यो खुशी राजनीतिक बृत्तमा पनि देखियो । विभिन्न दलका नेताहरुले सामाजिक संजालका माध्यमबाट नेपाली फुटबल टिमलाई बधाई दिए । तर सामाजिक संजालमा सक्रिय केही मधेसवादी दलका नेताहरुले भने यो खुशीलाई त्यति महत्व दिएको देखिएन ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले साग फुटबलमा नेपाली टिमको विजयप्रति मुलुक गौरवान्वित भएको जनाएका छन् । उनले नेपाली टिमको जितलगत्तै ट्वीट गर्दै नेपाली खेलाडीलाई बधाइ दिएका हुन् ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि ट्वीट गर्दै दक्षिण एसियाली फुटबलमा स्वर्ण पदक जित्न सफल नेपाली फुटबल टिमलाई बधाई दिएका छन् ।
एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले साग च्याम्पियन नेपाली फुटबल टिमलाई फेसबुकमार्फत बधाई दिएका छन् ।
उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली फुटबल टिमले दिलाएको जितलाई शब्दमा व्यक्त गर्नै नसकिने जनाएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘आजको जितलाई शब्दमा व्यक्त गर्न सकिन्न । जय होस् मेरो नेपालको, स्याबास टिम नेपाल । सिंगो देशको शीर ठाडो भएको छ । सारा मुलुक आभार व्यक्त गर्दछ ।’
पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले भारतीय भूमिमा भारतलाई नै पराजित गर्दै नेपाली फुटबल टिमले स्वर्ण पदक हासिल गरेकोमा सम्पूर्ण नेपाली गौरवान्वित भएको जनाएका छन् । ट्वीट गर्दै उनले नेपाली फुटबल टिमलाई बधाई दिएका छन् ।
पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पनि नेपाली फुटबल टिमलाई बधाई दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘हाम्रो राष्ट्रिय फुटबल टिमलाई साग स्वर्ण पदक विजयमा हार्दिक बधाई, यो विजयमा हामी गौरवान्वित भएका छौं ।’
एमाले नेता शंकर पोखरेलले नेपाली फुटबल टिमका प्रशिक्षक राजु शाक्यलाई बधाई दिदैं ट्वीट गरेका छन्, ‘फुटबल खेलमा विशिष्ट स्थान र इतिहास निर्माण गर्न सफल भएकोमा राजु शाक्यलाई धेरै धेरै बधाई ।’
परराष्ट्रविद तथा पूर्वमन्त्री रमेशनाथ पाण्डेले पनि नेपाली फुटबल टिमलाई बधाई दिदैं फेसबुकमा लेखेका छन्, ‘नाकाबन्दीको पीडा, जोखिममा परेको राष्ट्रिय स्वाभिमानले पिरोलिएका नेपालीहरुलाई नेपाली खेलाडीहरुले प्रसन्न बनाएका छन्, साउथ एसियन गेम्समा भारतलाई फुटबलमा नेपालले हराएको छ । धन्यवाद नेपाली खेलाडीहरु, सबै नेपालीहरु यी खेलाडीहरुको अभिवादन गरौं ।’
एमाले नेतृ रामकुमारी झाँक्रीले फेसबुकमा लेखेकी छन्, ‘गणेश थापा नेपाली फुटबलका क्यान्सर रहेछन् भन्ने प्रमाणित गर्न पर्ने नै थिएन । आफैं प्रमाणित थियो । कलिला खेलाडीलाई आर्थिक प्रलोभनमा पारेर म्याच फिक्सिङ्ग जस्तो अपराधमा सामेल गरी उनीहरुको फुटबल क्यारिअरमात्र होइन, देशको फुटबल क्षेत्रलाई नै धरासायी बनाए । यो क्यान्सर काटेर फालेपछि फुटबल स्वस्थ्य हुँदैछ, बधाई नेपाली फुटबल टिम ।’
संविधानविद निलाम्बर आचार्यले ट्वीट गर्दै साग स्वर्ण पदक विजेता नेपाली फुटबल टिमलाई बधाई दिएका छन् । उनले लेखेका छन्, ‘सारा नेपालीलाई खुशी दियौ, धेरै धन्यवाद ।’
imagekhabar
Post a Comment