काठमाडौं १२ औं दक्षिण एसियाली खेलकुद नेपालका लागि खासै उपलब्धिपूर्ण भएन । तर, फुटबलको स्वर्ण नेपालको कमजोरी लुकाउने बहाना बनेको छ । फाल्गुन ८, २०७२- नेपालले १२ औं दक्षिण एसियाली खेलकुद (साग) को चौथो दिन पहिलो स्वर्णपदक जित्न सफल भयो । उसु खेलाडी नीमा घर्तीमगरले नेपाललाई पहिलो स्वर्ण दिलाएकी थिइन् । १६ वर्षीया यी प्रतिभाले सान्सौमा तरबार झारे पनि स्वर्ण पाएकी थिइन् । निकै दंग देखिएकी थिइन् उनी ।
नीमाले स्वर्ण थापेपछि सुस्मिता तामाङ रोएकी थिइन् । अघिल्लो दिन रजतमा रोकिएकी उनले राष्ट्रिय धुन बजेपछि स्वर्णको महत्त्व बुझेको हुनुपर्छ । उनलाई प्रशिक्षकहरूले सम्झाइरहेका थिए । उसुकै सविता राई त नतिजा आएलगत्तै भक्कानिएकी थिइन् । रजतमा सीमित उनी स्वर्ण गुमेभन्दा निर्णायकले कम अंक दिएकोमा दुखी थिइन् । मार्सल आर्टस्मा झेल हुन्छ भन्ने त्यसले फेरि पुष्टि गरेको थियो ।
तेक्वान्दोमा कडा टक्कर दिएर पनि फाइनलमा हारेपछि रेजिना कार्कीसँग अन्तर्वार्ता लिएको थिएँ । उनको आँखा रसाइसकेको थियो । उनको आवाज पनि बीचमै बदलियो । त्यसैले उनलाई थप प्रश्न सोध्ने हिम्मत मैले गरिनँ । १० औं सागमा रजत र ११ औंमा स्वर्ण जितेकी आयशा शाक्य यसपालि पनि च्याम्पियन बन्ने आस थियो । तर, उनी फाइनलमा चुकिन् । आफूभन्दा अग्ली भारतीय खेलाडीसँग 'सडनडेथ' मा हारेपछि आयशा बेस्सरी रोइरहेकी थिइन् । उनका पति दीपक विष्ट -अहिलेका प्रशिक्षक) ले आयशालाई सम्झाउन सरिता श्रेष्ठलाई आग्रह गरे । तर, सरिता पनि रुँदै फर्किइन् । पहिलोपल्ट तेक्वान्दोमा नेपाल स्वर्णविहीन भएको पीडा दीपकको अनुहारमा प्रस्टै थियो । सागमा कीर्तिमानी चार स्वर्ण जितेका उनको आँखा भने रसाएको थिएन । 'हारेर पनि रुने हो ?' हक्की स्वभावमा दीपकले भने, 'जितेर पो रुनुपर्छ ।' त्यसको केही घन्टाअघि मात्र फुपू ल्हामु खत्रीले जुडोमा २१ वर्षपछि स्वर्ण जितेकी थिइन् । उनको आँखाबाट आँसु बर्रर्र खसिरहेको थियो । उनको गला पनि प्रस्ट थिएन । त्यो आँसु खुसीको थियो । दीपकले भनेजस्तै जितेर रोएकी थिइन् उनी, जुन उनको हँसिलो अनुहारले छर्लंगै पाथ्र्यो ।
नेपाली खलकुदका लागि १२ औं सागको नतिजा २३ वर्षयताकै खराब हो । तर, पुरुष फुटबलमा २३ वर्षपछि जितेको स्वर्णले कमजोरीको खाल्डाहरूलाई पुर्ने प्रयास गर्यो । टिमको स्वागतमा बागडोग्रा, सिलगुढी विमानस्थलमै स्वागत गर्न केही नेपाली पुगेका थिए । नेपाल-भारतको सीमा मेची पुलदेखि नै राष्ट्रिय झन्डा बोकेर फुटबल टिमको स्वागत गर्नेको लस्कर निकै लामो थियो । अबिर, माला र खदा लगाउनेको भीड लाग्यो । कप्तान विराजको बोली नै अवरुद्ध भयो । उनको आँखा हर्षश्रुले भरिएको थियो । धुलाबारी, बिर्तामोड हुँदै चन्द्रगढीस्थित विमानस्थल पुग्दा खेलाडीको स्वागतमा सडक किनारामा ठूलै हूलहरू देखिए । स्वागत थाप्दाथाप्दै खेलाडीलाई विमानस्थल पुग्न हतार भएको थियो, जहाँ बुद्ध एयरको जहाज च्याम्पियन टिमको प्रतीक्षा गरिरहेको थियो । काठमाडौंमा ओर्लंदा त्रिभुवन विमानस्थलका कर्मचारीहरू खेलाडीसँग सेल्फी खिच्न झुम्मिएर बसेका थिए । घरेलु उडानतर्फका कुनै पनि काउन्टरमा एकजनाले पनि काम गरेको दखिएन, सबै खेलाडी पछ्याउँदै दौडिएका थिए । घरेलु विमानस्थलमा यात्रु जहाँबाट छिर्ने गर्छ, त्यहीँबाट खेलाडीलाई ल्याइएको थियो, जुन दुर्लभ घटना हो । त्यसपछि सुरु भयो, फोटोग्राफरको क्लिक-क्लिक र स्वागत गर्नेहरूसँगको भेट । बा-आमासँग अंकमाल गर्दै विराज र विक्रम लामा रोएका थिए, जहाँ हर्षको आँसु झरेको थियो । त्यहीबाट विजयोत्सवको नगर परिक्रमा थालिएको थियो । 'पारस खड्का -कप्तान, राष्ट्रिय क्रिकेट टिम) ले ट्रफी बोकेर नगर परिक्रमा गरेको देख्दा मलाई पनि त्यस्तो गर्न पाए कस्तो हुन्छ होला भन्ने लागेको थियो,' विराजले भने, 'राष्ट्रय टिमलाई २३ वर्षपछि उपाधि -बंगबन्धु गोल्डकप) दिलाएर र्फकंदा त्यस्तै स्वागत पाउँदा आँखाभरि आँसु आएको थियो । अहिले सागको स्वर्ण जित्ने सपना पूरा भयो । र, स्वागत गर्ने र बधाई दिनेको ओइरो देख्दा फेरि खुसीको आँसु रोक्न सकिनँ । हामीले साँच्चै सबै नेपालीलाई खुसी बनाएका रहेछौं ।' प्रकाशको हाफ-पाइन्ट फाइनलमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका प्रकाश बुढाथोकीले लगाएको हाफ-पाइन्ट टिमका अरू खेलाडीको भन्दा फरक थियो । रङ भने उस्तै । रङ वा नम्बर फरक भएको भए उनले खेल्नै पाउने थिएनन् । नयाँ डिजाइनको हाफ-पाइन्ट २० मध्ये ३ खेलाडीलाई पुगेन । त्यसैले नयाँ डिजाइनको ड्रेससँग हाफ-पाइन्टको रङ मिल्नु प्रकाश र नेपालको भाग्य थियो । प्रकाशले लगाएको हाफ-पाइन्ट एन्फाले ५ वर्षअघि विश्वकप छनोट खेलेको टिमका लागि बनाएको थियो । हुन त बंगबन्धु गोल्डकप खेल्दा पनि नेपाली टिमसँग नयाँ जर्सी थिएन । खेलाडीले बंगबन्धुमा साफ च्याम्पियनसिपकै जर्सी लगाएर नेपाली राष्ट्रिय टिमलाई २३ वर्षपछि उपाधि दिलाएका थिए । त्यस बेला जर्सीबाट साफको लोगो भने उप्काइएको थियो । अधुरो सपना नेपाली टिमका कप्तान विराजको दौरा-सुरुवाल लगाएर 'मार्च पास' गर्ने सपना थियो । उनले त्यसैका लागि दौरा-सुरुवाल, जुत्ता किनेका थिए । तर, प्रशिक्षक राजुकाजी शाक्य र टिम म्यानेजर विराटजंग शाहीको 'एक्रिडिटेसन कार्ड' नहुँदा उनको सपना पूरा भएन । त्यही स्टेडियममा विराजको कप्तानीमा नेपालले पुरुष फुटबलको स्वर्ण पदक जित्यो । त्यसको भोलिपल्ट साग समापन समारोहमा नेपालको राष्ट्रिय झन्डा बोक्ने मौका विराजले पाए । तर, उनले काठमाडौंबाट लिएर गएको दौरा-सुरुवाल, जुत्तामा होइन, ट्रयाक-सुट र स्पोर्ट्स सुजमै चन्द्र-सूर्यअंकित झन्डा लिएर रंगाशालाको ट्रयाकमा फन्को लगाए । आफंै बनाउने जिम्मा लिएको राष्ट्रिय खेलकुद परिषद्ले स्वदेश र्फकंदासम्म धेरै खेलाडीलाई कोट दिएन । खेलेर फकर्ंदासम्म पनि ओलम्पिक कमिटीले सबै खेलाडी, अफिसियललाई एक्रिडिटेसन कार्ड उपलब्ध गराएन । त्यसैले विराजको सपना साकार भएन । वञ्चित स्नेहा नेपाल ओलम्पिक कमिटीले १२ औं सागको उद्घाटन समारोहमा नेपालको झन्डा सुटिङकी खेलाडी स्नेहा राणाले बोक्ने निर्णय गरेको थियो । तर, इन्दिरा गान्धी स्टेडियममा उनी देखिइनन्, नेपालको झनडा पौडीकी श्रृतिका सिंहको हातमा थियो । नेपाली सञ्चारकर्मीहरू पहिले पठाएको समाचार सच्याउनतिर लागे । परिषद्का सदस्यसचिव केशवकुमार विष्ट र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पनि आश्चर्यमा परेको बताए । श्रृतिकाले राष्ट्रिय झन्डालाई ट्रयाकमा फन्को लगाउँदा रंगाशालाभित्रै रहेकी स्नेहा प्यारापिटमै थिइन् । लन्डन ओलम्पिक खेलेकी स्नेहाले रंगाशालामा ढिला पुगेको कारण झन्डा बोक्न नपाएको ओलम्पिक र परिषद्का पदाधिकारीले बताए । हार-जितको नतिजा खोज्नुपर्ने हतार भएकाले त्यसको रहस्य खोतल्नतिर लागिएन । स्वदेश र्फकंदा विमानस्थलमा उनलाई भेटेपछि कारण थाहा पाइयो । सागको नेपाली डेस्क होटल ल्यान्डमार्कमा थियो । त्यहाँबाट जाम छल्दै स्टेडियम पुग्न करिब १ घन्टा लाग्थ्यो । उनी २ बजे ल्यान्डमार्क पुगेकी थिइन् । तर, उनको एक्रिडिटेसन कार्ड नै बनेको रहेनछ । बल्ल ४ः १४ मा कार्ड उनको हातमा पर्यो । उनलाई ५ बजे मात्र स्टेडियमतिर लगियो । जबकि उद्घाटन नै ५ बजेबाट सुरु थियो । त्यसैले उनी राष्ट्रिय झन्डा बोक्नबाट वञ्चित भएकी थिइन् । एमबीबीएस अध्ययनरत उनी झन्डा बोक्नकै लागि प्रशिक्षण छाडेर टिमभन्दा चार दिनअघि नै गुवाहटी पुगेकी थिइन् । दुर्लभ अवसरबाट वञ्चित हुँदाको पीडा बुधबार भेटिँदा पनि उनको आँखामा प्रस्टै पढ्न सकिन्थ्यो । आयोजनाभन्दा सुरक्षाको चिन्ता गुवाहटी र सिलोङका सबै खेल आयोजनास्थल सुरक्षाको जिम्मा भारतीय सेनालाई दिइएको थियो । उसु त ब्यारेकभित्रकै हलमा सञ्चालन भएको थियो । सबै खेलाडी, अफिसियलको सुरक्षाको जिम्मेवारी पनि सेना र प्रहरीले पाएका थिए । संवेदनशील क्षेत्रमा आयोजना गरिएकाले हुन सक्छ, भारतलाई आयोजनामा भन्दा बढी सुरक्षाकै चिन्ता थियो । खेलाडी, अफिसियलले होटलबाहिर निस्कनुअघि सुरक्षाकर्मीको स्वीकृति लिनुपथ्र्यो । र, उसलाई जहाँ जानुपर्ने हो त्यहाँ सुरक्षाकर्मीले लिएर जान्थे । ट्रेनिङको प्रबन्ध र खेलका लागि प्रस्थान समय पनि सुरक्षाकर्मीको निर्देशनअनुसार हुन्थ्यो । 'सुरक्षाकर्मीले कतै निस्कन दिएको छैन,' सिलोङ बसेका धेरै खेलाडीले सुनाउँथे । राष्ट्रिय धुनमा प्राविधिक कमजोरी ? स्वर्ण जित्ने देशको राष्ट्रिय धुन पदक वितरण समारोहमा बजाइन्छ । सबै देशको पूरा धुन बजाइएको थियो । तर, नेपालको भने तीनै स्वर्णमा राष्ट्रिय धुन आधा पनि बजाइएन । यसलाई आयोजकले अनौपचारिक रूपमा प्राविधिक कमजोरी भने । नेपाली पक्षले आयोजकलाई पूर्ण धुन उपलब्ध गराउन सकेन, असन्तुष्टि पोख्ने आँट पनि गरेन । त्यसैले नीमादेखि फुटबलको स्वर्णसम्म नेपालको राष्ट्रिय धुन आधामै सकिएको थियो । हिरोहरू नीमा घर्तीमगर घरबाट अरू खेलेको टुलुटुल हेर्ने गरेकी नीमाले छिमेकी दिदीको आग्रहमा चार वर्षअघि मात्र उसु खेल्न थालेकी थिइन् । रोल्पाकी यी १६ वर्षीया किशोरीले नै नेपाललाई १२ औं सागमा पहिलो स्वर्ण दिलाइन् । उनले थाउलोको नानछ्वान अलराउन्डमा १६.८९ अंक जोड्दै स्वर्ण जितेकी थिइन् । फुपू ल्हामु खत्री नौ वर्षअघि जुडो खेल्न थालेकी ताप्लेजुङकी फुपू नेपालकी आसलाग्दो खलाडी हुन् । त्यसैले ओलम्पिक छात्रवृत्तिमा हंगेरीमा प्रशिक्षण गरिरहेकी उनले सागमा स्वर्ण जित्ने आसलाई यथार्थमा परिणत गरिदिइन् । उनी जुडोमा नेपाललाई स्वर्ण दिलाउने २१ वर्षयताकै पहिलो हुन् । उनले भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानका खेलाडीलाई पराजित गरिन् । नवयुग/प्रकाश चार खेलमा दुई ह्याटि्रकसहित ७ गोलले नवयुग श्रेष्ठको योगदान कति छ भन्ने देखाउँछ । पहिलो खेलमा भुटान र सेमिफाइनलमा माल्दिभ्सविरुद्ध ह्याटि्रक गरेका उनले फाइनलमा भारतविरुद्ध पनि निणर्ायक गोल गरेका थिए । सब्स्िटच्युटको रूपमा खेलेर पनि फाइनलमा नेपाललाई जिताउने मुख्य काम भने प्रकाश बुढाथोकीले गरे । उनले पि|m-किकमा लोभलाग्दो गोल गर्दै नेपाललाई बराबरीमा पुर्याएका थिए । उनकै क्रसमा नवयुगले निणर्ायक गोल गरेपछि नेपालले साग फुटबलमा २३ वर्षपछि स्वर्ण जित्यो । गौरिका सिंह गौरिकाले १२ औं सागमा स्वर्ण जितिनन् । तर, उनको ऐतिहासिक एक रजतसहित चार पदकको महत्त्व स्वर्णभन्दा कम छैन । १३ वषर्ीय उनी दक्षिण एसियाली खेलकुदको ३२ वर्षे यात्राको पौडीमा व्यक्तिगत स्पर्धामा पदक जित्ने पहिलो हुन् । २ सय मिटर इन्डिभिज्युअल मिड्लेमा रजत जितेकी उनले १ सय र २ सय मिटर ब्याकस्ट्रोक तथा ४ सय मिटर पि|mस्टाइलमा कांस्य हात पारेकी थिइन् । मनीता/इन्द्र पाँचथरकी मनीता श्रेष्ठ प्रधान र सिन्धुपाल्चोकका इन्द्रबहादुर श्रेष्ठ आफैंले अपराध गरेका छैनन् । तर, उनीहरू बाल्यकालमा अभिभावकसँगै जेलमा बस्नुपरेको थियो । त्यसपछि उनीहरू पारिजातले सुरु गरेकी बन्दी सहायता नियोग (पाम) हुर्किरहेका छन् । दुवै १६ वर्षका हुन् । अनुशासित बन्न जुडो सिक्न थालेका यी दुईले सागमा पदक पनि जिते । मनीताले रजत र इन्द्रले कांस्य हात पारे । जुडोले फेरिएको जीवनमा पाएको सफलताले उनीहरूलाई नयाँ मोड दिएको छ ।
ekantipur
Post a Comment