्तचाप आइसकेपछि सम्बन्धित चिकित्सकको सल्लाहबिना अचानक बन्द गरेमा रक्तचाप एक्कासि बढ्न सक्छ । औषधि बन्द गर्दा अचानक रक्तचाप बढेर मस्तिष्कघात हुने सम्भावना बढी हुन्छ । ‘आफ्नै स्वास्थ्यमाथि प्रतिकूल असर हुने गरी कसैले किन औषधि नखाने, मात्रा घटाउने, अनियमित खाने, बन्द गर्ने गर्छन् त ? उनले भने, ‘यसको सबैभन्दा प्रमुख कारण हो उच्च रक्तचाप र यसमा प्रयोग गरिने औषधिका बारेमा जानकारीको कमीले समाजमा फैलिएका भ्रमहरू ।'

उनका अनुसार उच्च रक्तचापका औषधिहरू लामो समयसम्म प्रयोग गर्दा साइडइफेक्ट हुन्छ भन्ने पहिलो भ्रम हो । औषधिले मिर्गौलालाई असर पार्छ भन्नु दोस्रो भ्रम हो । बानी पर्छ र छुटाउन मिल्दैन भन्ने तेस्रो भ्रम हो ।

बाँचुञ्जेल खानुपर्छ भन्ने चौथो भ्रम हो । पर्याप्त जानकारीको अभावसँगै स्वास्थ्यप्रतिको असंवेदनशीलता, आर्थिक समस्या र औषधिको उपलब्धता नहुनु पनि उच्च रक्तचापका कारण मानिसले मस्तिष्कघातबाट ज्यान गुमाउछ । औषधि सकिएपछि नकिन्ने, चिकित्सकसँग भेट्न ढिलो गर्ने, दुई–चार दिन औषधि नखाए केही फरक पर्दैन भनी सोच्ने आदि प्रवृत्ति भएका प्रशस्त छन् ।

सर्वसाधारणदेखि बुद्धिजीवी र स्वास्थ्यकर्मीहरू समेतले विभिन्न कारण देखाएर उच्च रक्तचापको औषधि सेवन नगरेको पाइन्छ । आर्थिक अवस्था कमजोर भएकालाई महंगो औषधि र सजिलैसँग सबै ठाउँमा नपाउने औषधि खाउ भन्नु पनि लामो समयसम्म निरन्तर औषधिको सेवन नहुनुको एउटा प्रमुख कारण हो ।

नुनिलो र चिल्लो आहार, मदिरा, चुरोटको सेवन, मोटोपन, शारीरिक गतिविधिमा कमी, बढ्दो उमेर र वंशाणुगत कारणले उच्च रक्तचाप हुन सक्छ । यसमा ध्यान पुर्‌याउनुपर्छ । मस्तिष्कमा रक्त प्रवाहमा अवरोध भएपछि उत्पन्न हुने समस्या नै मस्तिष्कघात हो ।

चिकित्सकका अनुसार मस्तिष्कका कोषिकामा रगतको माध्यमबाट अक्सिजन पुग्ने गर्छ । तिनै अक्सिजनका माध्यमले नै मस्तिष्कले काम गर्छ । तर, रक्त प्रवाहमा अवरोध हुँदा त्यो प्रक्रिया रोकिन्छ र दिमागका कोषिकाहरू मर्छन् ।

मस्तिष्कमा रगत आपूर्ति गर्ने नसाहरू फुटेर वा थुनिएर रगत प्रवाह रोकिन पुग्छ । रगत प्रवाह रोकिनेबित्तिकै मस्तिष्कका कोषिकाहरूमा अक्सिजन प्रवाह हुन सक्दैन र मस्तिष्कका तन्तुहरू मर्न थाल्छन् । जसबाट मानिस बेहोस हुन पुग्छ । शरीरका विभिन्न भागहरू चल्न छोड्छन् । समयमै उपचार गरिएन भने बिरामीको मृत्युसमेत हुने गर्छ ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget