तस्करी रोक्न वीरगन्ज नाका खुल्नुपर्छ: महतो

काठमाडौं: सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अन्य नाका खोलेर वीरगन्ज मात्र बन्द गर्दा तस्करी र कालाबजारिया बढेकाले छिटो नाका सहज बनाइनुपर्ने बताएका छन् ।

पाँच महिनासम्मको वीरगन्ज नाकाबन्दीका बेला त्यहाँको मोर्चा सम्हाल्नुभएका नेता महतोले आज  तस्करी र कालाबजारिया रोक्न पनि सबै नाका खुला गरिनुपर्नेमा जोड दिए ।


'अहिलेको आन्दोलनको स्वरुपबाट जनताले दुःख पाए, कि त सबै नाका बन्द गरौँ, होइन भने वीरगन्ज पनि खोलौँ भन्ने प्रस्ताव मोर्चाको अब बस्ने बैठकमा राख्नेछु, अब आन्दोलनसम्बन्धी ठोस निर्णय हुनुपर्छ भन्ने प्रस्ताव म बैठकमा लैजान्छु' - नेता महतोले भने ।

पाँच महिनासम्मको नाकाबन्दीले काठमाडौँलाई दबाब दिन नसकेकाले आन्दोलनको स्वरुप फेरिनुपर्नेमा उनको जोड थियो । नाकाबन्दीको आन्दोलनले मुलुकको अर्थ व्यवस्था बिग्रेकाले पनि स्वरुप फेर्ने प्रस्ताव गर्न लागिएको महतोको भनाइ थियो । मोर्चाको बैठक शनिबार बस्न सक्ने बताइएको छ ।

यता मोर्चाको प्रमुख घटक सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने नाका खोल्ने विषयमा जानकारी नभएको प्रतिक्रिया दिए । 'मोर्चाले वीरगन्ज नाका खोल्ने विषय हल्ला मात्र हो, यसबारे कुनै निर्णय भएको छैन, सञ्चारमाध्यममा आएको हल्लाले नाका खुल्दैन' - उनले भने  ।

तराई–मधेस सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले मोर्चाका शीर्ष नेता काठमाडौँ आएपछि बैठक बसेर ठोस निर्णय लिइने बताए ।

मोर्चाका नेता महतोको अभिव्यक्तिलगत्तै पाँच महिनादेखि बन्द वीरगन्ज नाका आज थप खुकुलो भएको बताइएको छ । महतो बाहेक मोर्चाका सबै शीर्ष नेता काठमाडौँ आइपुगेका छन् । नेता महतो पनि आज रातिसम्म काठमाडौँ आइपुग्नेछन् ।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget