यो लगभग नेपालको हातबाट फुस्केको म्याच थियो । खेल सकिन दुई मिनेट बाँकी रहँदासम्म नेपाल एक गोलले पछि मात्र परेको थिएन, नियमित समयको ६५ औं मिनेटबाटै एक खेलाडी रेड कार्ड खाएर गुमाएको अवस्थामा थियो । कुनै पनि स्तरको अन्तर्राष्ट्रिय फुटबलमा अन्तिम दुई मिनेटमा दुई गोल गरेर नतिजा उल्टाउन सानोतिनो चमत्कारै गर्नुपर्छ । नेपालले चमत्कार शैलीमै जित हत्यायो ।
५ खेलमा १० गोल, ३ ह्याट्रिक
गतिलो स्ट्राइकरको अभावमा छट्पटाइरहेको नेपाली फुटबललाई नवयुगको आगमनले त्राण दिएको छ । आफूले खेलेका पछिल्ला ५ अन्तर्राष्ट्रिय खेलमा ३ ह्याट्रिकसहित उनले १० गोल नेपालका लागि गरिसकेका छन् । नेपाली फुटबलको पृष्ठभूमिमा यो अविश्वसनीय सफलता हो ।
अन्तर्राष्ट्रिय म्याचमा नेपालका लागि सर्वाधिक व्यक्तिगत गोलसंख्या रहेको छ १३ । हरि खड्काले १२ वर्ष संघर्ष गरेर बनाएको सो रेकर्ड बनाएका हुन् ।
यीनै नवयुग हुन्, जो एक महिना अगाडि नेपाललाई २३ वर्षपछिको पहिलो अन्तर्राष्ट्रिय उपाधि दिलाउने अभियानको प्रमुख सूत्रधार थिए । बंगलादेशमा एक माघको पहिलो साता सम्पन्न बंगबन्धु कपको सेमिफाइनलमा उनले माल्दिभ्सविरुद्ध ह्याटि्रक गर्दै अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो धमाका सुरु गरेका थिए । फाइनलमा बहराइनलाई हराउने क्रममा उनले आफ्नो खातामा एक गोल थपे । सो प्रतियोगितामा उनले सबैभन्दा मूल्यवान खेलाडीको उपाधि पनि पाए ।
बंगबन्धु कपमा नवयुगले पाएको सफलता क्षणिक वा भाग्यशाली मात्र थियो कि भनेर आशंका गर्नेहरुले जवाफका लागि लामो समय कुर्नुपरेन । साग फुटबलको पहिलो म्याचमा भुटानविरुद्ध उनले हाँसिहाँसी आफ्नो दोस्रो ह्याट्रिक पूरा गरे ।
Nepali-Football1
उनीअघि कुनै पनि नेपाली खेलाडीले यो सफलता हासिल गरेका थिएनन् । जारी साग फुटबलमा दुई ह्याटि्रक गोल गर्ने उनी एक्ला खेलाडी हुन् ।
नवयुग र विमलको तुलना
बंगबन्धु कपमा खेल्न जानुअघिसम्म नेपाली टोलि विमल घर्तिमगरमा अत्यधिक निर्भर रहेको महसुस गरिएको थियो । बिमलको प्रर्दशन अपेक्षाअनुरुप प्रेरणादायी रह्यो पनि । तर, उनलाई नवयुगले फिका पारिदिए ।
Nepali-Football
यद्यपि, बंगबन्धु कपको प्रदर्शनका आधारमा नवयुग र विमलमा को उत्कृष्ट स्ट्राइकर भन्न मुस्किल पर्ने अवस्था थियो । सागको प्रदर्शनले नवयुग विमलभन्दा अगाडी देखिएका छन् । २५ वर्षीय नवयुगले आफ्नो र्फमलाई निरन्तरता दिनसके उनी नेपालले अहिलेसम्म उत्पादन गरेको सर्वोत्कृष्ट स्ट्राइकर सावित हुन सक्छन् ।
खेल कौशलको हिसाबले नवयुग र विमललाई हाराहारीमा राख्न सकिन्छ । तर, फिनिसिङमा नवयुग अब्बल देखिएका छन् । आफूले पाएको मौका सदुपयोग गर्ने उनको अठोट अत्यन्त बलियो छ । विमल र नवयुगको तालमेल मिलेको खण्डमा नेपालले बलिया टोलीहरुलाई पनि स्तब्ध पार्न सक्ने क्षमता देखाएको छ ।
भारतविरुद्ध के गर्लान् ?
मालदिभ्सविरुद्ध नवयुगको प्रदर्शनले फाइनलको प्रतिस्पर्धी भारत आतंकित बनेको हुनुपर्छ । यसको परिणाम, फाइनलमा भारतीय टोलीले नवयुगलाई सबैभन्दा बढि मार्क गर्ने छ । यसको फाइदा विमल र अन्जन विष्ट जस्ता स्ट्राइकरले उठाउनु पर्छ ।
यद्यपि, उत्कृष्ट स्ट्राइकर त्यो हो जसले चौतर्फी घेरावन्दीका बीचबाट पनि गोल निकाल्छ । विपक्षी खेलाडीले मार्क नगरेकाले मेस्सी सर्वश्रेष्ठ बनेका होइनन् । माल्दिभ्सविरुद्धको प्रदर्शनका कारण भारतविरुद्ध नेपाल आत्मविश्वासपूर्वक मैदानमा उत्रिनेछ ।
यी हुन् नवयुग ?
– इलामको मंगलबारेमा २०४७ सालमा जन्मेका नवयुग एक सरकारी शिक्षकका छोरा हुन् ।
-एन्फाले आयोजना गरेको १४ वर्षमुनिको राष्ट्रव्यापी जिविस फुटबल प्रतियोगिताको उपाधि दुईपटक इलामले लैजाँदा नवयुग टोलीका प्रमुख खेलाडी थिए ।
-फुटबलमा लागेर प्लस टु पास गर्न नसकेका नवयुग २०६५ सालदेखि सेनामा जागीर खान थाले । उनी नेपाली सेनाका सिपाही हुन् ।
-नवयुग आफूलाई फुटबलरभन्दा अगाडी नेपाली आर्मीका रुपमा चिनाउन रुचाउँछन् । एक महिनाअघि अनलाइनखबरसितको कुराकानीमा उनले भनेका थिए, ‘म पहिले नेपाली आर्मी हुँ, अनि मात्र फुटबलर ।’
-२०६९ सालमा सम्पन्न राष्ट्रिय लिगमा सर्वाधिक गोलकर्ता बनेका थिए नवयुग । अघिल्लो वर्षको प्रतियोगितामा पनि १४ गोल ठोक्दै उनी सर्वाधिक गोलकर्ता तथा प्लेयर अफ दि टुर्नामेन्ट घोषित भएका थिए ।
-नवयुगले पुनेमा आयोजित भारतसितको मैत्रीपूर्ण म्याचमा पहिलोपटक राष्ट्रिय टिमबाट डेब्यू गरे ।
यद्यपि, उनी पहिलो रोजाईमा थिएनन् । प्रतिस्थापनका रुपमा मैदान छिरेका उनले २५ मिनेट बिताएका थिए । त्यसपछिको साफ च्याम्पियनसिपमा उनलाई अनिल गुरुङको प्रतिस्थापनमा मैदानमा उतारिएको थियो ।
onlinekhabar
Post a Comment