३ फागुन, काठमाडौं । अघिल्लो महिला बंगलादेशमा नेपाललाई बंगबन्धु गोल्डकप जिताउँदा नेपाली टोलीका प्रशिक्षक थिए बालगोपाल महर्जन । उनको डिजाइनमा बनेको टोलीले भारतमा त्योभन्दा ठूलो उपाधिका लागि आज निर्णायक खेल खेल्दैछ । यद्यपि त्यहाँ बालगोपाल छैनन् ।
भारतमा जारी साग गेम्स अन्तरगत फुटबलमा नेपाली टोलीले फाइनलमा आयोजक तथा डिफेन्डिङ च्याम्पियन भारतसित भिड्दैछ । यसपाली बालगोपालको स्थानमा उनकै समकालिन फुटबलर राजुकाजी शाक्यले प्रशिक्षकको भूमिका पाएका छन् ।
के नेपालले भारतलाई उसकै भूमिभित्र हराएर एक महिनाको अन्तरालमा दोस्रो उपाधि उचाल्न सफल होला त ? पूर्व प्रशिक्षक बालगोपालले नेपाल जितको दावेदार रहेको बताए । उनले भने, ‘टिमको हिसाबले यो ५०-५० म्याच हो, तर, नेपालको कन्फिडेन्स लेभल हाई छ ।’
गत भदौमा काठमाडौंमा सम्पन्न यू-१९ साफ फुटबलमा बालगोपालकै प्रशिक्षणमा रहेको नेपालको टोलीले भारतलाई हराएर उपाधि कब्जा गरेको थियो ।
तथापि राष्ट्रिय टोलीका हकमा भारतसित नेपालको राम्रो रेकर्ड छैन । भारतसितको खराब इतिहासले आजको खेलमा नेपाली टोलीलाई मनोवैज्ञानिक असर गर्ने चिन्ता एकथरीको छ ।
बालगोपाल पनि यसमा सहमत छन् । ‘हो, हाम्रो पुरानो रेकर्ड सम्झिने हो भने नेपाली टिमले मनोवैज्ञानिक दबाब महसुस गर्न सक्छ,’ उनले भने, ‘तर अहिलेको भारतीय टिममा सिनियर टोलीका डरलाग्दा खेलाडीहरु छैनन् । त्यसैले नेपाली टोलीले विगतलाई भुलेर खेल्नुपर्छ ।’
नेपालले भारतसित कुन रणनीतिमा खेल्ने भन्ने कुरा परिस्थितिले निर्धारण गर्ने उनले बताए । महर्जनले भने, ‘सुरुदेखि नै आक्रमण गर्ने कि रक्षात्मक खेल्दै काउन्टर अट्याक गर्ने भन्ने कुरा प्रशिक्षकमा निर्भर गर्छ । तर, मेरो विचारमा हामीले आक्रामक खेलेर भारतलाई दबाबमा राख्नुपर्छ ।’
उनले भारतसितको म्याचलाई डु अर डाईका रुपमा व्याख्या गर्दै खेलाडीहरुले पनि यहि मनोभावनाका साथ दिलोज्यान लगाएर खेल्ने उल्लेख गरे । आजको म्याचमा सेमिफाइनल जस्तो हाइ स्कोरिङ नहुने आकलन उनको छ । ‘फाइनल म्याच भएकाले दुवै टोलीले सम्हालिएर खेल्ने प्रयास गर्नेछन्, १ वा २ गोल नै निर्णायक हुन सक्छ,’ उनले भने ।
नेपाली टोलीमा नवयुग श्रेष्ठ, बिमल घर्तिमगर र अन्जन विष्टको राम्रो तालमेल मिलेको खण्डमा भारतीय रक्षापंति दबाबमा आउने पनि महर्जनले बताए ।
यसैगरी डिफेन्समा आदीत्य चौधरी, अनन्त तामाङ र कप्तान विराज महर्जनको भूमिका अहम् रहने उनको भनाई छ । उनले खेलाडीहरुलाई संयमित भएर खेल्न र कार्डबाट जोगिन सुझाव दिएका छन् ।
onlinekhabar
Post a Comment