अस्पतालको लापरबाहीले आन्द्राको शल्यक्रिया गर्दा काट्नुपर्याे हातका औंला

 काठमाडौं– कान्ति बाल अस्पतालमा उपचारका क्रममा भएको लापरवाहीले एक बालकको दाहिने हातका पाँचवटै औंला काट्नु परेको छ । पोखराका तीन महिने शिशु संयोग अधिकारी लापरवाहीका कारण पाएको सास्तीले एक महिनादेखि अस्पतालमा छन् । उनलाई आन्द्राको शल्यक्रियाका लागि पुस १३ गते कान्ति बाल अस्पतालमा भर्ना गरिएको थियो । १६ गते उनको शल्यक्रिया भयो ।  शल्यक्रियापछि संयोगलाई सघन उपचार कक्षमा (आइसीयू) मा राखिएको थियो ।
शल्यक्रिया पछि आइसियूमा भर्ना गर्दा उनको दायाँ हातमा पट्टी बाँधिएको थियो । परिवारले हातमा लगाइएको पट्टीबारे जानकारी लिन खोज्दा चिकित्सकहरुले ‘जाडो थियो हिटर बालेकाले हातमा फोका आएको’ बताएका थिए । उनको २२ गते अस्पतालबाट डिस्चार्ज भयो । उपचारमा संलग्न चिकित्सकहरुले पोखरामा एक दिन बिराएर ड्रेसिङ गर्न सुझाव दिएका थिए । ड्रेसिङ गर्दा थाहा भयो हात जलेको रहेछ । गण्डकी अस्पताल पोखराका डाक्टरले जलेकाले हातको अप्रेशन गर्नुपर्ने बताए ।  संयोगलाई माघ एक गते फेरि कान्तिमा ल्याइयो ।

शल्यक्रियामा संलग्न डा. पुस्कर पोखरेलले कान्तिमा बर्न युनिट नभएको बताउँदै त्रिवि शिक्षण अस्पताल जान सुझाव दिए । तर, परिवारले कान्तिका डाक्टरको लापरवाहीका कारण समस्या आएकाले शिक्षणमा नजाने अड्डी लिए । माघ २ गते संयोगलाई कान्तिमै भर्ना गरियो । जलेका कारण बच्चाको पाँचवटै औला काटेर फाल्नुपर्ने बताइयो । ४ गते उनको औला काटेर फालियो । अस्पतालले आफ्नो लापरवाही ढाक्न शल्यक्रिया निःशुल्क गरिदिएको थियो । संयोगका आमा बुवाले डाक्टरको लापरवाहीका कारण औंला काट्नु परेकाले उपचारमा संलग्न डाक्टरलाई कारवाही हुनुपर्ने माग गरेका छन् ।

संयोगका हजुरबुवा बुद्धिसागर अधिकारीले लापरवाहीका बारेमा छानविन हुनुपर्ने माग राखेर अस्पताल प्रशासनमा निवेदन हाले । अस्पतालले डा. विनोदमान श्रेष्ठको संयोजकत्वमा छानविन कमिटी गठन गर्यो । छानविन गरी श्रेष्ठले एक हप्ताअघि नै प्रतिवेदन बुझाइसेका छन् । तर अस्पताल प्रशासनले प्रतिवेदन गोप्य राखेको छ । अस्पतालका निर्देशक डा. चन्द्रेश्वर महासेठले समेत आफूलाई प्रतिवेदन बारे कुनै जानकारी नभएको बताएका छन् । त्यसैगरी अस्पतालका प्रवक्ता डा. कैलाश झाले पनि प्रतिवेदन बारे आफू बेखबर रहेको बताए । स्रोतका अनुसार छानविनमा चिकित्सकीय टोलीको लापरवाहीका कारण औंला काट्नु परेको पाइएको छ  । संयोगको परिवार सत्यतथ्य सार्वजनिक र दोषीलाई कारवाही नभएसम्म अस्पताल नछाड्ने अडानमा छ । ‘अबोध शिशुलाई डाक्टरले अपांग बनाए,’ संयोगका हजुरबुवा बुद्धिसागर भन्छन्, ‘मेरो नातीको भविष्य बिगार्नेलाई कडा कारवाही हुनुपर्छ ।
.news24nepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget