नेपालले शनिबार एकैदिन दुई वटा फुटबलको फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ। भारतको गुवाहाटीमा भइरहेको १२ औं साग खेलकुद अन्तर्गत महिला तथा पुरुष फुटबलमा स्वर्ण पदकका लागि भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो।
पुरुष फुटबलको फाइनल गुवाहाटीको इन्धिरा गान्धी रंगशालामा साँझ ७:१५ बजे सुरु हुने छ।
बंगबन्धु कपको उपाधी हात पारेसँगै उत्साही भएको नेपाल सेमिफाइनलमा माल्दिभ्सविरुद्ध ४-३को जित हात पार्दै फाइनलमा आइपुगेको हो।
समूह चरणमा नेपालले भुटानलाई ५-०ले हराएको थियो। बंग्लादेशसँग भने २-१ले पराजित भएको थियो।
सेमिफाइनलमा भारतले बंग्लादेशलाई ३-०ले हराएको थियो। समुह चरणमा श्रीलंकासँग १-०ले पराजित भएको भारत माल्दिभ्सलाई ३-२ले हराउँदै सेमिफाइनल आइपुगेको थियो।
सागको पुरुष फुटबलमा २३ बर्ष मुनिको टोलि मात्रै प्रतिस्पर्धा गर्ने हुनाले यो खेल नेपालका लागि अवसर बन्न सक्छ। नेपालको राष्ट्रिय टोलीमा अधिकांश यहि टोलिका खेलाडीहरु छन्।
महिला फुटबलको फाइनल भने दिउँसो ४:१५ बजे सुरु हुने छ।
सहभागी पाँच राष्ट्रबीच एउटै समूहमा भएको राउण्डरोबिन लिगमा सर्वाधिक १० अंक हात पार्दै शीर्ष स्थानसहित नेपाल फाइनलमा आइपुगेको हो।
नेपालले तीन जित र एक बराबरी खेलेको छ। भारतले २ बराबरी र २ जितसँगै ८ अंक जोडेको छ।
setopati
Post a Comment