भारतले भन्यो, 'राजनीतिक समाधान खोज, अवरोध तत्काल हट्छ'

फोटो :उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा र भारतीय समकक्षी विदेशमन्त्री सुष्मा स्वराजबीच नयाँ दिल्लीमा बुधबार भएको भेटवार्ता।


काठमाडौं : भारतले मधेस आन्दोलनलाई सम्बोधन गरेर राजनीतिक समाधान भएमा अघोषित नाकाबन्दी र आपूर्तिमा भइरहेको अवरोध तत्काल हट्ने आश्‍वासन दिएको छ।

भारत भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँगको भेटवार्तामा भारतीय समकक्षी विदेशमन्त्री सुष्मा स्वराजले यस्तो आश्‍वासन दिएकी हुन्। मधेसी मोर्चासँग सरकारले निर्णायक वार्ताका लागि तयारी गरिरहेका बेला थापाको यो भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ।

भेटमा स्वराजले भारतबाट आपूर्तिमा कुनै पनि अवरोध नहुनेमा आश्‍वस्त पार्दै तर त्यसका लागि नेपालले जतिसक्दो चाँडो नाकाको अवस्था (आन्दोलन)लाई सामान्य बनाउनुपर्ने बताएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले ट्वीटरमार्फत जानकारी दिएका छन्।



प्रवक्ता स्वरुपका अनुसार भेटमा भारतीय विदेशमन्त्री स्वराजले नेपालमा भइरहेको राजनीतिक समस्यामा तत्काल समाधान आवश्यक रहेकोमा जोड दिएकी छन्।प्रवक्ता स्वरुपले थापा र सुष्माबीच भएको भेटवार्ताबारे तीनवटा तस्बिरसहित ट्वीटरमार्फत जानकारी दिएका छन्।

नयाँ दिल्लिस्थित नेहरु भवनमा भएको भेटवार्तामा आपूर्तिको असहज अवस्था, मधेस आन्दोलन, मधेसी मोर्चसँग भइरहेको वार्ता र संविधान संशोधनलगायतका विषयमा छलफल भएको थापाको सचिवालयले जनाएको छ।

थापाले मधेस समस्यालाई राजनीतिक तहबाट सम्बोधन गर्न सकारात्मक पहल भइरहेको जानकारी दिदै आपूर्तिमा भइरहेको अवरोध हटाउनका लागि सहयोग गर्न आग्रह गरेका थिए। उपप्रधान तथा परराष्ट्रमन्त्री थापाले भारतीय समकक्षीसँगको भेटवार्ता फलदायी र हार्दिक भएको ट्वीटरमार्फत बताएका छन्।

सुष्मासँगको भेटपछि थापाले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा अन्य  उच्च अधिकारीहरुसँग पनि भेटेर नेपालको पछिल्लो अवस्थाबारे छलफल गर्दैछन्। नाकाबन्दीसँगै नेपाल भारतबीच उत्पन्न असमझदारी हटाउनका लागि पहल गर्न थापा भारतको अनौपचारिक भ्रमणमा गएका हुन्। थापा र सुष्माबीचको यो राजनीतिक भेटले पनि बेलुका बालुवाटारमा हुने मधेसी मोर्चासँगको वार्ताका लागि सकारात्मक सन्देश दिएको विश्‍वास गरिएको छ।
annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget