के हो शिरोधारा ?
-डा. देवराज क्षेत्री, आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुर
आयुर्वेद तथा योग विज्ञानमा विभिन्न पद्धतिको वर्णन गरिएको छ । तनाव कम गर्नु या मानसिक शान्ति एवं सन्तुलन यसको मुख्य ध्येय हो । ती सबै ध्यान तथा प्रक्रियाको फाइदा हामी शिरोधाराबाट प्राप्त गर्न सक्छौँ । शिरोधारा एउटा स्थापित आयुर्वेदिक पद्धति हो । यसमा ब्राह्मी, शंखपुस्पी, जटामांसी, यस्टीमधु जस्ता औषधियुक्त तेल वा अन्य औषधियुक्त झोललाई निरन्तर धाराका रुपमा निश्चित समयसम्म निधारमा प्रवाह गरिन्छ । विशेष गरेर मनतातो औषधियुक्त तिलको तेल, दूध, तक्र (मोही) आदि विभिन्न अवस्थाअनुसार प्रयोग गरिन्छ । उदाहरणका लागि अनिद्रा भएको बिरामीमा मनतातो दूधको शिरोधाराले निकै राम्रो प्रभाव पार्छ ।
तरिका
मलमूत्रबाट निवृत्त भइसकेपछि व्यक्तिलाई हलुका मालिस गरिन्छ र आरामपूर्वक विशेष किसिमको धारा टेबलमा सुताइन्छ । विभिन्न धातुको वा माटोको धारापात्र शिरभन्दा केही माथि निधारमा धारा पर्ने गरी झुन्डाएर राखिन्छ । व्यक्तिको आँखामा तेल नपरोस् भनेर ढाकिन्छ र उसलाई शान्तसँग आराम गर्न भनिन्छ ।
मनतातो औषधियुक्त तेल वा अन्य औषधियुक्त झोल तयार गरिन्छ र धारापात्रमा राखेर पात्रको टुप्पामा रहेको कपडाको टुक्रा हँुदै शिरमाथि चुहाइन्छ । तेलको तापक्रम एकनासको हुनुपर्छ र ऋतुअनुसार जाडोमा अलिकति बढी तातो र गर्मीमा अलिकति कम तातो हुनुपर्छ । शिरोधारा दिएको आधा वा एक घन्टापछि मनतातो पानीले नुहाउन सकिन्छ तर केही समय बाहिर ननिस्कन आग्रह गरिन्छ ।
शिरोधाराको लाभ
हाम्रो शिरमा महत्वपूर्ण अंग, इन्द्रीय र अतिसंवेदनशील मस्तिष्क हुन्छन् । शिरमै सम्पूर्ण शरीरमा संवेदनाको केन्द्र, चाल उत्पन्न गर्ने केन्द्र, स्मृतिका केन्द्र, सोच्ने, तर्क गर्ने आदि केन्द्रहरु हुन्छन् । साथै ग्रन्थिहरूमा मास्टर ग्रन्थि भनेर चिनिने पिट्युटरी ग्लान्ड पनि हुन्छ । यसले शरीरका सम्पूर्ण ग्रन्थिलाई प्रभावित पार्छ ।
तसर्थ शिरोधाराले एकसाथ धेरै कार्य गर्छ । शिरोधारा निधारको बीचमा दिइन्छ । यो तेस्रो नेत्रको स्थान हो र यसलाई ज्ञानको केन्द्र पनि भनिन्छ । तसर्थ यसले ज्ञानको क्षेत्र फराकिलो बनाउन तथा स्मृतिसम्पन्न बनाउन मद्दत गर्छ । यसले शिरमा कमी रहेका तत्वहरुको पोषण गर्नुका साथै मस्तिष्कका केन्द्र तथा ग्रन्थीलाई सक्रिय पारी शरीरलाई सन्तुलित र स्वस्थ राख्छ । यति मात्र होइन, शान्त वातावरणमा निरन्तर स्निग्ध धारा प्रवाहले मनलाई शान्त गर्छ र आनन्दको अनुभूति दिलाउँछ ।
समय
वर्षभरि जुनसुकै ऋतुमा पनि शिरोधारा दिन सकिन्छ । एक पटकमा कति बेर दिने भन्ने कुरा व्यक्तिको प्रकृतिमा भर पर्छ । यदि व्यक्ति वात प्रकृतिको भए अलिकति बेसी समय दिनुपर्छ । पित्त प्रकृतिको भए अलिकति कम र कफ प्रकृतिको भए त्यो भन्दा अझै कम समय दिइन्छ । सामान्यतः शिरोधारा ३० मिनेट दिइन्छ ।
दिनुपर्ने अवस्था वा रोग
शिरोधाराले स्वस्थ व्यक्तिको स्वास्थ्यलाई सन्तुलित राख्छ भने रोगका अवस्थामा पनि उपयोगी हुन्छ । विशेष गरी कपाल झर्ने समस्या, अनिश्चित कारणले टाउको दुख्ने समस्या, अनिद्रा, चित्त अवसाद तथा उत्तेजना, मस्तिष्क सम्बन्धि रोगहरू जस्तै ः बालकमा हुने, तनाव र तनावको कारणले हुने समस्या जस्तै : ग्यास्ट्रिक, उच्च रक्तचाप, चय (अपचय क्रियाको असन्तुलन) कान कम सुनिने आदि अवस्थामा विभिन्न आधुनिक चिकित्सा अनुसन्धानले पनि शिरोधारा लाभदायी रहेको पाइएको छ ।
दिन नहुने अवस्था
लागूऔषध वा रक्सीको लत भएको, मुटुसम्बन्धी रोग भएको तथा अन्य रोग जस्तै क्रोनिक अब्स्ट्रक्टिभ पल्मुनरी डिस्अर्डस्, मेनिन्जाइटिस आदि संक्रामक तथा तुरून्त चिकित्सा गर्नुपर्ने अवस्थामा नदिने वा सावधानीपूर्वक दिनुपर्ने हुन्छ । स्वास्थ्य खबर बाट ।
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!
purbelinews
Post a Comment