काठमाडौं, माघ १९ । नेपालले यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा आयोजक बंगलादेशलाई प्रतिद्धन्द्धी पाएको छ ।
बंगलादेशमा जारी प्रतियोगिताको समूह ‘ए’को खेलमा बंगलादेशले मंगलबार नामिबियालाई ८ विकेटले पराजित गर्दै समूहको शीर्ष स्थान ओगटेपछि समूह ‘डी’को उपविजेता नेपालले बंगलादेशलाई प्रतिद्धन्द्धी पाएको हो ।
नामिबिया भने उपविजेता बन्दै नेपालको समूहको विजेता भारत प्रतिद्धन्द्धी पाएको छ ।
नेपाल र बंगलादेशबीचको क्वार्टरफाइनल खेल आगामी शुक्रबार मिरपुरमा हुनेछ । नेपालले समूह चरणमा न्यूजिल्यान्डलाई ३२ रनले हराउँदा आयरल्यान्डमाथि ८ विकेटको जित निकालेको थियो । भारतसँग भने नेपाल ७ विकेटले पराजित भएको थियो ।
भारतको खेलबाटै नेपालले टिममा खड्किएको कौशल सिकेको भन्दै नेपाली प्रशिक्षक जगत टमाटाले क्वार्टरफाइनलमा सशक्त प्रदर्शन गर्ने जनाएका छन् ।
दोस्रोपटक क्वार्टरफाइनलमा पुगेको नेपालले बंगलादेशलाई हराउन सक्यो भने सेमिफाइनलमा पुग्दै अहिलेसम्मकै ठूलो सफलता हासिल गर्नेछ । बंगलादेश भने समूहका सबै खेल जितेर अन्तिम आठमा पुगेको हो ।
सन् २००० मा पहिलोपटक दोस्रो चरण पुगेको नेपालले सुपर लिगमा भारत, इंग्ल्यान्ड र श्रीलंकासँग पराजय बेहोरेको थियो ।
imagekhabar
Post a Comment