को-को हुन् नेपालका आकर्षक महिला र पुरुष

फाल्गुन २, २०७२- नेपाली परिवेशका भ्यालेन्टाइन ड्रिम गर्ल तथा ड्रिम ब्वाइ को होलान् त ? यो विषयमा फरक व्यक्तिका फरक मत हुन सक्छन् । कसैले आफ्नै प्रेमी/प्रेमिका वा श्रीमान्/श्रीमतीलाई सम्झेलान्, तर त्योभन्दा बाहिर निस्किएर सोच्दा कल्पनाको त्यो राजकुमार वा राजकुमारी को होला त ? आकर्षक १० व्यक्ति (महिला–पुरुष) को खोजीलाई साप्ताहिकले यो वर्षको भ्यालेन्टाइनमा पनि निरन्तरता दियो । ७ वर्ष अघि पहिलो पटक साप्ताहिकले यस्तो खोजीको जमर्को गरेको थियो ।


संसारभर आकर्षक सेलिब्रटीको खोजी गरिन्छ, त्यसका समाचार प्रकाशन एवं प्रसारण हुन्छन् । सेलिब्रेटीप्रतिको आमचासोलाई त्यसले थप ‘इन्डिकेट’ गर्छ । सेलिब्रेटी थप चर्चित वा लोकप्रिय हुनुका पछाडि केही कारण पनि हुन्छन्, जसलाई सञ्चारमाध्यमले खुलाउने गरेका हुन्छन् ।

प्रतिनिधिपात्रका रूपमा केही व्यक्तिको साझा मतका आधारमा साप्ताहिकले आकर्षक नेपाली पुरुष र महिलाको नाम सार्वजनिक गर्दै आएको छ । यो वर्ष विभिन्न क्षेत्रमा संलग्न ३८ जना (१९ पुरुष–१९ महिला) व्यक्तिले दिएको मतका आधारमा उत्कृष्ट १० आकर्षक महिला तथा पुरुषलाई पाठकसमक्ष प्रस्तुत गर्दैछौं ।  साप्ताहिकले प्रेम ंिंदवसमा आकर्षक पुरुष–महिला खोज्नुको उद्देश्य आकर्षक व्यक्तित्वका सम्बन्धमा नेपाली समाजमा खुला बहस छेड्नु पनि हो । मिडियामा फ्रिक्वेन्ट्ली आइराख्ने व्यक्तिहरू आकर्षक १० को यो सूचीमा परेजस्तो देखिन्छ, यो सत्य पनि हो, मिडियामा नआएका तर आकर्षक इमेज भएका अन्य व्यक्तित्व पनि नेपाली समाजमा छन्, तर ड्रिम ब्वाइ–गर्ल देखिएकै अनुहारबाट खोजिने हो ।

आकर्षक महिलाहरू
१. प्रियंका कार्की

अहिलेकी सर्वाधिक व्यस्त अभिनेत्री हुन्— प्रियंका कार्की । चलचित्रबाहेक विज्ञापन, र्‍याम्प मोडलिङ, प्रोडक्ट क्याम्पेन म्युजिक भिडियोमा समेत बारम्बार छाइरहने प्रियंका आकर्षक शारीरिक बनावट तथा लुक्सका लागि चर्चित छिन् । मिस टिन नेपाल–२००५ को शीर्ष उपाधि विजेता प्रियंकाले कान्तिपुर टेलिभिजनबाट आफ्नो करियर सुरु गरेकी थिइन् । प्रियंकाद्वारा अभिनीत चलचित्रले सफल व्यापार गरेकाले पनि उनको ब्रान्डिङ बलियो भएको छ ।

२. हिमानी शाह

पूर्वराजपरिवार सदस्य हिमानी साहको सौन्दर्यको चर्चा नेपाली समाजमा पहिलेदेखि हँुदै आएको हो । पछिल्लो समय सामाजिक क्षेत्रमा उनको सक्रियताले त्यसमा थप जलप भरिदियो । हेर्दा शालिन देखिने हिमानीले दयालु र समाजसेवी व्यक्तित्वका रूपमा चिनारी बनाएकी छिन् । ‘हिमानी ट्रस्ट’ मार्फत उनले आफ्नो परिचयलाई फराकिलो बनाउँदै लगेकी छिन् । भारतको राजस्थानमा जन्मिएकी हिमानीका पूर्वयुवराज पारस शाहबाट तीन सन्तान छन् ।

३. नम्रता श्रेष्ठ

नेपाली रजतपटमा क्षमतावान् नायिकाका रूपमा गणना हुन्छ– नम्रता श्रेष्ठको । करियरको पूर्वाद्र्धमा सानो संसार, मेरो एउटा साथी छ जस्ता चलचित्रमा अभिनय गरेपछि उनले अभिनय कौशलमा पनि आफूलाई अब्बल सावित गरिन् । म्युजिक भिडियो हँुदै ठूलो पर्दामा छाएकी नम्रता अहिले पनि उत्तिकै सक्रिय छिन् । उनको चित्रण जस्तोसुकै अवस्थामा पनि आफ्नो क्षेत्रमा अविचलित लागिपर्ने जुझारु अभिनेत्रीका रूपमा गरिन्छ ।

४. इन्दिरा जोशी

अहिलेकी उम्दा गायिका हुन्— इन्दिरा जोशी । मादक आवाजकी धनी इन्दिरा स्टेज पर्फमेन्सका लागि कहलिएकी छिन् । उनको आवाज जति मीठो छ, उत्तिकै आकर्षक शरीर पनि । नेपाली ताराको पहिलो संस्करणवाट गायन क्षेत्रमा तानिएकी इन्दिराले स्टेप वान, डान्स विद मि आदि सोलो एल्बम श्रोतामाझ ल्याएकी छिन् । चलचित्र लुटको उनको स्वरको गीत ‘उध्रेको चोली’ सर्वाधिक हिट हिट गीत मानिन्छ ।

५. सृष्टि श्रेष्ठ

मिस नेपाल–२०१२ को शीर्ष उपाधि जितेसँगै एकाएक चर्चामा आएकी हुन्– सृष्टि श्रेष्ठ । आकर्षक जीउडालकी धनी सृष्टिलाई कतिले ‘युरोपियन फिगर’ को भन्दै प्रशंसा गर्ने गरेका छन् । ५ फिट ९ इन्च अग्ली सृष्टि मिस वल्र्ड प्रतियोगिताको शीर्ष २० मा समेत पुगेकी थिइन् । बेलायतमा बसोबास गरिरहेकी सृष्टिले त्यहीं ग्ल्यामर क्षेत्रमा प्रवेश गरेकी हुन् ।

६. अकेशा विष्ट

टेलिभिजन प्रस्तोताका रूपमा ख्याति कमाएकी छिन्– अकेशा विष्टले । अघिल्लो वर्ष चलचित्र ‘जिन्दगी रक्स’मा डेब्यु गरेर उनले आफ्नो चिनारी थप फराकिलो बनाइन् । मिस नेपाल–२०१२ मा मिस ट्यालेन्ट र मिस फोटोजेनिकको उपाधि विजेता अकेशा नेपाली रजतपटमा राम्रो सम्भावना बोकेकी नायिकामा मानिन्छन् । कान्तिपुर टेलिभिजनको ‘कल कान्तिपुर’ की प्रस्तोता अकेशा थुप्रै म्युजिक भिडियोमा समेत देखिएकी छिन् ।

७. वर्षा शिवाकोटी

हालै सार्वजनिक भएको चलचित्र ‘पशुपतिप्रसाद’मा छोटो तर अर्थपूर्ण भूमिकामा देखिएकी वर्षा सिवाकोटी राम्रो सम्भावना बोकेकी नायिका हुन् । उनले ‘नाइँ नभन्नु ल–२’ बाट नायिकाका रूपमा डेब्यु गरेकी हुन् । यसअघि उनी मोडलिङमा व्यस्त थिइन् ।

८. नीति शाह

सर्वाधिक आकर्षक महिलाको गणनामा परेकी नीति शाह खासमा पत्रकारिताकी विद्यार्थी हुन् । शाह सेन्ट जेभियर्सबाट पत्रकारितामा स्नातक गरिरहेकी छिन् । १६ वर्षको उमेरमा फोटोसुट गराएर मोडलिङमा प्रवेश गरेकी नीति थुप्रै पत्रपत्रिकाको ‘कभर गर्ल’का रूपमा छाइसकेकी छिन् । नीति र्‍याम्प मोडलिङमा स्थापित नाम हो ।

९. ऋचा शर्मा

नेपाली चलचित्रकी प्रतिभाशाली अभिनेत्री हुन्— ऋचा शर्मा । थोरै चलचित्रमा अभिनय गरे पनि उनी त्यसमा राम्रो छाप छाड्न सफल भइन् । ऋचा अध्ययनशील नायिकासमेत मानिन्छन् । फस्र्ट लभबाट नेपाली चलचित्रमा डेब्यु गरेकी ऋचाले हाइवे, लुट, भिसा गर्ल, टलकजंग भर्सेस टुल्के आदि चलचित्रमा अभिनय गरिसकेकी छिन् ।

१०. माला लिम्बू

मोडलिङ हुँदै चलचित्रमा प्रवेश गरेकी हुन्– माला लिम्बूले । सिंगापुरमा जन्मी त्यतै हुर्किएकी मालाले चलचित्र ‘गुड बाई काठमाडौं’ मार्फत डेब्यु गरेकी थिइन् । त्यसपछि उनी म्युजिक भिडियोहरूमा बढी देखा परिन् । छोटो समयमै पर्याप्त चर्चा बटुल्न सफल माला नेपाली रजतपटमा राम्रो सम्भावना बोकेकी नायिकामा पर्छिन् ।

जो उल्लेख्य रहे
दस आकर्षक महिलाको सूचीमा अधिकांश संस्करणमा स्थान बनाएकी बैंकर्स रविना देशराज श्रेष्ठ यो वर्ष थोरै मतान्तरले बाहिरिइन् । यस्तै चर्चित एवं आकर्षक भलिबल खेलाडी सिपोरा गुरुङ टपटेनको सूचीमा पर्नबाट वञ्चित भइन् । सिपोरा रविनापछिको स्थानमा रहिन् । टपटेनको सम्मुख पुगेर पर्न असफलहरूमा अभिनेत्री करिश्मा मानन्धर, मेकअप आर्टिस्ट स्नेहा राणा, अभिनेत्री निशा अधिकारी, अभिनेत्री केकी अधिकारी प्रमुख थिए । करिश्मा मानन्धर सबै संस्करणमा उत्कृष्ट १० मा पर्दै आएकी थिइन् । केही संस्करणमा त उनी सर्वाधिक आकर्षक महिला समेत बनेकी थिइन् तर यसपटक उनको चर्चा केही कम देखियो । सबै संस्करणमा पर्न सफल माल्भिका सुब्बा गत वर्ष ११ औं स्थानमा थिइन् ।

गत वर्ष र यो वर्ष माल्भिका उत्कृष्ट १० बाट बाहिर नै रहिन् । यद्यपि माल्भिकालाई केही सहभागीले ब्युटी विथ ब्रेनका १ नम्बरमै सम्झिएका थिए । मिस नेपाल इभाना मानन्धर, नवनायिका साम्राज्ञी लक्ष्मी शाह, नायिका अशिस्मा नकर्मी, कोरियोग्राफर रेनेशा राईले उल्लेख्य मत पाए पनि टपटेनमा पुग्न त्यो मत पर्याप्त भएन । यस्तै कोमल वली, वर्षा राउत, दिया मास्के, नम्रता श्रेष्ठ, नम्रता सापकोटा, ज्योति मगर, रिमा विश्वकर्मा, सन्ध्या केसी, सदीक्षा श्रेष्ठ, सहाना बज्राचार्य, रेखा थापाले पनि सर्वेक्षणमा सहभागीहरूको उल्लेख्य माया पाएका थिए । आस्था सर्वेक्षणका क्रममा सहभागीहरूले राउत, झरना बज्राचार्य, पार्वती राई, मन्जु पौडेल, बिमला तामाङ, आन्ना शर्मा, गरिमा पन्त आदिलाई पनि सम्झिएका थिए ।

उत्कृष्ट १० महिला छनौट गर्नेहरु
१. प्रभात रिमाल, वरिष्ठ संचारकर्मी/इभेन्ट म्यानेजर, २. प्रदीप उदय, चलचित्र निर्माता/डिस्ट्रिब्युटर, ३. धीरज तन्डुकार, इभेन्ट म्यानेजर, ४. सुशील नेपाल, सिनियर भिजे, ५. भुवन केसी, सदावहार अभिनेता, ६. सन्दीप क्षेत्री, हास्य अभिनेता, ७. कालिप्रसाद बाँस्कोटा, संगीतकार, ८. आविष्कार श्रेष्ठ, फोटोग्राफर, ९. अजित बराल, प्रकाशक/साहित्यकार, १०. तेन्जिङ शेर्पा, इभेन्ट म्यानेजर/व्यवसायी, ११. सुजन रेग्मी, मोडल, १२. सञ्जय गुप्ता, कार्यक्रम सञ्चालक/मोडल, १३. टेकेन्द्र शाह, भिज्युअल एडिटर, १४. सुरज भुषाल, निर्देशक, १५. करुण थापा, एनिमेटर, १६. विपिन किरण, गीतकार, १७. राजभाइ सुवाल, वरिष्ठ फोटोग्राफर, १८. हरिहर अधिकारी, युवा ज्योतिष, १९. सुवास रेग्मी, संगीत व्यवसायी ।



आकर्षक पुरुषहरू
१. अनमोल केसी

एकताकाका चर्चित अभिनेता भुवन केसीका छोरा हुन्– अनमोल केसी । यद्यपि उनलाई चिनाउन भूवनको सहारा लिइरहनु पर्दैन । नेपाली चलचित्रवृत्तमा अहिले सर्वाधिक रुचाइएका नायक हुन् अनमोल । चलचित्र ‘होस्टल’ र ‘जेरी’ पछि ‘हट केक’ बनेका अनमोल धेरै पारिश्रमिक लिने नायकमा समेत गनिन थालेका छन् ।

२. विमल घर्तीमगर

वर्तमान नेपाली फुटबलको सर्वाधिक लोकप्रिय नाम हो– विमल घर्तीमगर । खेल जीवनबाटै लोभलाग्दो उचाइ तय गरेका मगर आकर्षक जीउडालका लागि पनि चर्चित छन् । ५ फिट ९ इन्च अग्ला विमललाई अहिलेका युवायुवतीले निकै रुचाएको पाइन्छ । अग्लो कद, आकर्षक अनुहार एवं शालिन स्वभावले उनलाई ‘हिरो’ बनाएको छ ।

३. दयाहाङ राई

विशिष्ठ अभिनय क्षमताका कारण नेपाली चलचित्रमा लोभलाग्दो चिनारी बनाएका छन्– दयाहाङ राईले । रंगमञ्चबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका राईको पोल्टामा अहिले सबैभन्दा बढी नेपाली चलचित्र छन् । उनले चलचित्र लुटमा निर्वाह गरेको ‘गोफ्ले’को भूमिका होस् वा कबड्डीमा ‘काजी’को भूमिका होस्, दर्शकमाझ अमिट छाप छाड्न सफल छन् । खाइलाग्दो ज्यानका धनी दयाहाङ मिजासिलो बोली–व्यवहारका लागि समेत चिनिन्छन् ।

४. पारस खड्का

नेपाली राष्ट्रिय टिमका कप्तान हुन्– पारस खड्का । यद्यपि उनी क्रिकेट मैदानमात्र स्थापित छैनन् । अग्लो कदका पारस लोभलाग्दो व्यक्तित्वका कारण युवापुस्तामा लोकप्रिय छन् । स्पष्ट वत्ता खड्कालाई युएईबाट प्रकाशित हुने एक पत्रिकाले ‘इमर्जिङ सुपरस्टार’का रूपमा व्याख्या गरेको छ । खड्का दायाँ हाते ब्याट्सम्यान तथा दायाँ हाते मध्यम बलर हुन् ।

५. सौगात मल्ल

नेपाली चलचित्रवृत्तमा भर्सटायल अभिनेता मानिन्छन्– सौगात मल्ल । ब्लक बस्टर चलचित्र ‘लुट’मा हाकु कालेका रूपमा गरेको उनको जीवन्त अभिनयले युवापुस्तामा पर्याप्त चर्चा कमायो । त्यसपछिका चलचित्रमा पनि फरक–फरक चरित्रमा देखिएका मल्ल यसपालि ‘कबड्डी–कबड्डी’बाट थप लोकप्रिय भए । उनको कला यात्रा रंगमञ्चबाट प्रारम्भ भएको हो ।

६. आर्यन सिग्देल

नेपाली फर्मुला चलचित्रका चर्चित नायकमध्ये एक हुन्– आर्यन सिग्देल । चकलेटी अभिनेता आर्यनले नोभेम्बर रेन, मेरो एउटा साथी छ जस्ता दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । पछिल्लो समय उनले चलचित्र निर्माणमा समेत हात हालेका छन्, चलचित्र क्लासिकबाट ।

७. प्रबल गुरुङ

नेपाली युवा प्रबल गुरुङले फेसन डिजाइनिङको क्षेत्रमा विश्वव्यापी चर्चा कमाएका छन् । अमेरिकामा बसोबास गर्ने प्रबल आफ्नो ‘स्टाइलिस्ट लुक्स’का कारण पनि प्रिय छन् । उनको डिजाइनिङ हलिउडदेखि बलिउडसम्मका सेलिब्रेटीहरूले प्रयोग गरिसकेका छन् । सिंगापुरमा जन्मिएका प्रबल काठमाडौंमा हुर्किएका एवं भारतमा पढेका हुन् ।

८. अनुपविक्रम शाही

नेपाली चलचित्रमा राम्रो सम्भावना बोकेका कलाकार हुन्– अनुपविक्रम शाही । म्यान हन्ट प्रतियोगिताबाट ग्ल्यामर क्षेत्रमा प्रवेश गरेका अनुपविक्रमले करियरको सुरुवाती क्षण मोडलिङमा बिताए । त्यसपछि उनी विभिन्न चलचित्रमा देखा परिरहेका छन् ।

९. आयुष्मान देशराज जोशी

आयुष्मान देशराज जोशी अहिलेका युवायुवतीमाझ निकै प्रिय छन् । वैंकर्स रविना देशराजका छोरा आयुष्मान म्यान हन्ट नेपालबाट ग्ल्यामर क्षेत्रमा प्रवेश गरेका हुन् । मोडलिङमा जमेका आयुषमान अहिले कान्तिपुर गोल्ड टेलिभिजन प्रस्तोताका रूपमा समेत सक्रिय छन् ।

१०. राजेश हमाल

नेपाली चलचित्रको एउटा युगको प्रतिनिधित्व गर्छन्– राजेश हमालले । एकताका राजेश हमालको उपस्थिति अनिवार्य मानिन्थ्यो, नेपाली चलचित्रमा । पछिल्लो समय भने उनको उपस्थिति पातलिँदै गएको छ । यद्यपि राजेशको उच्च व्यक्तित्वको चर्चा भने नेपाली समाजमा निरन्तर जारी छ ।


जो उल्लेख्य रहे
विगतका थुप्रै संस्करणमा उत्कृष्ट १० भित्र आफ्नो स्थान सुरक्षित गरेका युवा नेता गगन थापा यो वर्ष थोरै मतान्तरले टपटेनबाट बाहिरन पुगे । यस्तै नायक कर्मा शाक्य, हरिवंश आचार्य टप टेनको सूचीमा पर्ने सम्भावना हँुदाहँुदै अटाउन सकेनन् । गत वर्ष गगन तेस्रो स्थानमा थिए । हरिवंश आचार्य धेरैवटा संस्करणमा उत्कृष्ट १० भित्र थिए । चर्चित टेलिभिजनकर्मी भूषण दाहाल तथा सुरजसिंह ठकुरी पनि त्यसपछिको लिस्टमा थिए । सुरज गत वर्ष छैटांै स्थानमा थिए । यो वर्ष उल्लेख्य मत र चर्चा पाउनेहरूको सूचीमा मोडल, कोरियोग्राफर प्रशान्त ताम्राकार, बैंकर्स अनिल शाह, गायक सविन राई, संगीतकार न्ह्यु बज्राचार्य, आरजे मोडल रेमनदास श्रेष्ठ, पाइलट एवं अभिनेता विजय लामा छन् ।

यस्तै गायक नवीन के भट्टराई, अभिनेता भुवन केसी, अभिनेता जीवन लुइँटेल, अभिनेता निर्देशक अनुप बराल, व्यवसायी दिकेश मलहोत्रा, अभिनेता दीपकराज गिरी, निर्देशक निश्चल बस्नेतलाई तुलनात्मक रूपमा धेरैले आकर्षकको सूचीमा राखेका थिए । गायक निमा रुम्बा, भिजे सुरज गिरी, व्यवसायी सौरभ ज्योति, गायक अमृत गुरुङ, व्यवसायीहरू निर्वाण चौधरी, शेखर गोल्छा, सुह्द ज्योतिलाई पनि सहभागीहरूले प्रसस्त मत दिएका थिए । राजेशपायल राई, विल्सनविक्रम राई, सुगम पोखरेल, रमेश खरेल, पशुपति शर्मा, रविन शर्मा, नरेन लिम्बू, सिद्धार्थ गुरुङले आकर्षक पुरुषका रूपमा मत पाएर पनि उत्कृष्ट १० भित्र स्थान बनाउन सकेनन् ।

उत्कृष्ट १० पुरुष छनौट गर्नेहरू
१. इभाना मानन्धर, मिस नेपाल– २०१५, २. नगमा श्रेष्ठ, मोडल, ३. स्वस्तिका राजभण्डारी, मेकअप आर्टिस्ट/ब्युटिसियन, ४. नीति शाह, मोडल, ५. काजल थापा, फेसन डिजाइनर, ६. दुर्गा खरेल, गायिका, ७. रक्षा श्रेष्ठ, अभिनेत्री, ८. श्रेया सोताङ, गायिका, ९.सुरबिना कार्की, नायिका, १०. नानी थापा, कोरियोग्राफर, ११. समा बानु, फेसन डिजाइनर, १२. याङ्जोम शेर्पा, कार्यक्रम संचालक, १३. सम्झना रौनियार, निर्देशक, १४. जान्वी बोहोरा, नायिका, १५. डिजे जेनी, डिजे, १६. देविका केसी, लोकदोहोरी गायिका, १७. अरुणा कार्की, रंगकर्मी, १८. सन्ध्या केसी, भिजे, १९. मेनुका प्रधान, नायिका ।

ekantipur

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget