कोरियालीसँग बिहे गर्ने नेपाली युवती ९० प्रतिशत घरेलु हिंसामा

कोरियाली नागरिकसँंग विवाह गरेर आएका नेपाली महिला कति छन् अहिलेसम्म वास्तविक तथ्यांक छैन । तर पनि १२ सयभन्दा बढी यस्ता महिला रहेको अनुमान छ । त्यसैलाई आधार मानेर कोरियाली पुरुषसँंग विवाह गरेर आउने ९० प्रतिशत नेपाली चेली घरेलु हिंसाबाट पीडित हुने गरेको समाचार नेपाली मिडियामा बारम्बार आइरहन्छन् । जसले गर्दा नेपाल र नेपालीको नजरमा कोरियाली नागरिकसँंग विवाह गर्ने महिलालाई राम्रो दृष्टिकोणले हेरिँदैन । विवाह एउटा पवित्र सम्बन्ध हो ।
तर, अहिले विदेश छिर्ने सबैभन्दा सजिलो माध्यम नै अन्तर्राष्ट्रिय विवाह हुँदै गएको छ । कतिपय नेपाली युवती कोरिया छिर्नकै लागि मात्र विवाह गर्छन् । आधुनिक जीवनशैली, गगनचुम्बी महल र पैसाको मोहमा परेर नेपाली युवती म्यारिज ब्युरोलाई मोटो रकम तिरेर ‘विवाह भिसा’ मा कोरिया आउँछन् । कोरिया आएर पैसा कमाउने र मोजमस्तीको जिन्दगी जिउने सपना बोकेका युवती कोरिया आएपछि भाग्न खोज्ने र आफ्नै देशका पुरुषसँंग सम्बन्ध बढाउने प्रयासमा लाग्छन् । यो कुरा पतिले थाहा पाएपछि पत्नीलाई जतिसक्दो आफ्नो बशमा राख्न खोज्छन् । अनि सुरु हुन्छ पारिवारिक द्वन्द्व, मनमुटाव र मानसिक यातना ।

दक्षिण कोरियाको देजनमा बस्दै आएकी दिब्या थुलुङ कोरियालीसँंग विवाह गरेर आएका अधिकांश युवतीले आफ्नै कारणबाट दुःख पाउने गरेको बताउँंछिन् । उनी भन्छिन्, ‘कतिपय युवती कोरिया छिर्ने दाउमा कोरियाली पुरुषसँंग विवाह गर्छन् । कोरिया आएपछि भागेर पैसा कमाउँला भन्ने सपना बोकेका हुन्छन् । सोचे जस्तो हुन्न अनि दुःख पाउँंछन् ।’ १३ वर्षअघि ओखलढुंगाबाट कोरियाली नागरिकसँंग विवाह गरेर आएकी दिब्या घरजम गर्ने सोचाइले आउने युवतीको दाम्पत्य जीवन राम्रै रहेको बताउँंछिन् । उनी भन्छिन्, ‘विवाह गरिसकेपछि हरेक महिलाले आफू कसैकी श्रीमती, बुहारी अनि आमा हुँं भन्ने कर्तव्यलाई भुल्नु हुन्न । आउनासाथ पैसा कमाउँला भन्ने सोचाइ राख्नु हुन्न ।’ हरेक पुरुषलाई राम्री र असल युवतीसँग आफ्नो घरजम होस् भन्ने चाहना हुन्छ । त्यसैले अधिकांश कोरियाली पुरुष घरजम बसाउने सोचाइले म्यारिज ब्युरोलाई भारी रकम बुझाएर विदेशी युवती बिहे गर्छन् । मासानमा बस्दै आएकी शकुन्तला राई पनि घरजम गर्ने उद्देश्यले विवाह गरेर कोरिया आएका नेपाली युवतीको दाम्पत्य जीवन सुखमय रहेको बताउँछिन् । तर, पतिको सपनामाथि कुठाराघात गर्ने युवतीहरु पनि प्रशस्तै रहेको उनको बुझाई छ । ६ वर्षअघि कोरियालीसँंग विवाह गरेर आएकी सोलुखुम्बुकी शकुन्तला भन्छिन्, ‘सबै कुरा बुझेर आउनेले दुःख पाएका छैनन् तर दलालको फन्दामा परेर आउनेले बढी दुःख पाएका छन् ।’ कोरिया आएका युवतीले दुःख पाउने अर्को कारण हो, उमेरको अन्तर र भाषिक समस्या । २० वर्षकी नेपाली युवतीले ४० वर्षका कोरियाली पुरुषसँग विवाह गर्दा पनि सोचाईमा भिन्नता हुने भएकाले दुःख पाउने गरेको उनले बताइन् । उनी भन्छिन्, ‘किनकी २० वर्षको उमेर र ४० वर्षको उमेरका व्यक्तिमा एउटै सोचाइ हुँंदैन । जसले गर्दा विचारमा नै द्वन्द्व हुन्छ । त्यस्तै एउटाको भाषा अर्कोले बुझ्न नसक्दा पनि समस्या हुन्छ ।’ विवाह गरेर कोरियाली पति र छोराछोरीका साथ सुखी जीवन बिताउँदै आएका नेपाली महिला पनि प्रसस्तै छन् । तर सञ्चारमाध्यममा आउने गरेका एकतर्फी समाचारका कारण कोरियाली नै खराब हुन् भन्ने भ्रम सबैमा परेको छ । यसले गर्दा सफल दाम्पत्त जीवन बिताउँदै आएका नेपाली युवतीलाई समेत असर परेको पत्रकार मन्जु गुरुङ बताउँछिन् । उनी भन्छिन्, ‘दुईचारजनाले दुःख पाए भन्दैमा सबैले दुःख पाए भन्नु सरासर गलत हो ।’

सगरमाथा टेलिभिजनमा काम गर्दागर्दै तीन वर्षअघि कोरियाली नागरिकसँग विवाह गरेर आएकी पत्रकार गुरुङ कोरियामा पनि पत्रकारितालाई निरन्तरता दिइरहेकी छिन् । उनका अनुसार कोरियाली पुरुषहरु म्यारिज ब्युरोलाई रकम तिरेर विवाह गर्छन् भने कोरियाप्रति मोहित युवतीहरु पनि पैसा तिरेरै म्यारिज ब्युरोमा धाउँछन् । केटा जस्तोसुकै भए पनि कोरिया छिर्ने लोभमा परेर विवाह जस्तो पवित्र सम्बन्धलाई किनबेच गर्दा समस्या आउने उनको बुझाई छ । सुरुमा आउँदा न भाषाको ज्ञान हुन्छ न त कोरियाको जीवनशैली नै थाहा हुन्छ । अनि सुरु हुन्छन् दुःखका दिन । तीन वर्षअघि विवाह गरेर आएकी पत्रकार मञ्जु गुरुङ कोरियाली पतिका साथ । कोरियालीसँंग विवाह गरेर आएका कतिपय महिला यहाँका सरकारी एवं गैरसरकारी संघसंस्थामा समेत काम गरिहेका छन् । केही वर्षयता कोरियामा विवाह गरेर आउने तथा ईपीएस प्रणालीबाट काम गर्न आउने नेपालीको संख्या बढिरहेको छ । यहाँ नेपाली महिलाले भाषा अनुवादक तथा परामर्शदाताका रुपमा पनि काम गर्दै आएका छन् । सरकारद्वारा सञ्चालित बहुसांस्कृतिक परिवार सहायता केन्द्र  (एमएफएससी) ले हरेक देशबाट विवाह गरेर आएका महिलालाई कोरियाली भाषा सिकाउने, विभिन्न सीपमूलक तालिम दिने, कोरियाको संस्कृति, खानपान र रहनसहनबारे जानकारी दिने गर्छ । यस संस्थाले घरेलु हिंसालगायत विभिन्न समस्यामा परेका महिलालाई सहयोग तथा परामर्श दिने काम पनि गर्दै आएको छ । यी केन्द्रमा थुप्रै नेपाली महिलाले रोजगारी पनि पाएका छन् । कोरियाको पर्यटकीय स्थल जेजु टापुमा रहेको बहुसांस्कृतिक परिवार सहायता केन्द्रमा विगत चार वर्षदेखि कार्यरत ताप्लेजुङकी सुभद्रा पालुङवा भन्छिन्, ‘घरपरिवारमा सानोतिनो झगडा त भइहाल्छ नि । पैसा मात्र सबै कुरा होइन विवाह गरेपछि घरपरिवारलाई पहिलो प्राथमिकता दिनुपर्छ । सोचाइ राम्रो भए सबै राम्रो हुन्छ ।’ भाषा अनुवादक तथा परामर्शदाताका रुपमा कार्यरत उनी विवाह गरेर आएका नेपाली महिलाका समस्यालाई स्थानीय निकायसम्म र्पुयाइदिने गर्छिन् । उनी पाँच वर्षअघि कोरियाली नागरिकसँंग विवाह गरेर आएकी हुन् ।

बहुसांस्कृतिक परिवार सहायता केन्द्र गच्छाङमा ६ वर्षदेखि कार्यरत ईश्वरी पोखरेल नेपालीहरुका लागि भाषा अनुवाद गरिदिनुका साथै कोरियाको संस्कृतिबारे बुझाइदिने काम गर्छिन् । १२ वर्षअघि विवाह गरेर पोखराबाट कोरिया आएकी पोखरेल छोराछोरी र पतिका साथ सुखमय दाम्पत्य जीवन बिताइरहेकी छिन् । कोरियालीसँंग विवाह गरेर आएका विदेशी महिलाका लागि भाषाका साथै घरेलु हिंसाबाट पीडित भएमा सिधै फोन गरेर अवगत गराउन पाउने कल सेन्टर पनि स्थापना गरिएको छ । बहुसांस्कृतिक परिवार सहायता केन्द्रकै एक पाटोका रुपमा रहेको संस्था दानुरी कल सेन्टरमा कार्यरत उर्मिला लामा भन्छिन्, ‘दुस्ख पाउने पनि छन्, सुख पाउने पनि छन् । बिहे गरेर ल्याउने परिवार कस्तो छ, पतिको बानी बेहोरा कस्तो छ, त्यसमा पनि भर पर्छ । सबैलाई खराब भन्न मिल्दैन र सबै असल मात्र पनि छैनन् ।’दक्षिण कोरियाको राजधानी सोलमा रहेको उक्त संस्थामार्फत् उनले समस्यामा परेका नेपाली दिदीबहिनीका लागि भाषा अनुवाद गरिदिने र टाढा भएकालाई फोनबाट उचित परामर्श दिने काम गर्दै आएकी छन् । धेरै दुःख पाएर बस्ने ठाउँं नहुनेलाई सेल्टरमा राख्ने काम पनि संस्थाले गर्दै आएको उर्मिलाले बताइन् । उनी विवाह गरेर आएका विदेशी महिलाले दुःख पाउने नपाउने आफूमा नै भर पर्ने बताउँंछिन् । ६ वर्षअघि काभ्रेबाट विवाह गरेर कोरिया आएकी उर्मिला घरपरिवारलाई कसरी सम्हाल्ने अनि कसरी भविष्य राम्रो बनाउन सकिन्छ भन्ने सोचाइ राखेर काम गरे दुःख नपाइने बताउँंछिन् । भाषा र रहनसहन नमिले पनि घरपरिवार समाल्दै र छोराछोरी हुर्काउँदै विदेशी भूमिमा जागिर खानु कम चुनौती होइन । तर सत्यतथ्य नबुझी सुनेकै भरमा नेपाली सञ्चारमाध्यममा गलत समाचार आउँदा अन्य विवाहित महिला पनि लज्जास्पद हुनुपर्ने अवस्था रहेको छाङवनस्थित विदेशी कामदार सहयोग तथा परामर्श केन्द्रमा कार्यरत स्नेहा लामा बताउँंछिन् । विगत दुई वर्षदेखि भाषा अनुवादक तथा परामर्शदाताको रुपमा कार्यरत उनी राम्ररी बुझेर र भाषाको ज्ञान लिएरमात्र कोरियाली नागरिकसँग विवाह गर्न सल्लाह दिन्छिन् । उनी पनि ६ वर्षअघि काभ्रेबाट विवाह गरेर कोरिया आएकी हुन् ।

बाला राई,दक्षिण कोरियाबाट
स्रोत-बिजनेससंसार
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget