धरानमा सम्मानित हुँदा भावुक भए राजुकाजी

फाल्गुन ९, २०७२- दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा स्वर्णपदक जिताउने नेपाली फुटबल टिमका प्रमुख प्रशिक्षक राजुकाजी शाक्यलाई धरान उपमहानगरपालिका, धरान फुटबल क्लबलगायत दर्जन संघसंस्थाले सम्मान गरिरहँदा शनिबार निकै भावविह्वल भए । उनीसागै प्रकाश बुढाथोकी पनि सम्मानित भए ।

माइक्रोफोन छेउमा उभिएर आफूलाई सम्मान गर्नेहरूप्रति सम्बोधन गर्दागर्दै उनी तीन मिनेटसम्म बोल्न सकेनन् । आँखाभरि आँसु पारेर एकछिन घोप्टिए र सुक्सुकाए ।

खासमा उनी त्यसै भावविह्वल भएका थिएनन् । आफ्नो संघर्ष, अभाव, अधुरा इच्छा पूरा गर्न नसके पनि फुटबलमै जिन्दगीलाई दाउमा लगाएर मुलुक र फुटबलप्रेमीको सपना पूरा गर्न लामो संघर्षपछि नेपाललाई स्वर्णपदक दिलाएकामा एकछिन ‘नोस्टाल्जिक’ हुन पुगे ।

‘घरमा उहिले आमाबुवा (स्व. सानुकाजी शाक्य र स्व.देवीमाया) ले उसबेला फुटबल खेलेर पढ्ने समय खेर नफाल भन्नुहुन्थ्यो तर मैले उहाँहरूको कुरासमेत नसुनी फुटबल खेल्नमात्र ध्यान दिएँ । आज मेरा बुवाआमा जीवित हुनुभएको भए कति खुसी हुनुहुन्थ्यो होला राजुकाजीले फुटबल खेलेर पनि आफूमात्र होइन मुलुकलाई नै चिनायो भनेर ।’

अर्को एक प्रसंगमा उनले फुटबल खेल्दाखेल्दै आफ्नो जागिरसमेत गुमाएको बताए । उनले भने, ‘तत्कालीन शाही नेपाल वायु सेवा निगम (आरएनएसी) को फुटबल खेलाडी रहेर सन् १९९३ मा साफ गेम खेलेर आउँदा मैले तत्कालीन प्रधानमन्त्रीलाई खेलाडीको अवस्था दयनीय रहेकाले आर्थिकस्तर उकास्न र आरएनएसीमा सबै खेलाडीलाई स्थायी जागिर दिलाउन सुझाव दिएको थिएँ । प्रमले पनि मेरो कुममा धाप मारे । म मख्ख परें । तर त्यसको एक सातामा उल्टै मैले जागिर गुमाएँ । ठूलाठूला मान्छेको कुनै–कुनै धाप त्यस्तो पनि हुँदोरहेछ ।’

उनले आफ्नो खेलजीवनमा सातवटा साफ गेम खेले । तीनवटा एसियन गेम खेले । तीनवटा विश्वकप छनोट गेम खेले । विश्व फुटबलको दाँजोमा नेपालको स्तर तल नै रहे पनि खेलाडीले अवसर पाएमा विश्वस्तरीय खेल प्रदर्शन गर्नेमा विश्वस्त रहेको उनले बताए । उनले भने, ‘भारतविरुद्धको खेलमा प्रकाश बुढाथोकीको फ्रिकिक रोनाल्डोको भन्दा कम दर्शनीय थिएन ।’

ekantipu
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget