विमल योगी
काठमाडौं, ८ पुस । प्रमुख पक्षी दल नेपाली कांग्रेसले मुलुकमा बढ्दै गएको कालोबजारी र इन्धनको असहजतालाई लिएर संसदमा जोडदार आवाज उठाएको छ ।
कांग्रेसले मुलुकमा भइरहेको कालोबजारी र भ्रष्टाचार तत्काल अन्त्य गरी दोषीहरूलाई कारबाहीको माग गरेको हो ।
संसदको आज (बुधबार)को बैठकमा सभामुखसँग समय लिएर बोल्दै कांग्रेसका सांसद रामहरि खतिवडाले नाकाबन्दीको नाममा सरकारमा बसेका दल र मन्त्रीहरूले पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यासमा कालोबजारी गरेको आरोप लगाउनुभयो ।
‘नाकाबन्दीका नाममा तेल र ग्यासमा कालोबजारी बढेको छ’, उहाँले भन्नुभयो, ‘सरकारले कालोबजारीलाई संरक्षण गरेको छ । भ्रष्टाचार र कालोबजारी गर्नेहरूलाई संरक्षण होइन कारबाही गर्नुपर्छ ।’
कांग्रेस सांसद खतिवडाले तत्काल कालोबजारी गर्नेलाई कारबाही गर्न माग गर्नुभयो ।
‘मन्त्रालयबाट आफ्ना मान्छेका पेट्रोलपम्महरूलाई तेल दिन्छन् । एउटा पेट्रोल पम्मबाट दैनिक १५ हजार कमिशन लिने गरिएको प्रमाण भेटिएको छ’, सांसद खतिवडाले भन्नुभयो, ‘ती पेट्रोल पम्पहरूबाट मासिक ४५ लाख रकम लिने गरेको तथ्य हामीसँग छ । अहिलेसम्म ५ करोड ४५ लाख कमिशनको पैसा लिएको पाएका छौँ ।’
उहाँले इन्धनमा भएको कालोबजारी नियन्त्रण गरी जनतालाई सहजताका साथ तेल र ग्यास उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो ।
सशस्त्र प्रहरीका निलम्बित महानिरीक्षक कोषराज वन्तले अख्तियारमा कसरी एकै दिनमा दस करोड धरौटी राखेर रिहाइ भए भन्दै त्यस विषयमा छानविन गर्न सांसद खतिवडाले माग गर्नुभयो ।
‘भ्रष्टचारको आरोपमा अख्तियारमा बयान दिँदै गरेका सशस्त्र प्रहरीका निलम्बित महानिरीक्षकले कहाँबाट दस करोड रुपियाँ ल्याएर धरौटी बुझाए त्यसको खोजविन र छानविन हुनुपर्छ’, उहाँले भन्नुभयो ।
dainiknepal
Post a Comment