कोइरालाको चन्दनबारे सामाजिक सञ्जालदेखि सिंहदरबारसम्म चर्चा

२६ माघ, काठमाडौं । सोमबार राति निधन भएका कांग्रेस सभापति सुशील कोइरालाको निधारमा बाक्लो चन्दन लेपन गरिएको विषयलाई लिएर सोमबार दिनभरि सामाजिक सञ्जालमा तीव्र जिज्ञासा प्रकट भयो ।
मृत्यूपछि सञ्चारमाध्यममा आएको तस्वीरमा कोइरालाको निधारको लगभग मध्यभागमा बाक्लो चन्दन लेपन गरिएको देखिन्छ । मृत्यूअघि सामान्यतया कोइरालाले निधारमा चन्दन दलेर हिँडेको देखिँदैनथ्यो । हिन्दू परम्पराअनुसार मृतकको निधारमा चन्दन लगाइदिने प्रचलन छ ।
सुशीलका सहयोगी अतुल कोइरालाले हरेक विहान एक ब्राम्हणले सुशीललाई पशुपतिबाट चन्दन ल्याएर लगाइदिने गरेको बताए ।
‘अरु दिनजस्तै हिजो बिहान पनि सुशीलदालाई उहाँले नै चन्दन लगाइदिनुभएको थियो,’ अतुलले अनलाइखबरसित भने, ‘प्रायः टोपी लगाउने भएकाले अरुबेला चन्दन छोपिन्थ्यो, आजचाहिँ देखियो ।’
लडेर वा ठोक्किएर निधारमा चोट लागेको हुन सक्ने भनी सामाजिक सञ्जालमा व्यक्त भइरहेको आशंकालाई अतुलले ठाडै इन्कार गरे । ‘कतै लड्नुभएको छैन, सबै नचाहिने हल्ला हुन्,’ उनले भने ।
कोइरालाका निजी चिकित्सक करवीरनाथ योगीले पनि सुशीलको निधारमा चोट लागेको सामाजिक सञ्जालमा व्यक्त आशंकालाई खण्डन गरेका छन् ।
‘कसले सुनायो तपाईंलाई यस्ता कुरा ?’ योगीले प्रतिप्रश्न गर्दै अनलाइनखबरसँग भने, ‘मृत्यू भएको व्यक्तिका विषयमा यस्ता टिप्पणीहरु गर्नु उपयुक्त होइन ।’
डा. योगीका अनुसार कोइराला दुई दिनअघि बाथरुम पस्दा अलिकति चिप्लेका थिए । तर, लडेका भने होइनन् ।
‘उहाँ बाथरुममा लड्खडाएपछि बेसिनमा समाएर सम्हालिनुभएको थियो, तर लड्नुभएको वा ठोकिएको होइन,’ उनले भने ।
चन्दन लगाएको स्थानमा र ओढेको कपडामा देखिएको सानो रातो दागका विषयमा प्रश्न गर्दा योगीले अनभिज्ञता प्रकट गरे । ‘मैले त्यस्तो केही याद गरेको छैन, अवीर लागेको हुन सक्छ,’ उनले भने ।
सिंहदरबारमा चर्चा
कोइरालाको चन्दनका विषयमा सामाजिक सञ्जालमा आशंका व्यक्त हुन थालेपछि कांग्रेसजनभित्र पनि तीव्र चर्चा-परिचर्चा भएको पाइएको छ । यस विषयमा जिज्ञासा प्रकट गर्दै सिंहदरबारमा समेत धेरैले फोन गरिरहेको स्रोतले बतायो ।
कतिपयले यस विषयमा सरकारले छानविन र अनुसन्धान गर्नुपर्ने माग समेत गरेको र यो विषय प्रधानमन्त्री केपी ओलीसम्म पुगेको स्रोतको भनाइ छ ।
कतिपयले सामाजिक सञ्जालमा आएका प्रतिक्रियामा टेकेर कोइरालाको मृत्यूलाई असामान्य एवं रहस्यमय बनाउन खोजेकोप्रति कोइरालाको पारिवारिक स्रोतले दुःख व्यक्त गरेको छ ।
(तस्बिर: यूपी लामिछानेको फेसबुक)
onlinekhabar


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget