मनमोहन सिंहद्वारा मोदीको नेपाल नीतिको आलोचना


‘संविधान जारी गर्ने मुखमा भारतको शैली गलत’
काठमाडौं: भारतका पूर्वप्रधानमन्त्री एवं प्रमुख विपक्षी दल कांग्रेस आईका नेता डा. मनमोहन सिंहले नरेन्द्र मोदी सरकारले नेपालमा संविधान निर्माणको पूर्वसन्ध्यामा अपनाएको शैली सही नभएको भन्दै आलोचना गरेका छन् ।


भारतीय पत्रिका इन्डिया टुडेलाई दिएको अन्तर्वार्तामा पूर्वप्रधानमन्त्री सिंहले नेपालको संविधान जारी हुन लागेका बखत भारत सरकारको पछिल्लो नीतिको आलोचना गरेका हुन् ।

सिंहले नेपालले संविधान जारी गर्नु केही दिनअघि भारत सरकारले विदेशसचिव एस जयशंकरलाई ‘कडा सन्देश' सहित काठमाडौं पठाउनु उचित तरिका थिएन भन्ने टिप्पणी गरेका छन् ।

‘भारत सरकारले नेपालको संविधानमा केही समस्या छ भन्ने महसुस गरेको भए संविधान जारी गर्ने मुखमा नभई निकै अघिदेखि गोप्य रूपमा नेपालसँग संवाद गरी उनीहरूलाई मनाउनुपर्ने थियो । तर भारत सरकार संविधान जारी गर्ने अन्तिम बेलामा मात्रै ब्युँझियो', उनले भनेका छन् ।

सिंहले भारतले नेपालको संविधानमा मधेसीलाई ‘माइनस' गरिएको भन्ने मोदी सरकारको तर्कप्रति पनि घुमाउरो रूपमा असहमति जनाएका छन् ।

‘वास्तवमा बहुमत मधेसीले नयाँ संविधान अनुमोदन प्रक्रियामा मतदान गरेका थिए । भारत सरकारले त्यतिबेलाको नेपाली समाजको परिस्थितिलाई सचेत भई बुझ्न सक्नुपर्ने थियो । तर त्यसो हुन सकेन', उनले भने ।

‘नेपाल हाम्रो सानो र निकट छिमेकी हो । हरेक हिसाबले नेपालको भावनालाई बुझ्ने र त्यसलाई सुनिश्चित गर्ने प्रयासहरू हामीले गर्नुपर्छ । भारत नै नेपालको सहयोगी र महान् मित्र हो भन्ने भावना नेपालका आमजनतामा सिर्जना हुने खालको वातावरण भारतले नै तयार गर्न सक्नुपर्छ', पूर्वप्रधानमन्त्री सिंहले अन्तर्वार्तामा भनेका छन् ।

नेपालले नाकाबन्दी गरेको भनेर भारतमाथि आरोप लगाउने अवस्था आउनु भारत सरकारका लागि अत्यन्तै दुर्भाग्यपूर्ण रहेको समेत उनले बताए । मोदी नेतृत्वको सरकारले समयमै नेपालसँग सही ढंगले संवाद गर्न नसकेको उनले बताए ।

‘भारतले नेपालमा विशेष प्रभाव (लिबरेज) राख्ने गरेको हो र विगतमा पनि त्यही प्रभाव भारतले उपयोग गर्दै आएको हो', उनले भने ।

भारत सरकारको पाकिस्तान नीतिसमेत सही नरहेको उनले बताए । मोदीले अपनाएको पाकिस्तान नीति एक कदम अघि बढे पनि फेरि दुई कदम पछि हटेको टिप्पणी उनले गरे ।

गत डिसेम्बर ७ मा भारतको माथिल्लो सदन राज्यसभामा नेपालबारेको विशेष सत्रमा विपक्षी कांग्रेसका मणिशंकर ऐयरलगायत अधिकांश सांसदले मोदी नेतृत्वको सरकारले देखाएको नेपालप्रतिको रबैयाको तीव्र आलोचना गरेका थिए ।
annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget