गृहनगर धरानमा राजु शाक्य र प्रकाश बुढाथोकी खेलाडीलाई भव्य स्वागत सम्मान

धरान–दक्षिण एसियाली खेलकुद(साग)अन्र्तगत फुटबलमा २३ वर्षपछि स्वर्ण पदक दिलाउन सफल नेपाली राष्ट्रिय टिमका प्रमुख प्रशिक्षक राजुकाजी शाक्य र खेलाडी प्रकाश बुढाथोकी गृहनगर धरानमा नगदसहित सम्मानित भएका छन्।

शुक्रबार धरानमा पाइला टेकेदेखि नै भव्य स्वागत पाएका दुवैलाई शनिबार आधा दर्जन बढी संघसंस्थाहरुले नगदसहित सम्मान गरेको हो। दक्षिण एसियाली फुटबलमा नेपाललाई सफलताको शिखरमा पुर्याएर धरानको पनि गौरव बढाएको भन्दै दुवैलाई जनस्तरबाटै सम्मान गरिएको ती संघसंस्थाहरुले जनाएको छ। धरान उपमहानगरपालिकाको प्रांगणमा आयोजित कार्यक्रममा धरान फुटबल क्लबले शाक्य र बुढाथोकीलाई जनही नगद २५ हजार प्रदान गर्यो भने प्याब्सन सुनसरीले जनही ११ हजार १ सय ११ रुपैया प्रदान गर्यो।

फुटबल क्लबका अध्यक्ष एवं एन्फा उपाध्यक्ष किसो राईले प्रशिक्षक शाक्य र खेलाडी बुढाथोकीलाई नगद प्रदान गरे भने प्याब्सनका अध्यक्ष नगरबहादुर थापाले नगद प्रदान गरे। यसैगरी, सोही कार्यक्रममा धरान उपमहानगरपालिकाको तर्फबाट कार्यकारी अधिकृत टिकादत्त राईले दोसाल्ला ओढाउनुका साथै दुबैलाई सम्मान पत्र प्रदान गरे। यसैगरी, शाक्य कल्याण संस्था, सम्यक शिक्षा समुह, धरान जेसिज र धरान फुटबल फ्यान क्लबले पनि सम्मान पत्रसहित प्रशिक्षक शाक्य र बुढाथोकीलाई सम्मान गर्यो।

त्यसअघि, बिहानै भानुचौकमा आयोजिन नेवा च्यारिटी ८ के.रन कार्यक्रममा पनि आयोजक धरान रनले शाक्य र बुढाथोकीलाई ताम्रपत्रसहित सम्मान गरेको थियो। त्यहा सम्मान गरेलगत्तै गाडीमा राखेर दुवैजनालाई र्यालीसहित नगर परिक्रमा गराउँदै उपमहानगरपालिकाको प्रांगणमा लगिएको थियो। सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशिक्षक शाक्यले साग फुटबलमा जितेको स्वर्ण पदक बैशाखको भूकम्पमा मृत्यु भएका नेपाली र भारतीय नाकाबन्दीबाट पीडित जनताप्रति सर्मपण गरेको बताए। मन्तव्यको क्रममा आफ्ना स्वर्गीय आमा बुबाको स्मरण गर्दागर्दै उनी एक्कासी भक्कानिएर रुएपछि एक छिन सबै भावुक बनेका थिए। 'मेरो बुबा सानुकाजी शाक्य र आमा देवीमायाको साथ, सहयोग नभईदिएको भए म आज यो ठाउँमा पुग्ने थिइन, म उहाँहरुप्रति धेरै धेरै कृतज्ञ छुँ',–सम्हालिँदै उनले भने।

गत १२ औं साग फुटबलको फाइनलमा २३ बर्षपछि भारतलाई हराउदै नेपालले स्वर्ण पदक जितेको थियो । फाइनलमा वैकल्पिक खेलाडी प्रकाशलाई मैदानमा उतार्नु आफ्नो सही निर्णय भएको प्रशिक्षक शाक्यले बताए । 'कोचले भेदभाव गर्छ भन्ने आरोप लगाउछन्, तर त्यो सत्य होइन । हामी ठिक समयमा ठिक निर्णय गछौं, हामीलाई रिजल्ट मात्रै चाहिन्छ',उनले भने–'प्रकाशले माल्दिभ्ससँगको खेलमा नै कौशल देखाएको थियो। फाइलनमा पनि विश्वास गरेर उतारे, उसले सही सावित गर्यो । फाइनलको म्यान अफ दि म्याच मेरो लागि उही हो । उसको फ्रिकिक रोनाल्डोको भन्दा कम थिएन ।'

प्रशिक्षक शाक्यले धरानमा आफ्नै नाममा फुटबल एकेडेमी स्थापना गर्ने इच्छा व्यक्त गर्दै सबैबाट सहयोगको अपिल पनि गरे। फुटबलको विकास र क्षमतावान् खेलाडी उत्पादन गर्न राज्यले देशैभरि स्तरीय खेल मैदान बनाउनुपर्ने पनि उनको भनाइ थियो। खेलमा हारजित स्वाभाविक हुने भन्दै प्रशिक्षक शाक्यले जित्दा मात्रै होइन, हार हुँदा पनि खेलाडीलाई हौसला बढाइदिन खेलप्रेमीहरुसँग आग्रह गरे।
nagariknews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget