घूस नदिएपछि भारतीय सुरक्षाकर्मीद्वारा कुटपिट

सीमावर्ती भारतको सुनौलीका सुरक्षाकर्मीले बिना कारण निर्घात कुटपिट गरेपछि घाइते नेपाली ट्रक चालकहरू। सीमावर्ती भारतको सुनौलीका सुरक्षाकर्मीले बिना कारण निर्घात कुटपिट गरेपछि घाइते नेपाली ट्रक चा माधव/कान्तिपुर

नेपाल आउने गाडीसँग चर्को पैसा असुल्दै भारतीय सुरक्षाकर्मी र भन्सार कर्मचारी
मंसिर १६, २०७२- नाकाबन्दीपछि सुनौली नाका हुँदै नेपाल आउने गाडीसँग भारतीय सुरक्षाकर्मी र भन्सार कर्मचारीले चर्को रूपमा पैसा असुल्न थालेका छन्। पैसा खुवाएका गाडीलाई भारतीय सुरक्षाकर्मीले एस्कर्टिङ गरी पास गराइदिने गरेको पीडित चालकहरूले बताएका छन्। घूस दिएका गाडी पास भएर पालो मिचेको विषयमा प्रश्न गर्दा ११ नेपाली ट्रक चालकलाई भारतीय सुरक्षाकर्मीले निर्घात कुटपिटसमेत गरेका छन्। घूस नखुवाएका गाडी हप्तौंदेखि सडक किनारामै थन्कन बाध्य छन्।

लाइनमा रहने क्रममा भारतीय प्रहरीले आफूसँग पैसा मागेको चालकहरूले बताएका छन्। ‘हामीसँग उनीहरूले यदि गाडी अगाडि बढाउनु छ भने प्रतिगाडी १० हजार भारतीय रुपैयाँका दरले पैसा मागेका थिए,’ ना४ख २४५१ का चालक काजी अधिकारीले भने, ‘पैसा खुवाएका गाडी उही दिन पास हुन्छन्, नखुवाएका गाडीका मजदुर कुटाइखान बाध्य भयौं।’ भारतीय सुरक्षाकर्मीको कुटाइले उनको हात नचल्ने अवस्थामा पुगेको छ।

अगाडिको गाडी पास भएपछि खाली स्थानमा ल्याउन ४० हजार रुपैयाँसम्म नेपाली आयातकर्ताले घूस खुवाउने गरेकाले अहिले बिनापैसा कुनै पनि गाडी पास नहुने गरेको नेपालमा भन्सार क्लियरिङ एजेन्टहरू बताउँछन्। उनीहरूका अनुसार गाडी पास गराउन भारतीय विभिन्न निकायलाई कोटा निर्धारण हुने गरेको छ। धेरै दिनसम्म गाडीसहितको सामान रोकिएपछि नेपाली आयातकर्ताले पैसा खुवाउँदै गाडी छुटाउन थालेका छन्। सुनौली नाकाबाट नेपाल आउनुपर्ने गाडी महिनौंदेखि सिमानादेखि करिब ३५ किमि पर कोल्हुईसम्म दोहोरो लाइन छ।

सुरक्षाकर्मीको कुटाइबाट चालक अधिकारीसहित ना५ख ५८०७ का चालक सुरेश लामा, ना५ख २३७६ का सन्तोष गुरुङ, ना४ख ९५९६ का पदमबहादुर श्रेष्ठ, ना३ख ४६८८ का गुणराज लामा, ना४ख २६७८ का गणेश लामा, ना४ख ७६३३ का किरण गोले, ना३ख ८६६ का संयोग थापा, ननी उप्रेतीलगायत ११ जना ट्रक चालक घाइते भएका छन्। कुटपिटबाट ४ चालकको हातमा गम्भीर चोट लागेको छ। केही आफ्नो गाडीसमेत चलाउनसमेत नसक्ने अवस्थामा छन् भने अन्य सामान्य घाइते छन्।

‘२ सातादेखि लाइनमा क्रमैसँग रहेका
हाम्रा गाडीलाई उछिनेर केही गाडीले पालो मिचेपछि हामीले किन यस्तो भयो भन्दै सोध्नसाथ त्यहाँ तैनाथ पुलिसले हामीमाथि लाठी बर्साउन थाले,’ चालक संयोग थापाले कान्तिपुरसँग भने, ‘उनीहरूले हामीलाई कुटपिटमात्रै होइन, अपशब्दसमेत प्रयोग गर्दै गालीगलौजसमेत गरे।’

चालक सुरेश लामाले आफूसँग भएको २ हजार ५ सय भारु पनि भारतीय प्रहरीले लिएको गुनासो गरे। पीडितका अनुसार कुटाइ खाएपछि उनको गाडी सिमाना नजिकै पुर्‍याइदिने भनी भारतीय प्रहरीले २ हजार र गाडीको ब्लुबुक मागे। तर, बिहानसम्म पनि गाडी जहाँको त्यहीँ रह्यो। किन गाडी नलगेको भन्दै प्रश्न गर्दा उनले उल्टै गाली खानुपर्‍यो। ब्लुबुकसमेत नदिएपछि फेरि ५ सय भारु दिएर फिर्ता लिनुपरेको उनले बताए।

उनीहरू सामान लोड गरेको भारतीय ट्रान्सपोर्ट कम्पनीको गोदामदेखि नेपाल आउन २ सातादेखि लाइनमा थिए। आफूहरूमाथि बिनाकारण भारतीय सुरक्षाकर्मीले कुटपिट गरी घाइते बनाएको भन्दै ७ जनाले मंगलबार बिहान नेपालको सीमावर्ती बेलहिया इलाका प्रहरी कार्यालयमा आएर कारबाहीका लागि लिखित निवेदन दिएका छन्।

 बेलहिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभय विक्रम शाहीले पीडित चालक गुनासो लिएर आएपछि तत्कालै सीमावर्ती सुनौली थानाका इन्चार्जसमक्ष लगेर कुरा गर्दा उनले चालकबीचको आपसी झगडा भएको जवाफ दिएको बताए। नेपाल प्रहरीले भारतीय प्रहरीसँग छलफल गरेपछि घाइतेलाई उपचार खर्च दिन सहमत भएको प्रहरी उपरीक्षक बुद्धिबहादुर गुरुङले बताए।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget